बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार र तत्काल राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
शनिबार नुवाकोटको देवीघाट क्षेत्रको निरीक्षणपछि अर्थमन्त्री वाग्लेले मुलुक ठूलो विपद्मा परेको भन्दै अहिलेको मुख्य प्राथमिकता नागरिकको ज्यान जोगाउने, उद्धार गर्ने र तत्काल राहत पु¥याउने रहेको बताए ।
उनले नेपाली सेनाको नेतृत्वमा उद्धार तथा राहतका काम अघि बढिरहेको जानकारी दिए । विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिकको उद्धारलाई तत्कालको प्रमुख प्राथमिकताका रूपमा लिइएको उनले बताए ।
‘अब यो ठूलो विपद् हो। अहिले सकेसम्म ज्यान जोगाउने चरणमा छौँ । उद्धार र तात्कालिक राहतको चरणमा छौँ । अहिले नेपाली सेनाको मातहतमा काम अघि बढिरहेको छ,’ उनले भने ।
मन्त्री वाग्लेले अपर त्रिशूली–३ ‘ए’ को सुरुङमा ३५ देखि ४१ जना श्रमिक फसेको सूचना प्राप्त भएको भन्दै उनीहरूको उद्धारका लागि विशेष प्रयास भइरहेको बताए । सुरुङको प्रवेशद्वार थुनिएकाले वैकल्पिक बाटोबाट प्रवेश गर्ने प्रयास भइरहेको उनले बताए ।
‘मुख्यतः अपर त्रिशूली–३ ‘ए’मा ठूलो प्रयास भएको छ । त्यो टालिएको छ र प्वाल कहाँबाट सुरु हुन्छ भन्ने पनि थाहा नभएको अवस्थामा फास्ट ट्र्याकमा प्रयोग भइरहेको विस्फोटक पदार्थ तथा बैरेनीबाट डेटोनेटर ल्याएर प्राविधिकको सहयोगमा प्वाल छेडेर भित्र जान सकिन्छ कि भन्ने प्रयास भइराखेको छ,’ उनले भने ।
अपर त्रिशूली–३ ‘बी’ लगायत अन्य जलविद्युत् आयोजनामा पनि श्रमिक फसेको हुनसक्ने सूचनाका आधारमा उद्धारका लागि टोली केन्द्रित गरिएको उनले बताए । आफन्त तथा साथीभाइबाट प्राप्त सूचनालाई समेत आधार बनाएर सम्भावित जोखिममा रहेका व्यक्तिको खोजी तथा उद्धार भइरहेको उनले बताए ।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउने कामलाई पनि तीव्रता दिइएको मन्त्री वाग्लेले बताए। धुन्चे बजार, त्रिशूली नदीपारिका क्षेत्रलगायत सडक तथा पुल अवरुद्ध भएका स्थानमा हेलिकप्टरमार्फत राहत पु¥याउने काम भइरहेको उनले जानकारी दिए ।
‘राहत पनि सँगसँगै पु¥याउनुपर्ने छ । एमआई–१७ लगायत ठूला हेलिकप्टरको सहयोगमा एकै खेपमा धुन्चे बजार, त्रिशूलीपारि लगायत सबैतिर राहत पु¥याउने काममा ध्यान दिइरहेका छौँ,’ उनले भने ।
उनका अनुसार अहिले उद्धार तथा राहतका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १४ वटा हेलिकप्टर परिचालनमा छन् । सेनाका पाँच र निजी क्षेत्रका नौ वटा हेलिकप्टर परिचालन गरिए पनि ती पर्याप्त नभएको उनले बताए ।
‘हामीसँग एमआई–१७ जम्मा दुई वटा मात्रै सञ्चालनमा रहेछन् । १४ वटा हेलिकप्टर अहिले सञ्चालनमा छन्, पाँच वटा सेनाका र नौ वटा निजी क्षेत्रका हेलिकप्टरको सहारा लिइएको छ। तर त्यो अझै पर्याप्त भएको छैन,’ उनले भने ।
ठूला हेलिकप्टरको आवश्यकता रहेकाले निजी क्षेत्रसँग रहेका एमआई–१७ लगायतका हेलिकप्टरलाई समेत प्रभावित क्षेत्रमा ल्याउने प्रयास भइरहेको उनले बताए । त्यसका लागि सम्बन्धित मन्त्री तथा निकायसँग समन्वय भइरहेको उनको भनाइ छ ।
वाग्लेले उद्धारका लागि विदेशी पक्षबाट समेत प्राविधिक सहयोगको प्रस्ताव आएको जानकारी दिए । सुरुङमा फसेका श्रमिकको उद्धारका विषयमा भारतीय तथा चिनियाँ पक्षबाट समेत सहयोगको चासो आएको उनले बताए ।
उनले विपद् प्रभावित क्षेत्रमा थप जनशक्ति तथा हेलिकप्टर पठाउँदा प्राविधिक समन्वय आवश्यक हुने भन्दै आवश्यकता अनुसार विशेषज्ञ सहयोग लिन सरकार तयार रहेको बताए ।



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्