Skip to content

वर्षौंदेखि फोहोर व्यवस्थापनको समस्याले ग्रस्त सिद्धार्थनगरमा निजी कम्पनीलाई जिम्मेवारी

nmb bank inside

पाँच वर्षमा ३ करोड ६० लाखको सम्झौता, दुई महिनाभित्र नगर सफा गर्ने नगर प्रमुखको दाबी

वर्षौंदेखि फोहोर व्यवस्थापनको समस्याले ग्रस्त सिद्धार्थनगरमा निजी कम्पनीलाई जिम्मेवारी

राधेश्याम विश्वकर्मा, नेपाल न्यूज बैंक

रुपन्देही । फोहोरमैला व्यवस्थापनको पुरानो समस्याले ग्रस्त सिद्धार्थनगर नगरपालिकाले नगर सफाइको जिम्मा निजी कम्पनीलाई दिएको छ । 

नगरपालिकाले मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रशोधन अफ नेपाल प्रालिसँग पाँच वर्षका लागि सम्झौता गर्दै फोहोर संकलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी दिएको हो 

सम्झौताअनुसार नगरपालिकाले कम्पनीबाट पाँच वर्षमा तीन करोड ६० लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सम्झौतापछि नगर प्रमुख इस्तियाक अहमद खानले दुई महिनाभित्र नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन् । लामो समयदेखि नगरवासीले भोग्दै आएको फोहोरको समस्या अब समाधान हुने उनको अपेक्षा छ । उनले सम्बन्धित कम्पनीलाई नाफामात्र नभई सेवाभावले काम गर्न आग्रह गरेको बताए ।

सिद्धार्थनगरमा सडक, चोक र गल्लीमा फोहोर थुप्रिने, नियमित संकलन नहुने तथा सरसफाइ प्रभावकारी नभएको गुनासो लामो समयदेखि रहँदै आएको छ । पटक–पटक सुधारका प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन ।

यही अवस्थालाई अन्त्य गर्ने उद्देश्यले नगरपालिकाले निजी कम्पनीसँग पाँचवर्षे सम्झौता गरेको हो ।

सम्झौताअनुसार कम्पनीले नगरपालिकालाई वार्षिक ७२ लाख १० हजार रुपैयाँका दरले भुक्तानी गर्नेछ । २०८३ साउन ७ देखि लागू भएको सम्झौता २०८८ सम्म कायम रहनेछ ।

कम्पनीले नगरपालिकाको आर्थिक ऐनले तोकेअनुसार घर, पसल, उद्योग तथा विभिन्न संस्थाबाट फोहोर व्यवस्थापन सेवा शुल्कसमेत उठाउनेछ । व्यावसायिक क्षेत्रमा रहेका घरबाट मासिक १५० रुपैयाँ, आवासीय क्षेत्रबाट ५० रुपैयाँ र ग्रामीण क्षेत्रबाट २५ रुपैयाँ शुल्क लिने व्यवस्था छ । 

व्यवसायको प्रकृति र आकारअनुसार पसल तथा उद्योगबाट मासिक १२५ देखि एक हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।

सम्झौतामा फोहोर संकलन र व्यवस्थापनसँगै सेवाग्राहीलाई सूचना दिने, गुनासो सम्बोधन गर्ने तथा सेवा प्रभावकारी बनाउन वडा कार्यालय, टोल सुधार समिति र नगरपालिकाबीच समन्वय गर्ने व्यवस्था पनि छ ।

नगर प्रमुख खानले नगरपालिकाले गरेका कामको उपलब्धि जनतामाझ पु¥याउन नसकिएको उल्लेख गर्दै नयाँ सम्झौताले फोहोर व्यवस्थापनको पुरानो समस्या समाधान गर्न सहयोग पुग्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले फोहोरमैला र छाडा चौपाया व्यवस्थापनलाई नगरको प्रमुख चुनौतीका रूपमा औँल्याए । जनप्रतिनिधि, कर्मचारी र नगरवासीबीचको समन्वय तथा सहकार्यबाट मात्रै नगरलाई व्यवस्थित बनाउन सकिने उनको भनाइ छ ।

पाँचवर्षे सम्झौतासँगै नगरपालिकाले सरसफाइमा सुधारको अपेक्षा गरेको छ । तर, नगरवासीका लागि महत्वपूर्ण कुरा कम्पनीले कति रकम नगरपालिकालाई बुझाउँछ भन्नेभन्दा पनि घरदैलोबाट नियमित फोहोर उठ्छ कि उठ्दैन भन्ने हो । 

शुल्क लिएपछि गुणस्तरीय सेवा दिनु, संकलित फोहोरको उचित व्यवस्थापन गर्नु र सार्वजनिक स्थान सफा राख्नु कम्पनीका लागि मुख्य चुनौती हुनेछ । दुई महिनाभित्र नगर सफा बनाउने नगर प्रमुखको प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुन्छ, त्यसैले सम्झौताको सफलता निर्धारण गर्नेछ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्