Skip to content

बाढी प्रभावित चीनतर्फ उद्धार कार्य धमाधम, एआई मोनिटर र राडारलगायतका उपकरणको प्रयोग

nmb bank inside

बाढी प्रभावित चीनतर्फ उद्धार कार्य धमाधम, एआई मोनिटर र राडारलगायतका उपकरणको प्रयोग

एजेन्सी । दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने जिरोङ बन्दरगाहको पहिरो प्रभावित मुख्य क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।

विभिन्न निकायका टोलीहरू चौबीसै घण्टा खटिएर पहिरोको भग्नावशेष हटाउने, बेपत्ता व्यक्तिहरूको खोजी गर्ने तथा थप विपद् हुन नदिन काम गरिरहेका छन्।

नेपालमा उच्च हिमाली क्षेत्रमा हिमनदी खसेपछि आएको तीव्र गतिमा फैलिएको पहिरोको शृङ्खलाले अगस्ट २६ मा चीन–नेपाल सीमामा रहेको जिरोङ बन्दरगाहमा क्षति पु¥याएको थियो। क्षेत्रीय सरकारको पछिल्लो विवरणअनुसार हालसम्म २१ जनाको मृत्यु पुष्टि भएको छ भने ५४१ जना अझै बेपत्ता छन्।

पहिरोका कारण दुई धारमा विभाजित भएको बन्दरगाह क्षेत्र नै अहिले विपद्को मुख्य केन्द्र बनेको छ। पहिरोको एउटा धार माथिल्लो भागतर्फ जिरोङ जाङ्बो नदीमा पुगेको छ भने अर्को धार नेपालतर्फ दर्जनौँ किलोमिटर तलसम्म फैलिएको छ। पहिरोका कारण क्षतिग्रस्त जी २१६ राष्ट्रिय राजमार्ग बुधबार पूर्ण रूपमा सञ्चालनमा आएपछि थप उद्धारकर्मी र भारी उपकरण घटनास्थलसम्म पु¥याउन सहज भएको छ।

हाल पहिलो प्राथमिकता सडक खुलाउने र खोजी कार्य अघि बढाउने रहेको छ। बिहीबार दिउँसो सशस्त्र प्रहरी, अग्नि नियन्त्रक तथा चाइना एनेङका इन्जिनियरिङ टोलीले अत्याधुनिक मेसिन प्रयोग गरी पहिरोको भग्नावशेष हटाइरहेका थिए। 

घटनास्थलमा थुप्रिएको पहिरोको औसत मोटाइ करिब चार मिटर रहेको छ भने केही स्थानमा नयाँ खुलेको राजमार्गभन्दा १० मिटरसम्म माथि पहिरोको थुप्रो रहेको छ।

सडक सञ्चालनमा आएपछि खोजी कार्यलाई संयुक्त निरीक्षण भवन, पार्किङ क्षेत्र तथा आवासीय भवनलगायतका महत्वपूर्ण क्षेत्रमा विस्तार गरिएको छ। विशेष उपकरणको प्रयोग गरी अझ गहिरो र व्यवस्थित रूपमा खोजी भइरहेको छ।

थप विपद् हुन नदिन पनि उद्धार कार्यलाई प्रभावकारी बनाइएको छ । जटिल भौगोलिक तथा भू–गर्भीय अवस्थालाई ध्यानमा राख्दै अधिकारीहरूले लेजर भिडियो एआई मोनिटर, पहिरोको ढलान निगरानी गर्ने राडारलगायतका उपकरण जडानगरेका छन्। यी उपकरणमार्फत आसपासका पहाड तथा ढलानको चौबीसै घण्टा निगरानी भइरहेको छ।

एआई मोनिटरले ढलानमा हुने ०.१ मिलिमिटरसम्मको सूक्ष्म गति पनि पहिचान गर्न सक्छ र एक सेकेन्डभित्रै सुरक्षाकर्मीलाई सम्भावित जोखिमबारे जानकारी गराउन सक्छ।

मौसमको पूर्वानुमान प्रत्येक छ घण्टामा अद्यावधिक गरिन्छ भने उद्धारकर्मीको सुरक्षाका लागि आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने निकासी मार्गसमेत तयार गरिएको छ।

यसैबीच, ल्हासा भन्सार कार्यालय र सिजाङ सैन्य कमान्डका स्वास्थ्य तथा महामारी रोकथाम टोलीले घटनास्थलमा चौबीसै घण्टा कीटाणुशोधन गरिरहेका छन्।

विशेषगरी आवतजावतका मार्ग तथा भारी उपकरण प्रयोग भइरहेका क्षेत्रमा सरसफाइ र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिइएको छ।

उद्धार टोलीहरू पालैपालो परिचालन गरिएका छन्, जसका कारण मेसिनहरू निरन्तर सञ्चालनमा राख्न सकिएको छ। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य बिना अवरोध निरन्तर जारी छ। (सीसीटीभीप्लस)

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्