काठमाडौं । नेपालले इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्री पाउने भएको छ। राजनीतिक दलबीचको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने निर्णय भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनको नियुक्ति गर्ने तयारी गरेका छन्।
यसअघि कार्की, जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल नयाँ सरकार गठनबारे छलफलका लागि शीतल निवास पुगेका थिए। प्रारम्भमा संसद् विघटनको विषयमा मतभेद भए पनि अन्ततः सहमति बनेको छ।
भदौ २२ र २३ गतेको जेनजी आन्दोलनको तीव्र दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए। असामान्य परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपति पौडेलले सोही दिन राजीनामा स्वीकृत गरेका थिए।
👉 यस सहमतिसँगै नेपालमा ‘भ्रष्टाचारविरुद्धको लडाइँलाई नयाँ गति दिने’ अपेक्षा गरिएको छ।