राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ आयोजनाका संरचना ध्वस्त भएको जानकारी
काठमाडौं । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका छन् भने अन्य आयोजनासमेत प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत क्षमता नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको छ ।
अर्बौ रुपैयाँको लगानी, वर्षौको मेहनत र आधुनिक प्रविधिबाट निर्माण भएका जलविद्युत तथा प्रसारण प्रणालीका संरचना केही क्षणमै बाढीले बगाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ ।
जलविद्युत आयोजना तथा भौतिक संरचनाको क्षतिसँगै ऊर्जा क्षेत्रमा कार्यरत दक्ष इन्जिनियर, प्राविधिक, विज्ञ, विशेषज्ञ तथा कामदारहरूलाई समेत गुमाउनुपरेकोमा इप्पानले दुःख व्यक्त गरेको छ ।
इप्पानका महासचिव टीएन आचार्यद्वारा जारी विज्ञप्तिका अनुसार भौतिक संरचना पुनःनिर्माण गर्न सकिएला, लगानी फेरि जुटाउन सकिएला, तर गुमेको जीवन र परिवारको अभिभावकलाई कुनै पनि रकमले फर्काउन नसकिने पीडादायी अवस्थाबाट अहिले स्वतन्त्र ऊर्जा उत्पादकहरू गुज्रिरहेका छन् ।
अहिलेको अवस्थामा निजी क्षेत्र आफैँ घाइते भए पनि बाढीमा घाइते भएकाहरूको घाउमा मल्हम लगाउने मानवीय दायित्वबाट पछि नहटी भोटेकोशी महाविपत्तिबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका बासिन्दाको उद्धार तथा राहतमा सहयोग गर्न मिति २०८३ साल भदौ ११ गते इप्पानको २०६ औं आमस्मिक कार्यसमिति बैठकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग निर्णय गरी इप्पानमा आबद्ध जलविद्युत कम्पनीहरूलाई खुला हृदयका साथ आर्थिक सहयोगका लागि आह्वान गरिएका विज्ञप्तिमा जनाइएको छ ।
इप्पान सम्वद्ध कम्पनीहरूको तर्फबाट विनाशकारी हिम बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि १३ करोड १ रुपैयाँ सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तराण् गरिएको पनि महासचिव आचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
इप्पान र इप्पान सम्वद्ध कम्पनीहरूले बाढी प्रभावितको उद्धार, पुर्ननिर्माण र पुर्नस्थापनाका लागि ५० हजारदेखि १ करोड ६५ लाख रुपैयाँसम्म आर्थिक सहयोग गरेका छन् ।
इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले मंगलबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सहयोग रकमको एक मुष्ट रुपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे ।
इप्पानसँग आवद्ध विद्युत विकासकर्ता तथा विद्युत कम्पनीहरूको सहयोगमा उक्त रकम संकलन गरिएको हो । कार्यक्रममा इप्पानसँग आवद्ध विद्युत विकासकर्ता तथा विद्युत कम्पनीहरूका प्रतिनीधिहरूले मन्त्री श्रेष्ठलाई चेक र भौचरहरू पनि प्रदान गरेका थिए ।
सहयोग रकम हस्तान्तरण गर्दै इप्पान अध्यक्ष डाँगीले भोटेकोशी महाविपत्तिमा निजी क्षेत्रका विद्युत आयोजनाहरू आफैँ ठूलो क्षतिमा परेको अवस्थामा समेत इप्पान र आवद्ध विद्युत कम्पनीहरूले पीडित नागरिकका लागि उदारतापूर्वक सहयोग गरेको बताए ।
सहयोग रकम ग्रहण गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी महाविपत्तिपछि सरकार उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणको काममा निजी क्षेत्रसँग समेत सहकार्य गरेर अघि बढिरहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव सरिता दुवाडीले इप्पानले गरेकोले नेपाल सरकारले अघि बढाउने पुर्ननिर्माणको काम ठूलो सहयोग पुग्ने बताइन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्