काठमाडौँ । तिब्बती क्षेत्रमा रहेको हिमताल फेरी फुटेको खबर आएपछि नेपाल प्रहरीले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रहरीले सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट ताल फुटेको आधिकारिक जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। उनले भने, ‘थुनिएको ताल फुटेको भन्ने सूचना आएको छ। त्यसैले नदी किनार आसपासका बासिन्दालाई सुरक्षित रहन र सतर्कता अपनाउन सर्कुलर जारी गरिएको छ।’
प्राप्त विवरणअनुसार चीनतर्फ पर्ने छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो हिमताल फुटेको हो। यी दुवै नदी त्रिशूली नदी प्रणालीअन्तर्गतका माथिल्ला सहायक नदी हुन्, जसका कारण तलतिरका क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम देखिएको छ।
सुरक्षा निकायहरूले विशेष गरी रसुवा, नुवाकोट लगायत त्रिशूली नदी आसपासका जिल्लामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। स्थानीय तहहरूसँग समन्वय गरी सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउने तथा आवश्यक परे तत्काल उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्