दशैँमा सर्वाधिक गुञ्जिने सात गीत
काठमाडौं । दशैँ आएको छनक कसरी मिल्छ, के गर्दा तपाईंले दशैं आएको महसुस गर्नुहुन्छ ? मालश्री धुन सुन्दा वा आकाशमा चङ्गाहरू उडेको देख्दा ? त्यसबाहेक कतिपय गीत छन्, जसले तपाईंको घरमा दशैंको रौनक ल्याइदिन्छन् ।
दशैँ आउनु केही दिन अगाडिदेखि नै रेडियो–टिभीमा मङ्गल धुन बज्न थाल्छ । त्यसरी बज्ने दशैं गीतले झनै रौनकता थपिदिन्छ । नेपाली गीत सङ्गीतको इतिहासमा दशैँसम्बन्धी गीतले ठूलो महत्व राखेको छ । सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडपर्वसम्बन्धी गीत गाउने गरेका छन् । धेरै दशैँ गीत बज्ने गरेपनि दशैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ ।
विछोडको पीडा नसकी खप्न दशैंको बेलामा…
दशैँसम्बन्धी गीत भन्ने वित्तिकै यो गीतलाई सम्झिन्छौँ । कालजयी र नेपालीको दशैं झल्काउने आलाप बजेपछि दशैं आइसकेको अनुभूति हुन्छ । यो गीत दशैँसम्बन्धी पुरानो चर्चित गीत हो । सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए । त्यसपछि कलकत्तामा नारायण गोपाल र दिलमाया खातीको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो ।
नमुछे आमा दहीमा टीका…
दशैँ आउनेबित्तिकै बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ । नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत वि.स.२०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएपछि दशैं गीतको चर्चित गीत बन्यो ।
भारतीय सेनामा रहेका रायमाझीका दाजु लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ ताका यो गीत लेखेका थिए । नेपाली जनजीवनलाई बोकेको यो गीत यथार्थमा पनि मन छुने बनेको छ ।
दशैँ नै हो कि यो मेरो दशा फर्किआएको…
यो गीत पनि दशैँक गीतमध्येको चर्चित गीत हो । योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दशैँ गीतकै फरक स्वाद पाइन्छ । बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ । न्यु बज्राचार्यको सङगीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए । वि.स. २०५० ताका संवाद समेत हालेर बनेको यो गीत दशैँको परिचय जस्तै बनेको छ ।
यसपाली दशैँमा ठूलो दाजु आउने रे…
कुल पोखरेलको स्वरमा रहेको यो गीत दशैँसम्बन्धी गीतको अर्को चर्चित गीत हो । कूल पोखरेलको सम्झनामा अन्य गायकले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन् । पोखरेललाई दशैँमा मज्जाले सम्झाउने गीत हो यो । नेपाली गीत सङगीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालबालिकाले समेत खुब मन पराउने गरेका छन् ।
यो दशैँमा म घर आइन…
नेपाली लोकदोहोरी गीतमा दशैँ गीत भन्ने वित्तिकै यो गीतको सम्झना आइहाल्छ । एसएसएस म्यूजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन् । लोकदोहोरी मन नपराउनेले पनि यो दशैं दोहोरीमा ऐतिहासिक गीतको रुपमा लिएका छन् । परदेशबाट घर फर्किन नसकेका नेपालीको पीडा यो गीतमा समेटिएको छ ।
रातो टीका दशैँको जमरा…
नेपाली फिल्म पनि दशैँ तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ । नेपाली फिल्म ‘मनमन्दिर’ मा समावेश यो गीतले पनि दसैँको झल्को ल्याउँछ । अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह नृत्य रहेको यो गीत अहिले पनि दशैँमा उत्तिकै बज्ने गर्दछ ।
दशैं आयो…
नेपाली फिल्म ‘मुग्लान’ मा रहेको ‘दशैँ आयो’ गीत पनि दशैंका बेला अत्यधिक बज्ने गीतमा पर्दछ । पछिल्लो पुस्ताको युवामा यो झनै चर्चित गीत हो । सुन्न मात्र होइन दशैंका कार्यक्रममा रमाइलोसँग यो गीतमा युवा पुस्ता नाचिरहेका हुन्छन् । मुग्लान गएका युवाहरूले विशेषत यो गीतमा बढी जोडिएको महससु गर्ने गरेका छन् । यो गीतमा अभिनेता दीलिप रायमाझी, सुशील क्षेत्री, अभिनेत्री विपना थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
वर्ष र दिनमा लै लै…
सुगम पोखरेलको स्वरमा रहेको यो गीत ‘दशैं तिहार’ पनि युवा पुस्ताले औधी रुचाएको दशैँ गीत हो । रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि स्रोताले दशैँ गीतको फरक स्वाद लिने गरेका छन् । दशैँमा मात्रै नभएर अन्य समयमा पनि यो गीत पोखरेलले विभिन्न कार्यक्रममा गाउने गरेका छन् । नेपाली परिवेशमा यो गीतमा पनि परदेशीको व्यथालाई पनि समेटिएको छ । यो गीत दशैँदेखि तिहारसम्म नै गुञ्जिने गर्छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्