Skip to content

महिला सशक्तीकरणका लागि आत्मविश्वास, शिक्षा र आर्थिक आत्मनिर्भरता अपरिहार्य : ‘मिसेस नेपाल वल्र्ड’का सहभागीहरू

nmb bank inside

वर्तमान परिवेशमा नेपाली महिलाहरू परम्परागत दायरा र चुलो चौकोबाट बाहिर निस्कँदै हरेक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउन थालेका छन् । ’मिसेस नेपाल वल्र्ड’को अडिसन तथा विभिन्न सार्वजनिक मञ्चहरूमा सहभागी महिलाहरूले समाजमा महिलाको स्थान, अधिकार र सशक्तीकरणबारे खुलेर विचार राख्न थालेका छन् । समाजले दिने दृष्टिकोणभन्दा आफूले आफैँलाई कसरी मूल्याङ्कन गरिन्छ भन्ने कुराले आत्मसम्मान तय गर्ने र महिलाहरू अब ’बिचरी’ नभई आफ्नै खुट्टामा उभिन सक्षम भइसकेको धारणा उनीहरूको छ ।

प्रतिस्पर्धी श्रद्धा श्रेष्ठले महिलाहरूले आफ्ना अधिकारका लागि अरूको मुख नताकी आफैँ अग्रसर हुनुपर्नेमा जोड दिएकी छन् । पुरुष प्रधान समाजमा समान अवसर, मानसिक क्षमता र सम्भावनाको उचित कदर हुनुपर्ने बताउँदै उनले महिला सशक्तीकरणको मुख्य जग आर्थिक आत्मनिर्भरता भएको उल्लेख गरिन् । आफ्नो अनुसन्धानको अनुभव सुनाउँदै श्रेष्ठले आर्थिक रूपमा सबल भए ७० प्रतिशत समस्या आफैँ हल हुने बताइन् । उनले आफूलाई असहाय नठानी ’कम्फर्ट जोन’बाट बाहिर निस्केर अवसर सिर्जना गर्न सम्पूर्ण महिलाहरूलाई आह्वान समेत गरिन् ।

त्यसैगरी, अर्की प्रतिस्पर्धी स्वइच्छा पौडेलले आत्मविश्वास र सकारात्मक सोचले नै पारिवारिक तथा सामाजिक जीवनमा सफलता दिलाउने धारणा राखिन् । अघिल्लो पुस्ताका आमाहरूले चुलोचौकोमा सीमित भएर पनि आफ्ना छोरीहरूलाई शिक्षा र हिम्मत दिएको स्मरण गर्दै उनले त्यही शिक्षालाई सदुपयोग गर्नुपर्ने बताइन्। छोरी र बुहारीको भूमिकामा जिम्मेवारीको अन्तर भए पनि आफूले सम्मान दिए परिवारबाट पनि पूर्ण साथ र माया पाइने तथा अगाडि बढ्नका लागि पारिवारिक सहयोग जुटाउन आफैँले पहिलो पाइला चाल्नुपर्ने उनको भनाइ छ ।

सहभागी रिचा शर्माले महिला अधिकार र सशक्तीकरणका लागि शिक्षालाई पहिलो सर्तका रूपमा औँल्याएकी छन् । चुलो चौकाभन्दा बाहिर पनि बृहत् संसार छ भन्ने चेतना जगाउन शिक्षा अपरिहार्य रहेको बताउँदै उनले यसका लागि सञ्चारमाध्यम र सरकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन् । समाज रूपान्तरण रातारात नहुने भए पनि त्यसको सुरुवात कतै न कतैबाट तुरुन्तै गर्नुपर्ने र महिलाहरूलाई आफ्ना अधिकारबारे सुसूचित गराउने वातावरण निर्माण गर्नु राज्य तथा समाज दुवैको दायित्व भएको उनको तर्क छ ।

मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै एनआरएनए आइसिसीको सल्लाहकारसम्मको जिम्मेवारी सम्हालिसकेकी अस्विन वगुम श्रीसले शिक्षा, क्षमता र आत्मविश्वासले महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने सोचलाई परास्त गर्न सकिने बताइन् । साउदी अरब जस्तो परिवेशमा रहेर पनि लामो समयदेखि अन्तर्राष्ट्रिय संस्थामा काम गरेको आफ्नो अनुभव बाँड्दै उनले परिवारको साथ र व्यक्तिगत योग्यता भए कुनै पनि सीमाले महिलालाई रोक्न नसक्ने स्पष्ट पारिन्। सहभागीहरूको यी अभिव्यक्तिले नेपाली महिलाहरू अब अधिकार माग्ने मात्र नभई आफ्नै सामथ्र्यले नेतृत्वदायी स्थान हासिल गर्न सक्षम भएको सन्देश प्रवाह गरेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्