Skip to content

फिफा विश्वकपको रौनक :नेपाल खेल पर्यटनका लागि अब्बल गन्तब्य, अर्थतन्त्रमा ठूलो हिस्सेदार

nmb bank inside

खेल पर्यटन र अर्थतन्त्रमा नेपाल बलियो, प्रभावकारी सरकारी योजना आवश्यक

मनिषा बस्नेत,नेपाल न्युज बैंक

काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने प्रमुख आधार प्राकृतिक सौन्दर्य, हिमाल, संस्कृति र साहसिक गतिविधि हुन् ।

पछिल्लो समय पर्यटनको नयाँ आयामका रूपमा खेल पर्यटन पनि चर्चामा छ । खेल हेर्न, खेल्न वा खेलसँग सम्बन्धित गतिविधिमा सहभागी हुन गरिने यात्रालाई खेल पर्यटनका रूपमा बुझिन्छ । विश्वका धेरै देशले खेलकुदलाई पर्यटन, अर्थतन्त्र र देशको ब्रान्डिङसँग जोडेर ठूलो लाभ लिइरहेका बेला नेपालमा पनि खेल पर्यटनको सम्भावना बढ्दै गएको छ ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने देशहरूले खेलमार्फत लाखौँ पर्यटक भित्र्याउने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र विश्व बजारमा आफ्नो पहिचान स्थापित गर्ने गरेका छन्।

नेपालमा पनि क्रिकेट, फुटबल, भलिबल, ब्याडमिन्टनलगायत खेलका गतिविधि बढ्दै जाँदा त्यसले अर्थतन्त्रमा सहयोग पुर्याउने गरेको छ । पछिल्ला वर्षहरूमा विभिन्न व्यावसायिक लिग तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनाले खेल पर्यटनको सम्भावनालाई थप उजागर गरेको छ। तर पर्याप्त पूर्वाधार, लगानी र योजनाबद्ध प्रवद्र्धनको अभावका कारण नेपालले यस क्षेत्रबाट अपेक्षित लाभ लिन सकेको छैन।

खेल पर्यटनको सम्भावना उच्च रहे पनि यसको विकासका लागि आवश्यक पूर्वाधार, लगानी र अन्तर्राष्ट्रिय प्रवद्र्धनमा अझै सुधार आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । प्राकृतिक स्रोत, साहसिक खेलको सम्भावना र बढ्दो खेल गतिविधिले नेपाललाई खेल पर्यटनको आकर्षक गन्तव्य बनाउन सक्ने उनीहरूको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार नेपालको सन्दर्भमा खेल पर्यटन अझै विकासको प्रारम्भिक चरणमा रहेको छ । खेल पर्यटनको आधार निर्माण भइरहेको भए पनि यसले पूर्ण रूपमा गति लिन भने बाँकी रहेको उनी बताउँछन् ।

‘नेपालको कन्टेक्स्टमा स्पोट्र्स टुरिजम अहिले टेकअफ स्टेजमा पुगिसकेको छैन। यसको ग्राउन्ड वर्क र फाउन्डेसन निर्माण भइरहेको अवस्था हो,’ उनले भने ।

पछिल्ला वर्षहरूमा राष्ट्रिय खेलकुद प्रतियोगिता, क्रिकेट, फुटबल, भलिबललगायत खेलका गतिविधि र निर्माण भएका केही पूर्वाधारले नेपालमा खेल पर्यटनको सम्भावनाको ढोका खोल्न थालेको उनले बताए ।

‘राष्ट्रिय खेलकुदका बेला बनेका संरचना र विभिन्न खेल संस्थाले बनाएका पूर्वाधारका आधारमा अब नेपालमा स्पोट्र्स टुरिजमको कुरा गर्न सकिने अवस्था आएको छ,’ उनले भने ।

उनका अनुसार खेल पर्यटनलाई केवल प्रतियोगिता आयोजना गर्ने विषयका रूपमा मात्र हेर्न नहुने बताउँछन्। खेलसँग जोडिएका मानिसहरूको यात्रा, दर्शकको आवतजावत, खेल आयोजना हुने स्थानको प्रचार, होटल तथा यातायात क्षेत्रको गतिविधि र स्थानीय अर्थतन्त्रमा पर्ने प्रभावलाई समग्र रूपमा हेर्नुपर्ने उनको भनाइ छ ।

‘खेल पर्यटनमा दुई वटा मुख्य पक्ष हुन्छन्। पहिलो खेलसँग प्रत्यक्ष जोडिएका खेलाडी, प्रशिक्षक, अधिकारीहरूको यात्रा हो भने अर्को खेलले प्रेरित गर्ने यात्रा हो,’ थपलियाले स्पष्ट पारे

