Skip to content

धर्म–संस्कृति संरक्षणमा समाजको भूमिका महत्त्वपूर्ण : मन्त्री प्रजापति

nmb bank inside

काठमाडौं । वाग्मती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले धर्म, संस्कार र संस्कृति संरक्षणका लागि समाज नै सक्रिय हुनुपर्ने बताएका छन् ।

धार्मिक तथा सांस्कृतिक पत्रकारिताको संस्थागत विकासका लागि आयोजित धार्मिक तथा सांस्कृतिक पत्रकारिता पुरस्कार तथा अक्षय कोष स्थापना आरम्भ कार्यक्रममा बोल्दै मन्त्री प्रजापतिले समाजले धर्मलाई अङ्गाले मात्र धर्म र संस्कारको संरक्षण सम्भव हुने बताए ।

उनले धार्मिक विषयमा आफू धेरै जानकार नभए पनि पारिवारिक पृष्ठभूमि धार्मिक तथा सांस्कृतिक वातावरणमा हुर्किएको र वैदिक सनातनी धर्म तथा संस्कृतिको संरक्षण गर्ने भावनाबाट आफू राजनीतिमा प्रवेश गरेको बताए ।

‘मैले के गरेँ भन्नेभन्दा मैले के दिएँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘आजसम्म केही दिन नसकेको भए पनि अब केही योगदान गर्न सक्छु भन्ने आत्मविश्वास लिएको छु ।’

मन्त्री प्रजापतिले धर्म र संस्कार संरक्षणका लागि भौतिक संरचना निर्माणसँगै त्यसलाई अपनाउने र संरक्षण गर्ने पुस्ता आवश्यक रहेको बताए । 

मन्दिर निर्माणका लागि बजेट माग हुने गरे पनि त्यहाँ पूजा गर्ने र संस्कारलाई निरन्तरता दिने समुदाय नहुँदा त्यस्ता संरचनाको औचित्य नरहने उनको भनाइ थियो ।

धार्मिक सहिष्णुताको विषयमा बोल्दै उनले सबै धर्मप्रति सम्मानको भावना हुनुपर्ने बताए । उनले आफूले विभिन्न धार्मिक समुदायसँगको संगतका क्रममा अन्य धर्मप्रति अपमानजनक व्यवहार र गलत प्रचार देखेको भन्दै त्यसलाई गलत प्रवृत्तिका रूपमा व्याख्या गरे ।

‘हामी कुनै धर्मको विरोधी होइनौँ । सबै धर्म र जातिलाई बराबर सम्मान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने । वैदिक सनातनी हिन्दु धर्म तथा संस्कृतिको संरक्षण गर्नुपर्ने भए पनि त्यसको अर्थ हिन्दु राज्यको पक्षमा उभिनु नभएको उनले स्पष्ट पारे ।

मन्त्री प्रजापतिले आफू नेवार समुदाय तथा ज्यापू संस्कारमा जन्मेर हुर्किएको उल्लेख गर्दै सनातनी धर्म, संस्कृति र परम्परा संरक्षणमा नेवार समुदायको महत्त्वपूर्ण योगदान रहेको बताए ।

उनले पछिल्लो समय युवापुस्ता विदेशिने क्रम बढेकाले परम्परा र संस्कारको निरन्तरतामा चुनौती थपिएको बताए । 

‘हाम्रा बच्चाहरू यहाँ टिक्न सक्ने अवस्था छैन। सम्पूर्ण बच्चाहरू विदेश गएपछि कसले मान्दिने हाम्रो संस्कार?’ उनले प्रश्न गरे । आगामी पुस्ताले धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री प्रजापतिले वाग्मती प्रदेश सरकार गठन भएको लामो समय भए पनि प्रदेशलाई पर्याप्त अधिकार नदिइएको गुनासो गरे । विशेषगरी पर्यटन क्षेत्र संघीय सरकारको नियन्त्रणमा रहेको भन्दै प्रदेश सरकारलाई सीमित अधिकार मात्र दिइएको उनको भनाइ थियो ।

‘जुन संरचनालाई अधिकार नै दिइँदैन भने त्यसलाई किन राखिराख्ने?’ उनले प्रश्न गरे । संघीय सरकारले प्रदेशमाथि हस्तक्षेप गरिरहेको भन्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने उनले बताए ।

यातायात व्यवस्थापनको विषयमा पनि उनले संघीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए । वाग्मती प्रदेशले सञ्चालन गर्दै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सफ्टवेयर संघीय सरकारले लिएर अन्य प्रदेशमा विस्तार गर्ने क्रममा प्राविधिक समस्या देखिएको उनको दाबी थियो ।

सफ्टवेयरमा राजस्व रकम फरक देखिने, सेवाग्राहीको नाम गलत देखिने तथा एक प्रदेशमा भरिएको फाराम अर्को प्रदेशमा देखिनेजस्ता समस्या आएको उनले बताए । अन्तर्राष्ट्रिय नम्बर प्लेटमा समेत गलत नाम देखिएको जानकारी आफूले पाएको भन्दै उनले यसबारे छानबिन आवश्यक रहेको बताए ।

यस्ता प्राविधिक समस्याका कारण सेवाग्राहीबाट यातायात कार्यालयका कर्मचारीमाथि आक्रोश पोखिन सक्ने र त्यसको जिम्मेवारी प्रदेश सरकारका सम्बन्धित मन्त्रीका रूपमा आफूले लिनुपर्ने अवस्था रहेको उनले बताए । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्