Skip to content

कांग्रेसभित्र कर्णालीको आवाज बुलन्द गर्न चाहान्छु : नरेशविक्रम ढकाल

nmb bank inside

कांग्रेसभित्र कर्णालीको आवाज बुलन्द गर्न चाहान्छु : नरेशविक्रम ढकाल

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार कर्णालीका नरेशविक्रम ढकालले पार्टीभित्र कर्णालीको आवाज बुलन्द गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । 

नेपाल न्यूज बैंकसँग कुरा गर्दै ढकालले कांग्रेस बृहत् लोकतान्त्रिक पार्टी भए पनि कर्णाली प्रदेश अझै पछाडि परेको भन्दै कर्णालीका समस्या पार्टीको नीति, विधि र पद्धतिमा समेट्न आफूले भूमिका खेल्ने बताए । 

उनले भने, ‘कांग्रेस वृहत् लोकतान्त्रिक पार्टी भएता पनि अहिले पनि धेरै पार्टीहरूको नजरमा कर्णाली प्रदेश पछाडि छ । कर्णालीको आवाज बुलन्द गर्न म चाहन्छु। कर्णालीका समस्याहरू उठाउन चाहन्छु । पार्टीको नीति, विधि तथा पद्धतिबाट कर्णालीलाई समेट्न चाहन्छु ।’

आफूले कतार र साउदी अरबको राजदूतका रूपमा काम गरिसकेको तथा सरकारी र गैरसरकारी क्षेत्रमा समेत अनुभव रहेको उल्लेख गर्दै ढकालले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र ज्ञानलाई कांग्रेसको सम्पत्तिका रूपमा उपयोग गर्न चाहेको बताए । 

‘पूर्णरूपमा नेपालको लोकतान्त्रिकीकरणका लागि मेरो आवाज बुलन्द गर्छु। म आफैँ कतार र साउदी अरबको राजदूत भइसकेको छु । मेरो अन्तर्राष्ट्रिय स्तरको अनुभव छ। नेपालमा पनि गैरसरकारी र सरकारी क्षेत्रमा मैले काम गरेको छु । त्यस कारण मेरो अनुभव र ज्ञानलाई नेपाली कांग्रेसको सम्पत्ति बनाउन चाहन्छु,’ उनले भने । 

उनले पार्टीभित्र नीति, विधि र पद्धतिलाई बलियो बनाउन आफ्नो निरन्तर प्रयास रहने बताए ।

कांग्रेस सुध्रिँदै गएको छ : जोशी

यसैगरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिमको डोटीबाट केन्द्रीय सदस्यका उम्मेदवार पदमराज जोशीले कांग्रेस विगतको तुलनामा सुधार हुँदै गएको बताएका छन् । 

जोशीले लोकतन्त्रमा आस्था राख्ने नागरिक कांग्रेसको चारतारे झण्डा र रुख चिह्नसँग जोडिने बताए । उनले कांग्रेस अझै सुधार हुँदै जाने र तीव्र गतिमा अघि बढ्ने दाबी गरे ।

उनले भने, ‘जहाँ चार तारे झण्डा छ, जहाँ रुख चिह्न हुन्छ, त्यहाँ लोकतन्त्रमा आस्था राख्ने मान्छे कांग्रेस भएर उभिन्छ । आजको कांग्रेस हिजोको भन्दा सुध्रिएको छ। कांग्रेस सुध्रिँदै जाने छ । अब कांग्रेस द्रुत गतिमा पनि अगाडि बढ्छ ।’

जोशीले ३५ वर्षभन्दा कम उमेरका युवालाई समेटेर कांग्रेस अघि बढिरहेको बताए । यसपटकको निर्वाचनमा प्यानल नभएको भन्दै उनले योग्य र राम्रो व्यक्तिलाई छनोट गरेर नेतृत्वमा पुर्‍याउने अभियानमा आफूहरू लागेको बताए ।

‘३५ वर्षभन्दा मुनीका युवालाई समेटेर कांग्रेस अगाडि बढ्दैछ। चुनावमा यो पटक प्यानल छैन । राम्रो व्यक्तिलाई छानेर नेता बनाउने काममा हामी लागेका छौँ। त्यहीअनुसार पार्टीको नीति छ,’ उनले भने ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्