Skip to content

भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्रीको स्पष्टीकरण

nmb bank inside

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको स्पष्ट पारेका छन् । बुधवार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताएका हुन् ।

बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वाग्लेले गत वर्ष नेकपा एमाले र नेपाली काँग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको बताएका छन् । रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको उनको भनाइ छ । उनकाअनुसार यि मानवीय र प्राविधिक विषय मात्रै भएको भन्दै अन्य कतिपय विषयमा भाषागत स्पष्टताका लागि मात्र परिमार्जन गरिएको दाबी गरेका छन्।  सञ्चारमाध्यममा आएका समाचारहरूले भ्रम सिर्जना गरेको उल्लेख गर्दै उनले अर्थ मन्त्रालयमा बसेर गोप्य रूपमा दरहरू चलाएको भन्ने आरोपको खण्डन गरेका छन् ।

त्यस्तै, प्रतिवेदनबाट १६ पाना गायब भएको भन्ने आरोपका सम्बन्धमा उहाँले माइक्रोसफ्ट वर्डको प्राविधिक पक्षबारे स्पष्ट पारे । उनकाअनुसार ४ सय ५० भन्दा बढी पानाको डकुमेन्टमा कोलमको साइज थोरै मात्र घटबढ गर्दा पनि समग्र पानाको संख्यामा उल्लेख्य परिवर्तन देखिन सक्छ । सार्वभौम संसदमा विधेयक पेश गरिसकेपछि त्यसमा कुनैपनि अनधिकृत परिवर्तन नगरिएको उनले दृढताका साथ व्यक्त गरे । उनले यो विवादलाई ‘चियाको कपमा तुफान’ ल्याउने प्रयासको संज्ञा दिँदै आफू यसको डटेर सामना गर्न तयार रहेको बताए। राष्ट्रहित र मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर गरिएका कामलाई गलत अर्थमा नबुझ्न समेत उनले आग्रह गरेका छन् । कुनैपनि विषयमा थप शङ्का भएमा आफू त्यसलाई थप स्पष्ट पार्न सदैव तयार रहेको उनले प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्