Skip to content

उपत्यकामा २४ हजारभन्दा बढी ग्यास सिलिन्डर भित्रिँदै, उद्धार कार्यका लागि इन्धन आपूर्ति तीव्र

nmb bank inside

उपत्यकामा २४ हजारभन्दा बढी ग्यास सिलिन्डर भित्रिँदै, उद्धार कार्यका लागि इन्धन आपूर्ति तीव्र

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति व्यवस्था मिलाएको छ ।

गत भदौ १४ गते त्रिशूली नदीको कटानका कारण कृष्णभीर खण्डमा सडक भासिएपछि पेट्रोलियम ट्याङ्कर तथा ग्यास बुलेट आवतजावत रोकिएकाले निगमले वैकल्पिक रुट प्रयोगमा ल्याएको हो । एलपी ग्यास उद्योगहरूले तराईका डिपोबाट सिलिन्डर भरेर सोही बाटो हुँदै काठमाडौं ल्याइरहेका छन् । आज मात्रै उपत्यकाका लागि विभिन्न ब्रान्डका करिब २४ हजार ५०० सिलिन्डर भित्र्याइएको र भोलिदेखि यो क्रम थप परिमाणमा नियमित गरिने निगमले जनाएको छ ।

यसअघि भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा उद्धार तथा राहत कार्यका लागि निगमले इन्धन वितरणलाई निरन्तरता दिइरहेको छ ।

खोज तथा उद्धार कार्यमा खटिएका हेलिकप्टरहरूको इन्धन व्यवस्थापनका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवा सञ्चालन गरिएको निगमले जनाएको छ । भदौ १० देखि हालसम्म १ लाख २ हजार लिटर हवाई इन्धन रिफ्युलिङका लागि पठाइसकिएको र यो सेवा नियमित रूपमा चलिरहेको छ ।

त्यस्तै, निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूलाई हालसम्म १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजेल उपलब्ध गराइएको छ । सार्वजनिक बिदाका दिनमा समेत मागबमोजिम इन्धन बिक्री वितरणको प्रबन्ध मिलाइएको छ । 

बाढी प्रभावित क्षेत्रका विभिन्न सेल्टरमा रहेका नागरिकका लागि नेपाल एलपी ग्यास उद्योग संघबाट प्राप्त १ हजार २५० सिलिन्डरमध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा रसुवा र नुवाकोटमा ५०० थान ग्यास सिलिन्डर पठाइसकिएको निगमले जनाएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्