काठमाडौं । नेपाली चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको जय नेपाल हलमा आयोजित विशेष कार्यक्रमबीच चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गरिएको हो।
कार्यक्रममा चलचित्रका निर्माता तथा प्रस्तुतकर्ता अर्जुन पोखरेलले ‘बेहुली’ प्रदर्शनबाट निर्माताको भागमा आउने आम्दानीको पाँच प्रतिशत बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरे ।
उनले बाढीपीडितका लागि चलचित्र क्षेत्रबाट व्यक्तिगत रूपमा समेत सहयोग गरिएको उल्लेख गर्दै चलचित्र प्रदर्शनपछि आफ्नो भागमा आउने रकम नाफा भए पनि वा घाटा भएपनि त्यसको पाँच प्रतिशत सहयोग गर्ने बताए।
उनले चलचित्र निर्माणमा साढे तीन करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको र अझै प्रचारप्रसारको काम बाँकी रहेको बताए । चलचित्रबाट आफ्नो लगानी उठ्छ वा उठ्दैन भन्ने कुरा अलग विषय भएपनि सामाजिक उत्तरदायित्वअन्तर्गत आम्दानीको निश्चित हिस्सा पीडितका लागि छुट्याउने निर्णय गरिएको उनको भनाइ छ।
उनले भने,‘सिनेमा बनाइसकेपछि पनि अब के गर्ने भनेर सम्पूर्ण टिमले सल्लाह ग¥यौँ। चलचित्र चलिसकेपछि हलमा गएर प्रदर्शन भइसकेपछि डिस्ट्रिब्युटर र हलले काटेर निर्माताको भागमा जति प्रतिशत आउँछ, त्यसबाट ५ प्रतिशत बाढीपीडितलाई सहयोग गर्दैछौँ। हाम्रो भागमा एक लाख आएपनि वा बीसौँ करोड आए पनि त्यसबाट ५ प्रतिशत दिन्छौँ। यसको मतलब हामीलाई फाइदा भएपछि मात्रै दिन्छौँ भन्ने होइन। घाटा हुँदा पनि दिन्छौँ, नाफा हुँदा पनि दिन्छौँ।’
यस्तै अभिनेत्री दिव्या रायमाझीले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना प्रकट गरिन्। उनले अहिलेको अवस्था सम्पूर्ण नेपालीका लागि निकै कठिन रहेको बताउँदै यस्तो परिस्थितिमा चलचित्र प्रदर्शन गर्ने निर्णय लिन आफूहरूलाई पनि सहज नभएको बताइन्।
उनले दुःखलाई बिर्सनुभन्दा त्यसलाई स्वीकार गर्दै जीवनमा बिस्तारै अगाडि बढ्नुपर्ने बताइन्।
ट्रेलर सार्वजनिक कार्यक्रममा पहिलोपटक आफूले पनि ट्रेलर हेरेको बताउँदै रायमाझीले चलचित्रको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरिन्। उनले दर्शकलाई चलचित्रप्रति माया र समर्थन गरिदिन आग्रह गरिन्।
त्यस्तै कलाकार पारस बम ठकुरीले पनि विपद्मा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कठिन परिस्थितिका बीच चलचित्र प्रदर्शन गर्न लागिएको बताए। उनले ट्रेलर सार्वजनिक कार्यक्रममा प्राविधिक कारणले केही समस्या देखिएको भन्दै दर्शकसँग क्षमा मागे।
देश शोकमा रहेका बेला पनि चलचित्र क्षेत्रलाई चलायमान राख्न आवश्यक रहेको उनको भनाइ थियो।
उनले चलचित्र प्रदर्शन रोकिँदा त्यसको असर कलाकार, प्राविधिक तथा यससँग जोडिएका धेरै व्यक्तिको रोजगारीमा पर्ने बताए। विदेशी चलचित्र प्रदर्शन भइरहेका बेला नेपाली चलचित्रलाई मात्र रोक्न दबाब दिनु उचित नभएको उनको भनाइ थियो।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस, दिव्या, सुशान्त, पदम र सन्तोषको साथमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
सार्वजनिक ट्रेलरमा कलाकार पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको प्रेमलाई देखाइएको छ। चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउँदै छ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्