Skip to content

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

nmb bank inside

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गरेकी छन् ।

बाढीका कारण पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि मन्त्रालयमा होटल व्यवसायीसँग छलफल गर्दै मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेकी हुन् ।

कृष्णभीरमा गएको बाढीका कारण सडक अवरुद्ध हुँदा ग्यास आयात तथा ढुवानी प्रभावित भएको अवस्थामा होटल व्यवसायीलाई आवश्यक ग्यास आफैं आयात गर्नसमेत मन्त्री यादवले आग्रह गरिन् । त्यसका लागि सुरक्षालगायत आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उनले बताइन् ।

मन्त्री यादवले होटल व्यवसायका लागि छुट्टै र घरायसी प्रयोजनका लागि छुट्टै सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले काम अघि बढाइसकेको जानकारी दिइन् । होटलमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने ग्यासको सिलिन्डर ठूलो बनाउनुपर्ने प्रस्तावसमेत उनले अघि सारिन् ।

उनले होटल व्यवसायलाई बन्द गराउने सरकारको कुनै सोच नरहेको स्पष्ट पार्दै देशको अर्थतन्त्र र पर्यटन क्षेत्र चलायमान बनाउन होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताइन् । अहिलेको अवस्थामा भने उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास आपूर्तिलाई सहज बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्