काठमाडौँ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ । सो अभियान अन्तर्गत करिब पाँच लाख बाख्रामा खोप लगाइएको छ ।
यही फागुन १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको चौँथो दिन शनिबारसम्ममा ५ लाख ४९ हजार ८१ बाख्रा जातमा खोप लगाइसकिएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख एवं प्रवक्ता सुजन कँडेलले जानकारी दिएका छन् । प्रदेशका सबै जिल्लास्थित पशुसेवा कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा खोप केन्द्र सञ्चालन गरिनुका साथै भ्याक्सिनेटरद्वारा अभियान सञ्चालन गरिएको कँडेलले जनाएका छन् । त्यसैगरी पहिलो दिनको तुलनामा दोस्रो दिनदेखि हजारौँ बाख्रामा खोप लगाइएको तथ्याङ्क रहेको छ । बुधबारदेखि सुरु भएको कार्यक्रम अन्तर्गत शनिबारसम्म करिब ५ लाख बाख्रामा खोप लगाइएको भन्दै हालसम्म भेडामा खोप नलगाइएको प्रवक्ता कँडेलको भनाइ छ ।
यस्तै, प्रदेशको काभ्रेमा ६४ हजार ६ सय ८८, ललितपुरमा १२ हजार ७ सय ४७, काठमाडौँमा १४ हजार २ सय ९४, भक्तपुरमा ३ हजार १ सय ४३ बाख्रामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । दोलखामा ५६ हजार ९ सय ४०, सिन्धुपाल्चोकमा ४३ हजार ४ सय ९, रामेछापमा ४४ हजार ५ सय २७, सिन्धुलीमा ६४ हजार २ सय ४२ खोप लगाइएको प्रवक्ता कँडेलले जानकारी दिएका छन् । उनका अनुसार मकवानपुरमा ७५ हजार ६ सय २८, चितवनमा ४० हजार ५ सय ६३, नुवाकोटमा ५४ हजार ५ सय ७, रसुवामा ७ हजार ३७ र धादिङमा ६३ हजार ६ सय २५ बाख्रामा पिपीआर खोप लगाइएको छ ।
नेपालमा पछिल्लो समय पिपीआर रोगका कारण धेरै सङ्ख्यामा भेडाबाख्राको मृत्यु भएको छ । रोगका कारण किसानले ठूलो मात्रामा नोक्सानी व्याहोर्नु परेकाले विगतका वर्ष झैँ यसवर्ष पनि अभियान सञ्चालन गरी खोप लगाइएको कृषि, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक डा गौरीमान श्रेष्ठले जानकारी दिएका छन् । खोप अभियान फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । करिब १५ लाख भेडाबाख्रामा खोप लगाउने लक्ष्यका साथ काम गरिरहेको निर्देशक श्रेष्ठले बताएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्