Skip to content

सैन्य आधार तालिम सम्पन्न, २ हजार ९६८ जना दीक्षित

nmb bank inside

काठमाडौं । नेपाली सेनाका तालिम केन्द्र तथा विभिन्न युनिटमा सञ्चालित नौ महिने सैन्य आधार तालिम सम्पन्न भएको छ । तालिम पूरा गरेका २ हजार ५०२ पुरुष र ४६६ महिला गरी कुल २ हजार ९६८ जना सैन्य दीक्षित भएका छन् ।

नेपाली सेनाका सैन्य तालिम केन्द्रसहित विभिन्न २२ स्थानमा सञ्चालन भएको तालिमको समापनका अवसरमा छुट्टाछुट्टै अन्तिम दलेल कवाज आयोजना गरिएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरूले अन्तिम दलेल कवाज प्रस्तुत गरेका थिए ।

श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरूको अन्तिम दलेल कवाज श्री नं. १६ बाहिनी अड्डामा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी प्रेमबहादुर पुनले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए । 

त्यस्तै, श्री नं. २ सैन्य तालिम केन्द्र, सैनामैनामा आयोजित समापन कार्यक्रममा मध्य पश्चिम पृतनापति उपरथी हिम्मतबहादुर विष्टले कवाज निरीक्षण गरी उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए । नेपाली सेनाका विभिन्न बाहिनी, शिक्षालय तथा गणमा आयोजित कार्यक्रममा सम्बन्धित रथीवृन्दहरूले कवाज निरीक्षण गरेका थिए ।

समापन समारोहमा विभिन्न जिल्लाका तथा स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नवनियुक्त सिपाहीका परिवार तथा आफन्त र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्