विपद्का बीच सरकारको सन्देश : ‘नेपाल बन्द छैन, भ्रमणका लागि खुला छ’
काठमाडौं । हालैको प्राकृतिक विपद्का कारण नेपालका विभिन्न क्षेत्रमा जनजीवन, घर, व्यवसाय तथा रोजगारी प्रभावित भए पनि देशको अधिकांश भूभागमा जनजीवन सामान्य रूपमा सञ्चालन भइरहेको सरकारले जनाएको छ ।
विपद्बाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ ।
केही क्षेत्र प्रभावित भए पनि नेपालका अधिकांश स्थानमा मानिसहरू नियमित रूपमा काम गरिरहेका, यात्रा गरिरहेका र पर्यटकलाई स्वागत गरिरहेको मन्त्रालयले जनाएको हो ।
पर्यटन मन्त्रालयले विश्व समुदाय तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रलाई ‘नेपाल बन्द छैन’ भन्ने सन्देश दिएको छ । नेपाल भ्रमणले विपद्बाट प्रभावित समुदायलाई सहयोग पुग्नुका साथै स्थानीय रोजगारी, व्यवसाय र जीविकोपार्जनलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुग्ने सरकारले जनाएको छ ।
पर्यटकलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा क्विक रेस्पोन्स टिम सञ्चालनमा ल्याइएको छ ।
त्यस्तै, नेपाल पर्यटन बोर्डमा पर्यटन विभाग, पर्यटक प्रहरी तथा निजी क्षेत्रसँगको समन्वयमा पर्यटक सूचना डेस्क स्थापना गरिएको छ । डेस्कमार्फत पर्यटकलाई समयमै सूचना, सहायता तथा आवश्यक सहजीकरण उपलब्ध गराइने जनाइएको छ ।
सरकारले विपद्को कठिन समयमा नेपालसँग ऐक्यबद्धता जनाउँदै सुरक्षित तथा खुला रहेका गन्तव्यमा भ्रमण गर्न पर्यटक तथा विश्व समुदायलाई आग्रह गरेको छ ।
सरकारको सन्देश छ भनिएको छ, ‘यो नेपालसँग उभिने समय हो, नेपाल भ्रमण गर्ने समय हो। नेपालले तपाईंलाई बोलाइरहेको छ ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्