Skip to content

अब अमेरिकामा स्थायीरुपमा बस्न चाहनेहरूका लागि नयाँ व्यवस्था

काठमाडौं । अब अमेरिकामा स्थायीरुपमा बस्न चाहने विदेशी नागरिकहरूका लागि नयाँ प्रक्रिया शुरु भएको छ । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले अमेरिकामा बस्न चाहने विदेशी नागरिकहरुका लागि  ‘ट्रम्प कार्डको’ व्यवस्था ल्याएका छन् ।   

 ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उक्त जानकारी दिएका हुन् । जसअन्तर्गत ५० लाख (५ मिलियन) डलर तिरेर उक्त कार्ड खरिद गर्नु पर्ने छ । विदेशी नागरिकहरूले सो रकम तिरेर कार्ड खरिद गरिसकेपछि  स्थायीरुपमै अमेरिकामा बसोबास गर्न पाउने छन् ।

 विज्ञप्तिमा ट्रम्पले उक्त कार्डलाई ग्रीन कार्डको प्रिमियम विकल्पको रुपमा प्रचार गरेका छन् । उनले यसलाई ‘संसारको सबैभन्दा महान देश र बजारसम्म पहुँच प्राप्त गर्ने सुन्दर बाटो’ भनेर वर्णन गरेका छन् । हजारौंले फोन गरी दर्ता कसरी गर्ने भनेर सोधिरहेको पनि ट्रम्पले थपेका छन् ।

आवेदन दिन चाहनेहरूलाई ट्रम्पकार्ड डट जीओभी मा गई वेटिङ लिस्टमा नाम लेखाउन पनि ट्रम्पले आग्रह गरेका छन् । तर ट्रम्पले यो कार्डले अमेरिकी नागरिकता प्रदान गर्ने नभई नागरिकतासम्म पुग्ने बाटो प्रदान गर्छ भन्ने कुरामा जोड दिएको विभिन्न रिपोर्टले देखाएका छन् । रिपोर्टहरूका अनुसार, ट्रम्पले यस कार्यक्रमलाई सांसदहरूको अनुमोदन आवश्यक नपर्ने दाबी गर्दै यसलाई कार्यपालिका तहको पहलका रूपमा प्रस्तुत गरेका छन् ।

उक्त कदमले अमेरिकाको परम्परागत आप्रवासन प्रक्रियालाई बाइपास गर्ने देखिन्छ । ट्रम्पले ‘गोल्ड कार्ड’ लाई ग्रीन कार्ड जस्तै भए पनि अझ उच्च स्तरको परिष्कृत सुविधा भएको भन्दै वर्णन गरेका थिए । उनले यसलाई धनी व्यक्तिहरुका लागि अमेरिकामा कानुनीरुपमा बसोबास गर्ने एकपटक मात्र पाइने सुनौलो अवसरका रुपमा पनि प्रस्तुत गरेका थिए ।

arrow प्रतिक्रिया दिनुहोस्