थपलियाका अनुसार कुनै ठूलो प्रतियोगिता आयोजना हुँदा खेलाडी मात्र नभई उनीहरूसँग आउने परिवार, समर्थक र दर्शकले पनि पर्यटन क्षेत्रमा योगदान पुर्याउने गर्छ ।

‘ठूलो प्रतियोगिता हुँदा खेलाडी मात्र आउँदैनन्, उनीहरूसँग अफिसियल, परिवार, साथी र समर्थकहरू पनि आउँछन्। उनीहरूको बसाइ, होटल, यातायात, खानपान र अन्य गतिविधिले स्थानीय अर्थतन्त्रमा प्रभाव पार्छ,’ उनले भने ।

विश्वका धेरै देशले खेल प्रतियोगितालाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउँदै आएका छन्। फुटबल, ओलम्पिक, टेनिस प्रतियोगिता, क्रिकेट विश्वकपजस्ता ठूला प्रतियोगिताले सम्बन्धित देशको पर्यटन, होटल, यातायात र व्यापार क्षेत्रमा ठूलो आर्थिक गतिविधि सिर्जना गर्छन्। नेपालले पनि आफ्नै सम्भावनाअनुसार खेल पर्यटनको मोडल विकास गर्न सक्ने विज्ञहरूको भनाइ छ ।

नेपालमा पछिल्ला वर्षहरूमा विभिन्न व्यावसायिक लिगहरूको सुरुवातले खेल पर्यटनको सम्भावना बढाएको छ । क्रिकेटतर्फ नेपाल प्रिमियर लिग, फुटबलतर्फ नेपाल सुपर लिग, भलिबल तथा अन्य खेलका प्रतियोगिताले खेलप्रतिको आकर्षण बढाउँदै लगेका छन्। यस्ता प्रतियोगितालाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सके नेपालले नयाँ पर्यटकीय बजार विस्तार गर्न सक्ने सम्भावना देखिन्छ ।

साहसिक खेल पर्यटनमा सम्भावना

नेपालको सबैभन्दा ठूलो शक्ति भनेको यसको भौगोलिक विविधता हो । हिमाल, पहाड, नदी र प्राकृतिक संरचनाले नेपाललाई साहसिक खेल पर्यटनका लागि विश्वकै आकर्षक गन्तव्य बनाउन सकिन्छ ।

थपलियाका अनुसार नेपाल साहसिक खेल पर्यटनका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने अवस्थामा छ । बन्जी जम्प, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ, ¥याफ्टिङ, ट्रेकिङ, पर्वतारोहण, स्किइङ, अल्ट्रा लाइट फ्लाइट, स्काई डाइभिङलगायत गतिविधि नेपालमा सम्भावनायुक्त क्षेत्र हुन् ।

उनले भने, ‘नेपाल साहसिक खेल पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो। हाम्रो भूगोल, हिमाल, पहाड र प्राकृतिक स्रोतले यस क्षेत्रमा ठूलो अवसर दिएको छ।’

साहसिक खेल पर्यटनको विशेषता भनेको यसले खेलाडी मात्र होइन, गन्तव्यलाई पनि चिनाउने हो।

हिमाली क्षेत्रमा आयोजना हुने म्याराथन, साइकल दौड वा साहसिक प्रतियोगिताले सहभागी खेलाडीलाई मात्र होइन, विश्वभरका पर्यटकलाई पनि आकर्षित गर्न सक्छ। यस्ता गतिविधिले कुनै स्थानको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्न सहयोग पुर्याउँछन्।

‘साहसिक खेलमा सहभागी हुने व्यक्ति आफैँ पनि पर्यटक हुन्छ। यस्ता गतिविधिले गन्तव्यको प्रचार गर्छ र कुनै ठाउँलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सहयोग गर्छ,’ उनले भने ।

 

नेपालको हिमाली भूगोल र प्राकृतिक वातावरण साहसिक खेलका लागि उपयुक्त रहेको थपलियाको भनाइ छ । साथै नेपालसँग उच्च हिमाली क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति पनि रहेको उनले बताए। पर्वतीय पर्यटन र साहसिक गतिविधिमा नेपाली जनशक्तिले अन्तर्राष्ट्रियस्तरमा समेत काम गरिरहेको उनले उल्लेख गरे ।

