भेरी नदीको टापुमा फसेका चार जनाको हेलिकोप्टरबाट उद्धार
सुर्खेत । भेरी नदीमा पानीको बहाव बढेपछि नदीको बीच टापुमा फसेका चार जनाको नेपाली सेनाको हेलिकोप्टरबाट सकुशल उद्धार गरिएको छ ।
जाजरकोटको भेरी नगरपालिका–१३ कुदुस्थित भेरी नदीमा दाउरा निकाल्न गएका चार जना आइतबार दिउँसो नदीको बीच टापुमा फसेका थिए । नदीमा पानीको बहाव बढेपछि उनीहरू टापुमा फसेको खबर प्रहरीलाई प्राप्त भएको थियो ।
उद्धार गरिनेमा भेरी नगरपालिका–१३ कुदुका ३२ वर्षीय नन्दलाल विक, ४१ वर्षीय खिमबहादुर गिरी, ३४ वर्षीय विशाल सुनार र ३२ वर्षीय धनबहादुर सिंह ठकुरी रहेका छन् ।
पानीको बहाव बढेपछि टापुमै फसे
प्रारम्भिक रूपमा चार जना गाई चराउन गएको भनिए पनि उद्धारका लागि पुगेको सुरक्षा टोलीले बुझ्दा उनीहरू भेरी नदीमा दाउरा निकाल्न गएको खुलेको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव बढेपछि उनीहरू फर्किन नसकी बीच टापुमै फसेका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कुदुबाट प्रहरी सहायक निरीक्षक गणेश बटालाको कमाण्डमा तीन जना, जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीको कमाण्डमा नौ जना, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर जाजरकोटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा १० जना र भवानी दल गण जाजरकोटबाट प्रमुख सेनानी गोविन्द थापाको कमाण्डमा १४ जनाको टोली उद्धार सामग्रीसहित परिचालन भएको थियो ।
प्रमुख जिल्ला अधिकारी नवराज बरालसहित ३६ जनाको सुरक्षा टोली घटनास्थलतर्फ खटिएको थियो । घटनास्थल प्रहरी चौकी कुदुबाट करिब एक किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट करिब ११ किलोमिटर दक्षिणमा पर्छ ।
उद्धारका लागि डोल्पाबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थल पुगेको थियो । आइतबार साँझ करिब ६ः२० बजे हेलिकोप्टरबाट चारै जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धारपछि चारै जनालाई घरतर्फ पठाइएको छ । उद्धारमा खटिएको सेनाको हेलिकोप्टर सुर्खेततर्फ फर्किएको प्रहरीले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्