Skip to content

सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द

काठमाडाैं । धनुषा जिल्लाका सम्पूर्ण सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले जिल्लाभरका पसलसमेत बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनका सिलसिलामा शुक्रबार जनकपुरधाम सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले नीति तथा कार्यक्रममा दुई प्रतिशत विलासिता कर लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाए । पत्रकार सम्मेलनमा जनकपुरधाम सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरले सरकारले विलासिता करको नाममा दुई प्रतिशत बढाउँदा उपभोक्ता समक्ष ६ प्रतिशत पुग्न जाने बताए ।

उनले यसो भयो भने भारतमा सुनको मुल्य सस्तो पर्ने र सोही कारणले सुन खरिद गर्नेहरु भारतीय बजार जान बाध्य हुने जानकारी दिए ।सरकारले कर नहटाए सम्पूर्ण सुनचाँदी व्यापारीले पसल बन्द गरेर पलायन हुने स्थिति सृजना हुने अध्यक्ष ठाकुरले बताए ।

यसबाट लाखौं कालिगढ र सुनचाँदी व्यवसायमा आवद्ध व्यक्तिहरु वेरोजगारीको शिकार हुने उनको भनाई छ ।उनले सरकारलाई विलासिता कर हटाउन माग गर्नुका साथै केन्द्रिय संघको निर्णय अनुसार आफूहरुले थप आन्दोनका कार्यक्रमहरु सशक्त बनाउँदै जाने चेतावनी समेत दिए ।

व्यवसायीहरुले काठमाडौंलगायत देशभरका सहरहरुमा आन्दोलनका कार्यक्रमहरु गरिरहेका छन् ।

arrow प्रतिक्रिया दिनुहोस्