Skip to content

‘छिमेकीलाई तथानाम गाली गरेर राष्ट्रियता बलियो हुँदैनु : रास्वपा सांसद खरेल

nmb bank inside

‘छिमेकीलाई तथानाम गाली गरेर राष्ट्रियता बलियो हुँदैनु : रास्वपा सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा) ले भारतलाई तथानाम गाली गरेर वा विरोध गरेर मात्रै नेपाली राष्ट्रियता मजबुत नहुने बताएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै भारतमा दिएको अभिव्यक्तिको बचाउ गर्दै उनले छिमेकीसँग मिलेर अघि बढ्ने आशयका साथ उक्त अभिव्यक्ति आएको दाबी गरे।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद खरेलले अर्थमन्त्री वाग्लेले भारतमा गएर सद्भाव र मित्रभाव मात्र प्रकट गरेको स्पष्ट पारे। ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो भन्नुको आशय छिमेकी–छिमेकी मिलेर अघि बढौँ भन्ने हो,’ खरेलले भने, ‘कसैलाई पनि गाली गरेर राष्ट्रियता बलियो हुँदैन।’

भारतसँग देखिएका सीमा विवाद तथा अन्य समस्याहरूलाई कूटनीतिक पहल र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतको जमिन मिचेको भनी दिएको अभिव्यक्तिको बचाउ गर्दै सांसद खरेलले त्यो प्रधानमन्त्रीको व्यक्तिगत भनाइ नभई पुराना दलहरूले सत्ता चलाउँदा तयार पारेको आधिकारिक दस्तावेजकै आधारमा बोलिएको दाबी गरे ।

रास्वपा सत्तामा भए पनि सत्य बोल्न पछि नहट्ने तर्क गर्दै उनले भने, ‘रास्वपाले जे देख्छ, त्यही बोल्छ। त्यसैले प्रतिनिधिसभामा कहिलेकाहीँ रास्वपाकै सांसदहरू प्रतिपक्षी दलका वक्ताजस्ता देखिन्छन्।’

आफूहरू मन्त्री वा सांसद बन्न मात्र नभई देश बनाउने स्पष्ट लक्ष्यका साथ राजनीतिमा आएको दाबी गर्दै खरेलले रास्वपा जिम्मेवार भएर अघि बढ्न तयार रहेकाले विपक्षी दलहरूलाई गाली गर्ने राजनीतिमा नलाग्ने बताए।

यसैबीच, रास्वपा सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणबारे टिप्पणी गर्दै उनले अहिलेसम्म कसैले पनि म पीडित भएँ भनेर दाबी नगरेको बताए । ‘उक्त अडियोका कारण म अन्यायमा परेँ भनेर कोही व्यक्ति बाहिर आयो भने मात्र सांसद सुनारमाथि कारबाही हुनुपर्छ,’ खरेलले स्पष्ट पारे ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्