Skip to content

स्वदेशी फूलको उत्पादन बढाउन सरकार र व्यवसायीबीच सहकार्य आवश्यक : मन्त्री मगर

nmb bank inside

स्वदेशी फूलको उत्पादन बढाउन सरकार र व्यवसायीबीच सहकार्य आवश्यक : मन्त्री मगर

काठमाडौं । बागमती प्रदेश सरकारकी कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरले स्वदेशी फूलको उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने बताएकी छन् ।

ललितपुरको गोदावरीमा बिहीबार आयोजित १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै उनले पुष्प व्यवसाय नेपाली नागरिकको रोजगारी र उद्यमशीलताको महत्त्वपूर्ण आधार बनेको बताइन् ।

‘हामी सबैलाई थाहा नै छ, फूल जीवन सजावट र देखाउने वस्तु मात्र नभएर हाम्रो धर्म, संस्कृति, चाडपर्व र दैनिक जीवनकै एउटा महत्त्वपूर्ण अभिन्न अङ्ग बनिसकेको छ । जन्मदेखि मृत्युसम्म, विवाह वा पूजाआजा, स्वागत होस् वा श्रद्धाञ्जली, हाम्रो जीवनका हरेक कार्यहरू फूलबिना पूर्ण हुन सक्दैनन्,’ उनले भनिन् ।

उनका अनुसार पुष्प व्यवसायमा ६० हजारभन्दा बढी नेपाली नागरिक जोडिएका छन् । विशेषगरी महिला र युवाहरू यस व्यवसायमा संलग्न हुनु उत्साहजनक रहेको उनले बताइन् ।

तर, वार्षिक करिब २६ करोड रुपैयाँभन्दा बढीको फूल तथा पुष्पजन्य वस्तु आयात भइरहेको तथ्यले नेपाल अझै पनि पुष्प बीउ, कट फ्लावर र आलंकारिक बोटबिरुवामा परनिर्भर रहेको उनको भनाइ छ ।

‘चाडपर्व विशेषमा व्यवसाय ह्वात्तै बढ्ने र त्यसको मागलाई हाम्रै स्वदेशी उत्पादनले धान्न सक्ने अवस्था बनाउनु आजको आवश्यकता हो। सयपत्री, गुलाब, कार्नेसन, सुनाखरी र लिली जस्ता बजारमा राम्रो सम्भावना भएका फूलहरूको व्यावसायिक विस्तारमा सरकार र व्यवसायी दुवै मिलेर लाग्नुपर्छ,’ उनले भनिन् ।

मन्त्री आले मगरले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिलाई पुष्प तथा पुष्पजन्य वस्तुमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताइन् ।

‘सरकारको ‘बाई नेपाली फर्स्ट’ अर्थात् पहिलो प्राथमिकता नेपाली उत्पादनलाई दिने नीतिलाई पुष्प तथा पुष्पजन्य वस्तुमा पनि प्रतिस्पर्धाका साथ लागु गर्नुपर्छ र यसका लागि बागमती प्रदेश सरकारले आवश्यक पहल गर्नेछ भनेर यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु। नेपाली फूल नै प्रयोग गरौँ, हाम्रै स्वदेशी उत्पादनलाई माया गरौँ भन्ने भावना हरेक घर, कार्यालय, होटेल र रेस्टुरेन्टसम्म पुग्नुपर्दछ,’ उनले भनिन् ।

उनले पुष्प व्यवसायलाई आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन संरक्षित खेती, ग्रीनहाउस, थोपा सिँचाइ तथा गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी ज्ञान र प्रविधिको विस्तारमा जोड दिनुपर्ने बताइन् ।

त्यस्तै, पुष्प व्यवसायको दिगोपनका लागि उत्पादनसँगै बजारको सुनिश्चितता आवश्यक रहेको उनले बताइन् । उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध विकास गर्न, आधुनिक पुष्प बजार निर्माण गर्न तथा डिजिटल मार्केटिङ र अनलाइन बिक्रीलाई प्रोत्साहन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने उनको भनाइ छ ।

‘निर्यात सम्भावना भएका फूलको पहिचान, खेती, प्रविधि विकास, गुणस्तर, मापदण्ड र निर्यात प्रक्रियामा व्यवसायीलाई सहजीकरण गर्नुपर्दछ । यसका लागि विश्वसनीय तथ्याङ्क र सूचना प्रणाली पनि उत्तिकै जरुरी छ । देशभरका पुष्प व्यवसायी, उत्पादन क्षेत्र र बजारसम्बन्धी तथ्याङ्कलाई डिजिटल प्रणालीमा व्यवस्थित गर्न फ्यान र सम्बद्ध निकायले अग्रसरता लिन जरुरी छ,’ उनले भनिन् ।

मन्त्री आले मगरले पुष्प व्यवसायमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि, महिला तथा युवा उद्यमीलाई प्राथमिकता, सहुलियतपूर्ण ऋण र पुष्प बालीको बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइन् ।

‘बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन, पुष्प उत्पादन र व्यवसायलाई कृषि क्षेत्रअन्तर्गतका सेवा, सुविधा तथा प्रोत्साहनमा समेट्न र पुष्प बालीको बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको छ,’ उनले भनिन् ।

प्राकृतिक विपद्बाट हुने क्षतिमा व्यवसायीलाई राहत दिने नीतिगत व्यवस्था गर्न संघीय सरकारसँग आग्रह गर्दै उनले पुष्प व्यवसायको विकासका लागि बागमती प्रदेश सरकार व्यवसायीसँग सहकार्य गर्न तयार रहेको बताइन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्