भौगोलिक रूपले सम्पन्न मधेश शैक्षिक रुपले किन पछाडि ?
संजय यादप, नेपाल न्यूज बैंक
कुनै पनि समाजलाई दीर्घकालसम्म आफ्नो नियन्त्रणमा राख्न चाहने शासकले सबैभन्दा पहिले त्यहाँको शिक्षा प्रणाली कमजोर बनाउँछ भन्ने राजनीतिक मान्यता छ । शिक्षित नागरिकले प्रश्न गर्छ, आफ्नो अधिकार खोज्छ र शासकलाई जवाफदेही बनाउँछ । तर चेतनाको अभाव भएको समाजलाई आश्वासन र प्रलोभनमा अल्झाउन सजिलो हुन्छ । समथर भूभाग, उर्वर कृषि भूमि र यातायातको सहज पहुँच हुँदाहुँदै पनि मधेश प्रदेश शैक्षिक सूचकांकमा किन सबैभन्दा पछाडि छ भन्ने प्रश्नलाई यही यथार्थको कसीमा राखेर हेर्नुपर्ने भएको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले मधेशको शैक्षिक अवस्थाको कहालीलाग्दो चित्र देखाउँछ । देशको कुल साक्षरता दर ७६.३ प्रतिशत रहँदा मधेशको साक्षरता ६३.५ प्रतिशतमा सीमित छ । भौगोलिक रूपमा विकट मानिने कर्णाली (७६.२ प्रतिशत) र सुदूरपश्चिम (७६.३ प्रतिशत) समेत मधेशभन्दा निकै अगाडि छन्। अझ चिन्ताजनक पक्ष लैङ्गिक विभेद हो, जहाँ पुरुष साक्षरता ७२.५ प्रतिशत हुँदा महिलाको साक्षरता ५४.७ प्रतिशत मात्र छ । देशका अधिकांश जिल्ला पूर्ण साक्षर घोषणा भइसक्दा पनि मधेशका आठवटै जिल्लाले यो लक्ष्य छुन नसक्नु राज्य, प्रादेशिक नेतृत्व र समाजकै लागि लज्जाको विषय हो ।
नेपालको संविधानको धारा ३१ ले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । तर संविधान जारी भएको एक दशक बितिसक्दा पनि मधेशका विपन्न, दलित र सीमान्तकृत समुदायका बालबालिकाले व्यवहारमा गुणस्तरीय शिक्षा पाउन सकेका छैनन् । सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चापअनुसार शिक्षक दरबन्दी छैन । एउटै कक्षाकोठामा डेढ–दुई सय विद्यार्थी कोचेर पढाउनुपर्ने बाध्यताका कारण सिकाइ उपलब्धि खस्कँदो छ । पहिलो घण्टी हाजिरीमै बित्ने र त्यसपछि विद्यार्थी कक्षा छाडेर बाहिरिने प्रवृत्तिले विद्यालय शिक्षाको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ ।
संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले विद्यालय शिक्षाको व्यवस्थापन र सुधारको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिएको छ । तर अधिकांश स्थानीय सरकारले शिक्षालाई प्राथमिकतामा राख्नुको साटो राजनीतिक भर्ती केन्द्र बनाएको आरोप लाग्ने गरेको छ । योग्य र प्रतिस्पर्धी शिक्षक छनोट गर्नुभन्दा कार्यकर्ता व्यवस्थापनका लागि करारमा शिक्षक नियुक्त गर्ने होडबाजी चलेको छ । अर्कोतर्फ, विद्यालय व्यवस्थापन समितिहरू शैक्षिक सुधारको थलो बन्नुको साटो दलीय प्रतिष्ठा र गुटबन्दीको अखाडा बनेका छन् । विडम्बना त के छ भने, सामुदायिक विद्यालयको व्यवस्थापन हाँक्ने पदाधिकारीहरूकै छोराछोरी निजी विद्यालयमा पढ्छन्, जसले गर्दा सार्वजनिक शिक्षा सुधारमा उनीहरूको अपनत्व देखिँदैन ।
