Skip to content

पार्टी एकता नै मेरो अर्जुनदृष्टि : नैनसिंह महर

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहसले पार्टी पङ्क्ति दुई ध्रुवमा विभाजित भइरहेको बेला प्रभावशाली युवा नेता नैनसिंह महरले ‘पार्टी एकता’ को पक्षमा शंखघोष गरेका छन्। नेतृत्वको रस्साकस्सी र गुटगत राजनीतिका कारण पार्टीभित्र देखिएको ‘दरार’ लाई मेट्न आफू निरन्तर पुलको काम गरिरहेको बताउँदै महरले आगामी महाधिवेशनमा महामन्त्री पदमा आफ्नो जित सुनिश्चित रहेको दाबी समेत पेस गरेका छन्।

यतिबेला कांग्रेस वृत्तमा विशेष महाधिवेशनको रटान तातिएको छ। एकाथरी नेताहरू पार्टीलाई सुदृढ बनाउन तत्काल विशेष महाधिवेशन आवश्यक रहेको बताइरहेका छन् भने, अर्को तप्काले आगामी आम निर्वाचनपछि मात्र महाधिवेशन गर्नु व्यावहारिक हुने तर्क अघि सारेका छन्। यो ‘टाइमलाइन’ को लडाइँले कार्यकर्तामा अन्योल सिर्जना गरिरहेको बेला नेता महरले भने परिपक्व र सन्तुलित विचार प्रवाह गरेका छन्।

‘महाधिवेशन कहिले गर्ने भन्ने प्राविधिक विषय हो, तर कसरी गर्ने भन्ने भावनात्मक विषय हो,’ महरले भने, ‘निर्वाचन अघि वा पछि, जहिले भए पनि सिंगो कांग्रेस एक ढिक्का भएर उभिनुको विकल्प छैन। अहिले देखिएको ध्रुवीकरणलाई चिर्दै भावनात्मक एकता कायम गर्न म अहोरात्र खटिएको छु।’ पार्टी एकताको वकालत गरिरहँदा महरले आफ्नो राजनीतिक ‘रोडम्याप’ बारे पनि खुलस्त पारेका छन्। नेविसंघको नेतृत्व सम्हालिसकेका महरले आगामी महाधिवेशनमा आफू महामन्त्रीको बलियो दाबेदार रहेको र कार्यकर्ताको अपार मायाका कारण जित्नेमा पूर्ण विश्वस्त रहेको बताए। उनको यो दाबेदारीलाई फगत पदलोलुपता भन्दा पनि पार्टी रूपान्तरणको एजेन्डाका रूपमा हेर्नुपर्ने विश्लेषकहरूको बुझाइ छ।

‘मेरो उम्मेदवारी पदका लागि मात्र होइन, कांग्रेसमा युवा जोस र वैचारिक स्पष्टता भर्नका लागि हो,’ महरले प्रष्ट पारे, ‘म नेतृत्वमा पुगेर गुटको पर्खाल भत्काउँदै सबैलाई अपनत्व हुने ‘सबैको कांग्रेस’ बनाउन चाहन्छु।’ पार्टीका शीर्ष नेताहरूबीच बढ्दै गएको संवादहिनता र तिक्ततालाई अन्त्य गर्न महरले भित्रभित्रै ‘क्राइसिस म्यानेजर’ को भूमिका खेलिरहेको निकट स्रोतले बताएको छ। गुट–उपगुटमा विभक्त मनोविज्ञानलाई जोड्न उनले विभिन्न चरणमा शीर्ष नेतृत्वसँग संवाद र दबाब दुवै सिर्जना गरिरहेका छन्। ‘पार्टीभित्र देखिएको चिरा र दरारहरूमा मलम लगाउनु मेरो पहिलो प्राथमिकता हो,’ महरले भने, ‘महामन्त्रीको कुर्सी भन्दा प्यारो मलाई मेरो पार्टीको एकता लाग्छ। तसर्थ, म प्रतिस्पर्धामा उत्रिँदा पनि एकताको सन्देश लिएरै मैदानमा हुनेछु।’

समग्रमा, विशेष महाधिवेशनको सकस र चुनावी रणनीतिको चेपुवामा परेको कांग्रेसलाई नैनसिंह महरको यो ‘एकता र नेतृत्व’ को सन्तुलित मोडलले नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्