बिर्तामोड । झापामा जापानिज इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) को संक्रमणबाट छ जनाको मृत्यु भएपछि स्वास्थ्य कार्यालय झापाले जिल्लामा करिब पाँच लाख जनालाई खोप लगाउने तयारी गरेको छ ।
स्वास्थ्य कार्यालय झापाले आज जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको सरोकारवाला तथा सञ्चारकर्मीसँगको छलफलमा जिल्लामा गत असार र साउनमा उक्त रोगबाट छ जनाको मृत्यु भएको जानकारी दिएको हो ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासका अनुसार जिल्लाका पाँच स्थानीय तहका १२ जनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण देखिएकामा छ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ की ५७ वर्षीया महिला, बाह्रदशी गाउँपालिका–३ का ६९ वर्षीय पुरुष, मेचीनगर नगरपालिका–१४ की ५४ वर्षीया महिला, मेचीनगर–८ की ६६ वर्षीया महिला, बिर्तामोड नगरपालिका–२ का ७३ वर्षीय पुरुष र अर्जुनधारा नगरपालिका–१० की ७३ वर्षीया महिला रहेका छन् ।
संक्रमितमध्ये मेचीनगर नगरपालिका–७ र ८, बिर्तामोड नगरपालिका–१० तथा कचनकवल गाउँपालिका–५ का चार जना उपचारपछि निको भएर घर फर्किएका छन्। मेचीनगर नगरपालिका–६ र ११ का दुई जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रमुख दासले जिल्लामा ३० वर्षमाथिका करिब पाँच लाख जनालाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप लगाउने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार भदौको अन्तिम साता वा असोजको पहिलो सातादेखि खोप अभियान सञ्चालन गर्ने गरी खोप भण्डारणको तयारी भइरहेको छ ।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । धानखेत तथा फोहोर र हिलोयुक्त स्थानमा पाइने लामखुट्टेले सङ्क्रमित पशुपक्षीबाट मानिसमा रोग सार्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
छलफलमा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख एवं खोप समन्वय समितिकी सहसंयोजक शान्ता रोक्का क्षेत्री, हल्दिबारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलालगायतले रोगको जोखिम, संक्रमणबाट बच्ने उपाय तथा नियन्त्रणका विषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका कर्मचारी राजकुमार पोखरेलले सहजीकरण गरेका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्