भोटेकोशी बाढी : उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न राष्ट्रपतिको आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहसँग टेलिफोनमार्फत कुराकानी गर्दै भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन्। उनले विपद्मा परेका नागरिकको उद्धार र राहत कार्यलाई तीव्रता दिन राज्यका सबै अंग परिचालन गर्न आग्रह गरेका राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
कुराकानीका क्रममा प्रधानमन्त्री शाहले रसुवामा बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारका सबै संयन्त्र परिचालन गरिएको बताएका छन्। उनले नागरिकको सहयोग, उद्धार र राहतका लागि आवश्यक सबै सहयोग जुटाउन कुनै कमी नगर्ने जानकारी गराएका छन्।
यसअघि राष्ट्रपति पौडेलले रसुवा हुँदै बग्ने भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीबाट भएको जनधनको क्षतिको खबरले आफू अत्यन्त दुःखी भएको बताएका थिए।
उनले विपद्को यस घडीमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकायसहित सम्पूर्ण सम्बन्धित निकाय र आम नागरिकलाई आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन तथा आवश्यक समन्वय र सहयोगमा जुट्नसमेत आग्रह गरेका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्