बाढी प्रभावितको स्थायी पुनर्स्थापना सरकारको प्राथमिकतामा राखेको छ : मन्त्री बादी
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रभावित नागरिकको सुरक्षा, संरक्षण तथा स्थायी पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् ।
मन्त्री बादीले विदुर–४ स्थित युनाइटेड आधारभूत विद्यालय तथा तल्लो पिपलटारमा सञ्चालित होल्डिङ सेन्टरको निरीक्षण गरी प्रभावित नागरिकको आवास, स्वास्थ्य, खाद्यान्न तथा आधारभूत सेवाको अवस्थाबारे जानकारी लिइन् । उनले प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको तत्कालीन आवश्यकता र समस्याबारे समेत जानकारी लिएकी थिइन्।
अनुगमनका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सुत्केरी महिलाको विशेष सुरक्षा र संरक्षण सुनिश्चित गर्नुपर्नेमा मन्त्री बादीले जोड दिइन्। प्रभावित महिलाका लागि छुट्टै सुरक्षित होल्डिङ सेन्टर, आवश्यकताअनुसार महिला प्रहरीको परिचालन तथा सुरक्षित स्थानान्तरणको व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गरिएको थियो।
मन्त्री बादीले विपद्का कारण जोखिममा परेका तथा अभिभावकबाट छुट्टिएका बालबालिकाको पहिचान, सुरक्षित संरक्षण, पारिवारिक पुनर्मिलन र आवश्यक मनोसामाजिक सहयोगलाई विशेष प्राथमिकता दिनुपर्ने बताइन्। बालबालिकालाई असुरक्षित वातावरणमा वयस्कसँगै राख्न नहुने भन्दै उनीहरूको अवस्था र संरक्षण आवश्यकताअनुसार सुरक्षित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिइन्।
अनुगमनका क्रममा कारागार कार्यालय, बाल सुधार गृह तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको समेत निरीक्षण गरी सुरक्षा, स्वास्थ्य तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिइन् ।
मन्त्री बादीले प्रभावित नागरिकलाई तत्काल राहत र सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थायी पुनर्स्थापनाका लागि सरकारले योजना अघि बढाइरहेको बताइन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्