विकासको नाममा विद्यालयका ठूला भवन र गेट निर्माण गर्ने तर भित्र पढाउने शिक्षक, पुस्तकालय र प्रयोगशालाको व्यवस्था नगर्ने प्रवृत्ति मधेशका जनप्रतिनिधिमा हाबी छ । विकासलाई केवल भौतिक संरचना र कमिसनसँग जोडेर हेर्ने मानसिकताले बालबालिकाको भविष्यमाथि खेलबाड भइरहेको छ ।
यद्यपि, मधेशको शैक्षिक दुरावस्थाको दोष ऐतिहासिक रूपमा राज्यसत्ता चलाउने शासक वा मधेशको नाममा राजनीति गरेर सत्तामा पुगेका नेताहरूलाई मात्र दिएर पुग्दैन। यसमा नागरिक समाज, अभिभावक र आम समाजको प्राथमिकता पनि उत्तिकै जिम्मेवार छ । मधेशका गाउँटोलमा पुस्तकालय, प्राविधिक शिक्षालय वा अस्पताल निर्माणका लागि बजेट माग्नुको साटो मेला–महोत्सव, अर्केस्ट्रा र रातभर चल्ने मनोरञ्जनका कार्यक्रममा लाखौँ खर्च गर्ने होडबाजी चल्ने गरेको छ । पुस्तकालय खोल्न चन्दा माग्दा पन्छिने समाज मनोरञ्जनका नाममा हजारौँ खर्चन तयार हुन्छ ।
नागरिक र जनप्रतिनिधिबीचको सम्बन्ध पनि सार्वजनिक सेवाको गुणस्तरभन्दा व्यक्तिगत स्वार्थ र सामाजिक प्रतिष्ठामा सीमित हुन पुगेको छ । आफ्नो वडाको विद्यालयमा शिक्षक किन छैनन् वा अस्पतालमा चिकित्सक किन आउँदैनन् भनेर प्रश्न गर्नुको साटो, आफ्नो छोराछोरीको विवाह वा भोजभतेरमा मेयर वा सांसद उपस्थित भएको तस्बिर सामाजिक सञ्जालमा राखेर गर्व गर्ने संस्कृति मौलाएको छ । मासु–चिउरा र व्यक्तिगत आतिथ्यमा रमाएर विकास निर्माणमा हुने अनियमितताप्रति मौन बस्ने बुद्धिजीवी र नागरिक समाजको प्रवृत्तिले भ्रष्टाचारलाई सामाजिक स्वीकृति दिइरहेको छ ।
अभिभावकहरूको व्यस्तता र उदासीनताका कारण विद्यालय जाने उमेरका किशोरकिशोरीहरू कुलत र दुव्र्यसनमा फस्ने क्रम पनि बढ्दो छ। बालबालिकालाई विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पूरा हुँदैनस उनीहरूको सिकाइ र सङ्गतको निगरानीसँगै युवालाई खेलकुद र सीपमूलक गतिविधिमा जोड्ने वातावरण स्थानीय तह र समाजले बनाउनुपर्छ ।
अन्त्यमा, मधेशमा स्रोतसाधन वा नेतृत्वको कमी होइन, बरु उपलब्ध स्रोतको सही परिचालन र नागरिक चेतनाको खाँचो छ । ऐतिहासिक विभेद र राजनीतिक अकर्मण्यतालाई चिर्न अब समाजले आफ्नो प्राथमिकता बदल्नै पर्छ । जुन दिन मधेशका नागरिकले अर्केस्ट्राभन्दा पुस्तकालय, भोजभतेरभन्दा गुणस्तरीय शिक्षा र नेताको व्यक्तिगत आतिथ्यभन्दा सार्वजनिक जवाफदेहिता खोज्न थाल्नेछन्, त्यही दिनबाट मधेशको वास्तविक रूपान्तरण सुरु हुनेछ । किनकि मधेशको भविष्य नेताको चर्को भाषणमा होइन, आज सामुदायिक विद्यालयको भुइँमा बसेर पढिरहेका बालबालिकाको हातमा छ ।
(लेखक यादव, गण्डकी विश्वविद्यालय, पोखरामा कानुन संकायको दसौँ सेमेस्टरमा अध्ययनरत छात्र हुन् ।)
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्