‘उच्च हिमाली क्षेत्रमा पर्यटन गतिविधि सञ्चालन गर्ने नेपाली जनशक्ति निकै दक्ष छ। धेरै नेपालीले अन्तर्राष्ट्रिय स्तरमा समेत यस्ता गतिविधिमा काम गरिरहेका छन्,’ उनले भने ।

खेल पर्यटनसँगै आर्थिक गतिविधि

खेल पर्यटन केवल मनोरञ्जनको विषय नभई आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। एउटा खेलाडी वा पर्यटक नेपाल आउँदा होटल, यातायात, रेस्टुरेन्ट, पसल, गाइड तथा अन्य सेवा क्षेत्रमा आर्थिक प्रभाव पर्ने गर्दछ ।

नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाका अनुसार खेल पर्यटनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै क्षेत्रलाई चलायमान बनाउँछ । उनका अनुसार एउटा पर्यटक आउँदा होटलदेखि यातायात, खानपान र अन्य सेवामा धेरै मानिस जोडिन्छन् ।

‘खेलकुद सम्पन्न देशमा मात्र हुने विषय होइन। हाम्रो जस्तो विकासशील राष्ट्रमा पनि खेलकुदको महत्व छ। खेल पर्यटनले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ,’उनले भने ।

उनले एउटा पर्यटक नेपाल आउँदा धेरै क्षेत्र प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभान्वित हुने बताए।

‘एउटा पर्यटक आउँदा होटल, यातायात, रेस्टुरेन्ट, पसल, मनोरञ्जनलगायत धेरै क्षेत्र जोडिन्छन्। एउटा खेलाडी आउँदा पनि उसले गर्ने खर्चले धेरै मानिसको आम्दानीसँग सम्बन्ध राख्छ,’ उनले भने ।

उनले खेल पर्यटनलाई आर्थिक चक्रसँग जोडेर हेर्नुपर्ने बताए । कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा खेलाडी, प्रशिक्षक र अधिकारी मात्र आउँदैनन्, उनीहरूसँगै परिवार, समर्थक तथा सञ्चारकर्मी पनि आउने भएकाले बसाइ अवधि बढ्ने र स्थानीय बजारमा खर्च बढ्ने उनको भनाइ छ ।

नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सके पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिन सक्ने सम्भावना छ। तर त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका खेल मैदान, प्रशिक्षण केन्द्र, होटल सुविधा र सुरक्षा व्यवस्थापन आवश्यक हुन्छ ।

पूर्वाधार अभाव ठूलो चुनौती

नेपालमा खेल पर्यटन विकासको मुख्य चुनौती भनेकै पर्याप्त पूर्वाधारको अभाव हो। अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न आवश्यक रंगशाला, कभर्डहल, प्रशिक्षण केन्द्र र अन्य सुविधा सीमित छन्।

थापाले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पूर्वाधार सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए । अन्तर्राष्ट्रिय खेल संघहरूले प्रतियोगिता आयोजना गर्ने देश छनोट गर्दा धेरै विषय हेर्ने गरेको उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय फेडेरेसनहरूले कुनै देशमा प्रतियोगिता दिनुअघि त्यहाँको खेल पूर्वाधार, होटल सुविधा, सुरक्षा व्यवस्था र व्यवस्थापन क्षमता हेर्छन्,’ उनले भने ।

उनले नेपालमा पुराना रंगशाला र सीमित खेल संरचनाका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न कठिनाइ हुने बताए । काठमाडौंलगायत प्रमुख शहरमा जनसंख्या बढे पनि खेल पूर्वाधार भने पुरानै अवस्थामा रहेको उनको भनाइ छ ।

‘अहिले हामीसँग ठूला प्रतियोगिता गर्न सक्ने पूर्वाधार सीमित छन्। पुराना रंगशाला र कभर्डहलबाट मात्र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न कठिन हुन्छ,’ उनले भने।

सरकारले खेल पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने र निजी क्षेत्रलाई पनि आकर्षित गर्ने वातावरण बनाउनुपर्ने थापाको सुझाव छ । उनका अनुसार सरकारले सहजीकरण गरे निजी क्षेत्रले खेल क्षेत्रमा लगानी गर्न सक्छ । कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत पनि खेल पूर्वाधार विकासमा लगानी भित्र्याउन सकिने उनले बताए ।

‘खेल क्षेत्रमा सरकारले लगानी गर्नुपर्छ। आवश्यक र्वाधार बनेपछि निजी क्षेत्र पनि आकर्षित हुन्छ र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने वातावरण बन्छ,’ उनले भने ।

