गाईजात्रामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको दीप प्रज्वलन, दिवंगतहरुको सम्झना
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले गाईजात्रा पर्वका अवसरमा आफ्ना दिवंगत सदस्य एवम भोटेकोशी बाढीमा परेर निधन भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।
शनिबार ब्लु डाइमण्ड सोसाइटी(नील हिरा समाज)को आयोजनामा काठमाडौंको खुल्लामन्चमा आयोजित कार्यक्रममा देशमा आइपरेको विनाशकारी विपत्तिका कारण ज्यान गुमाएका र वर्षभरी विभिन्न कारणले अकालमा मृत्यु भएका समूदायका व्यक्तिहरुको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।
बर्षेनी मनाईदै आएको गाईजात्रा प्राइड परेड कार्यक्रम स्थगित गरी यस पटक दीप प्रज्वलन मात्र गरिएको आयोजक संस्थाकी पिटर राईले जानकारी दिईन । ‘हामीले १४ औं गाईजात्रा एवम प्राइड परेड स्थगित गरेर दिंवगतहरुको सम्झनामा बत्ती मात्र बालेका हौं । दुःखको खडीमा आत्माशान्तिको कामना गरेका हौं,’ उनले भनिन् ।
सोही कार्यक्रममा समूदायबाट प्रतिनिधित्व गरेकी सांसद भूमिका श्रेष्ठले देश विपत्तिमा डुबेको र देशभर समूदायका धेरै साथीहरुले अकालमा ज्यान गुमाएकाले उहाँहरुको स्मृतिमा मैनबत्ती बालेर स्मरण गर्नु आफूहरुको दायित्व भएको बताइन् । समूदायका समस्या र मुद्दाहरुको समाधान गर्न अझै बाँकी रहेको उल्लेख गर्दै यस अवसरमा सबैमा आत्मबल बढोस भन्ने उनले कामना गरिन् ।
ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष उमिशा(उमेश) पाण्डेले आफूहरुले गाईजात्रा प्राइड परेड भब्य रुपमा मनाउने गरेको भएपनि यसपटक देश रोइरहेको परिस्थितिलाई मध्यनजर गर्दै दीप प्रज्वलन गरेर दिवंगतहरुको स्मरण गरेको बताइन ।
‘वितेको एक वर्षमा हामीसँग सम्पर्कमा रहनुभएका १२ जना समूदायका साथीहरु गुमायौं । विनाशकारी बाढीले झनै ठूलो क्षति व्यहोर्यो । यस्तो अवस्थामा सामान्य रुपमा दिवंगतहरुको स्मृतिमा दीप प्रज्वलन गरेका हौं,’ उनले भनिन् ।
सो अवसरमा सोसाइटीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैंयाँ सहयोग गर्ने घोषणा गरिएको संस्थाकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन ।
उनले देशमा आइपरेको महाविपत्तिका कारण उत्साहका साथ गाईजात्रा प्राइड परेड मनाउन नसकिएकाले दीप प्रज्वलन र राज्यकोषमा एक लाख रुपैंयाँ सहयोग गरेर दिंवगतहरुको स्मरण गरिएको बताइन् ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्