Skip to content

प्रधानमन्त्रीको कार्यशैलीप्रति हर्क साम्पाङको आपत्ति, नैतिकताका आधारमा राजीनामाको माग

nmb bank inside

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहको संसदीय कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिन माग गरेका छन् ।शुक्रबार जारी विज्ञप्तिमा राईले प्रधानमन्त्री शाहले संसद र संसदीय परम्पराको अपमान गरेको आरोप लगाएका हुन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गराएपछि प्रधानमन्त्री स्वयं संसदबाट बाहिरिएको र पुनः उपस्थित नभएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अवमूल्यनको रूपमा चित्रण गरेका छन् ।विज्ञप्तिअनुसार प्रधानमन्त्री शाह नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पनि संसदमा अनुपस्थित रहेका थिए । प्रतिपक्षी दलहरूले उपस्थितिको माग गर्दा समेत प्रधानमन्त्री संसदमा नआएको तथा आफ्नै कार्यालयबाट संसदका गतिविधि प्रत्यक्ष प्रसारणमार्फत हेरिरहेको आरोप राईले लगाएका छन् ।

त्यसैगरी नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने संसदीय परम्परा रहेको उल्लेख गर्दै उनले उक्त जिम्मेवारीबाट प्रधानमन्त्री पन्छिएको बताएका छन् । संसदका कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नु समेत प्रधानमन्त्रीको गैरजिम्मेवार व्यवहार भएको राईको भनाइ छ ।राईले संसदको मर्यादा कायम राख्न नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको टिप्पणी गर्दै यस्तो घटनाले संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको बताएका छन् ।

उनले जनताको सार्वभौम संस्थालाई अपमान गर्ने व्यक्तिले नैतिकताको आधारमा पदमा बसिरहन नमिल्ने जिकिर गरेका छन् ।विज्ञप्तिमा सरकारले संसदलाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप पनि लगाइएको छ । सीमा सुरक्षा, जनजीविका र नागरिकका आधारभूत समस्यामा सरकार असफल भएको भन्दै उनले सरकारप्रति खेद व्यक्त गरेका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्