थापाले स्थानीय, प्रदेश र संघीय सरकारले सहकार्य गरेर खेल पूर्वाधार विकास गर्नुपर्ने बताए।

‘काठमाडौंलगायत ठूला शहरमा जनसंख्या धेरै बढेको छ, तर खेल संरचना पुरानै अवस्थामा छन्। सरकारले जग्गा, नीति र वातावरण तयार गरिदिए निजी क्षेत्र पनि लगानी गर्न आउन सक्छ,’ उनले भने।

 

नेपाल खेल पर्यटन हब बन्न सक्छ

नेपालसँग खेल पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत पर्याप्त भए पनि त्यसलाई व्यवस्थित रूपमा बजारमा लैजान नसकिएको अवस्था छ । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको क्यालेन्डर निर्माण गर्ने, विदेशमा रहेका नेपाली दूतावासमार्फत प्रचार गर्ने, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामग्री निर्मातालाई नेपाल ल्याएर प्रचार गर्ने काम आवश्यक रहेको थापा बताउँछन् ।

‘नेपालमा हुने प्रतियोगिताको क्यालेन्डर पहिले नै तयार गरेर अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्नुपर्छ। दूतावास, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामग्री निर्मातासँग सहकार्य गरेर नेपाललाई खेल पर्यटनको गन्तव्यका रूपमा चिनाउन सकिन्छ,’ उनले भने।

नेपालसँग साहसिक खेल पर्यटनको क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै थापाले अन्तर्राष्ट्रिय बजारमा यसको प्रचार आवश्यक रहेको बताए ।

उनका अनुसार नेपालमा उच्च हिमाली म्याराथन, साइकल दौड, याक अट्याक जस्ता साहसिक प्रतियोगिता, ¥याफ्टिङ, कायकिङ र पर्वतीय खेलले अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना बोकेका छन् ।

‘उच्च हिमाली म्याराथन, साइकलिङ, ¥याफ्टिङ, कायकिङ, स्की र पर्वतीय खेलका लागि नेपाल निकै राम्रो गन्तव्य हो,’ उनले भने।

खेलकुदले देशको पहिचान निर्माण गर्ने माध्यमसमेत भएकाले सरकारले यसलाई प्राथमिकतामा राखि काम गर्नुपर्ने छ । विश्वका कतिपय साना देशले खेलकुदमार्फत आफ्नो अन्तर्राष्ट्रिय पहिचान बनाएको उदाहरण दिँदै थापाले नेपालले पनि खेललाई राष्ट्रिय ब्रान्डिङसँग जोड्नुपर्ने बताए।

‘खेलकुदले देशको नाम विश्वभर पु¥याउँछ। धेरै साना देशले खेलमार्फत आफ्नो पहिचान बनाएका छन्। नेपालले पनि खेललाई पर्यटन र अर्थतन्त्रसँग जोडेर अघि बढ्नुपर्छ,’ उनले भने ।

खेल पर्यटन र अर्थतन्त्र

खेल पर्यटन विकाससँगै खेलाडी उत्पादन, रोजगारी सिर्जना र नयाँ आर्थिक अवसरसमेत विस्तार हुने सम्भावना छ । विद्यालयस्तरबाटै खेल संस्कृतिको विकास गर्न सके प्रतिभावान खेलाडी उत्पादन हुने र उनीहरू अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने थापाको भनाइ छ

उनका अनुसार खेलाडीको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई देशको पहिचानसँग जोडिन्छ। अन्तर्राष्ट्रिय स्तरमा सफल खेलाडीले देशको नाम चिनाउने, प्रायोजन ल्याउने र आर्थिक गतिविधि बढाउने भूमिका खेल्न सक्छन्।

नेपालमा खेल पर्यटनको सम्भावना ठूलो भए पनि त्यसलाई व्यवस्थित योजनासहित अघि बढाउन आवश्यक देखिन्छ । प्राकृतिक सम्पदा, साहसिक गतिविधि र बढ्दो खेल संस्कृतिले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने आधार दिएको छ ।

तर सम्भावनालाई वास्तविक आर्थिक लाभमा बदल्न राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, अन्तर्राष्ट्रियस्तरको पूर्वाधार र प्रभावकारी प्रचार आवश्यक छ । खेल र पर्यटनलाई एउटै रणनीतिमा जोड्न सके नेपालले परम्परागत पर्यटनसँगै खेल पर्यटनबाट पनि ठूलो आर्थिक लाभ लिन सक्ने सरोकारवालाहरूको विश्वास छ ।

 

 





dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्