Skip to content

दशैँको अघिल्लो दिन सुनसान बन्दै वीरेन्द्रनगर, सुरक्षामा ५ हजार बढी प्रहरी

nmb bank inside

हेमन्त केसी

सुर्खेत । दशैँको अघिल्लो दिन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडक र बसपार्क सुनसान बन्दै गएका छन् । सामान्य दिनमा यात्रु र सवारीसाधनको चहलपहलले व्यस्त रहने राजधानीमा अहिले सार्वजनिक यातायातको आवागमन पातलिएको छ । बसपार्कमा यात्रुको संख्या घटेको छ भने कर्णालीका प्रमुख सडकमा पनि सवारीसाधन कम गुडिरहेका छन् ।

कर्णाली करिडोर, भेरी करिडोर र मदन भण्डारी राजमार्गमा चल्ने सवारीसाधनको संख्या घटेको छ । वीरेन्द्रनगर बसपार्कमा समेत यात्रु र सवारीसाधनको चहलपहल न्यून देखिन्छ। सवारीसाधन कम भएपछि बसपार्कबाट बाहिरिने स्थानमा ताला लगाइएको छ ।

दशैँको अघिल्लो दिन राजधानीको यातायात क्षेत्रमा चहलपहल घट्दै जाँदा सम्भावित सडक दुर्घटना, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले भने सुरक्षा निगरानी बढाएको छ । कर्णाली प्रदेशभर चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत ५ हजार ३१४ जना प्रहरी परिचालन गरिएको छ ।

वीरेन्द्रनगरमा मध्यरातसम्म ट्राफिक जाँच

वीरेन्द्रनगरमा रात्रिकालीन ट्राफिक चेकजाँचलाई तीव्र बनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार वीरेन्द्रनगरमा दुई सिफ्टमा रात्रिकालीन चेकजाँच भइरहेको छ ।

पहिलो सिफ्टमा बेलुका ६ बजेदेखि राति १० बजेसम्म र दोस्रो सिफ्टमा राति १० बजेदेखि बिहान २ बजेसम्म चेकजाँच गरिन्छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र प्रदेश ट्राफिक प्रहरी कार्यालयले आलोपालो गरी वीरेन्द्रनगर बजार क्षेत्रका तीन–तीन स्थानमा एकैसाथ जाँच गर्दै आएका छन् ।

‘बजार क्षेत्रका जोखिमयुक्त, संवेदनशील र बढी दुर्घटना हुने स्थानलाई लक्षित गरेर संयुक्त ट्राफिक जाँच गर्दै आएका छौँ,’ प्रहरी निरीक्षक शाहीले भने।

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा रातिको समयमा दुर्घटना बढेपछि चेकजाँच अभियान थालिएको उनले बताए। उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट मात्रै ३० जना प्रहरी रात्रिकालीन जाँचमा खटिएका छन्।

बसपार्क गेट, कपासे र बाङ्गेसिमललगायत उपत्यकाबाट बाहिरिने नाकामा सवारी चालकको मापसे परीक्षणसँगै सवारीसाधनका कागजपत्रसमेत जाँच गर्ने गरिएको छ।

‘कतिपय चालक बिहानै मापसे गरेको अवस्थामा समेत भेटिने गरेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर मुद्दासमेत चलाएका छौँ,’ शाहीले भने, ‘गाडीमा राखिएका अतिरिक्त सिट हटाउनेदेखि चालक परिवर्तन गर्नेसम्मका काम गरेका छौँ।’

दुर्घटनासँगै चोरी नियन्त्रणमा पनि जोड

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार रात्रिकालीन चेकजाँचको उद्देश्य सडक दुर्घटना न्यूनीकरण गर्नुका साथै चोरी, लुटपाट र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्नु पनि हो।

‘रातिको समयमा हुने सवारी दुर्घटना रोक्नका लागि हामीले यो अभियान थालेका हौँ। प्रदेशका सहरी क्षेत्रमा जहाँ र जुनसुकै बेला पनि ट्राफिक चेकजाँच हुन सक्छ,’ रिजालले भने, ‘मुख्य राजमार्ग र भित्री सडक खण्डमा समेत जाँच गरिरहेका छौँ।’

चाडपर्वका समयमा हुन सक्ने लापरबाही र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रदेशका १० वटै जिल्लाका सहरी तथा मुख्य बजार क्षेत्रमा अभियान सञ्चालन भइरहेको उनले बताए ।

रात्रिकालीन चेकजाँचका लागि प्रदेशभर २०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ। ट्राफिक प्रहरीसँगै सोही संख्यामा नेपाल प्रहरीसमेत खटिएको रिजालले जानकारी दिए ।

एक साताअघिदेखि सञ्चालनमा आएको अभियानका क्रममा वीरेन्द्रनगरका विभिन्न स्थानबाट मात्रै २०० भन्दा बढी सवारी चालक कारबाहीमा परेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।

रात्रिकालीन गस्ती र चेकजाँचले सडक दुर्घटनाको जोखिम घटाउनुका साथै बजार क्षेत्रमा हुने चोरी तथा लुटपाट नियन्त्रणमा समेत सहयोग पुग्ने प्रहरीको अपेक्षा छ । बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, धार्मिक तथा सांस्कृतिक सम्पदा, पर्यटकीय स्थल, सरकारी कार्यालय र महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा समेत यसले सहयोग पु¥याउने प्रहरीको भनाइ छ ।

प्रदेशभर ५ हजार ३१४ प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार र छठलाई लक्षित गरी ‘चाडपर्व सुरक्षा योजना–२०८३’ लागू गरेको छ। गत असोज २५ देखि लागू भएको सुरक्षा योजना कात्तिक ३० गते छठ पर्वपछि समाप्त हुने कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

‘सुरक्षा योजनाअनुसार चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलाप नियन्त्रण गरिनेछ । आमनागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइनेछ,’ सापकोटाले भने ।

प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट गरी १ हजार ४६२ वटा ड्युटीमा ५ हजार ३१४ जना प्रहरी परिचालन गरिएको उनले बताए। कर्णालीमा कुल ५ हजार ५०७ प्रहरी जनशक्ति रहेकामा ९६ प्रतिशतलाई प्रत्यक्ष रूपमा चाडपर्व सुरक्षा ड्युटीमा खटाइएको प्रदेश प्रहरीले जनाएको छ ।

सुरक्षा योजनाअन्तर्गत प्रदेशभर २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती र ६० वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) परिचालन गरिएका छन्। दुर्गम क्षेत्रसमेत समेटेर १४८ वटा पैदल गस्ती टोली तयार गरिएको छ। लामो तथा छोटो दूरीका २०४ वटा गस्ती सञ्चालन गरिनेछ भने १७६ स्थानमा पिकेट राखिने प्रदेश प्रहरीको योजना छ।

त्यस्तै, ६७ स्थानमा सवारीसाधनको नियमित, विशेष तथा आकस्मिक चेकजाँच र ४७ स्थानमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच गरिनेछ। महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३८ स्थानमा व्यवस्था मिलाइएको छ भने ३७ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिनेछ।

प्रदेश प्रहरीले २४ अति संवेदनशील स्थानमा माइकिङमार्फत प्रचारप्रसार, ३१ स्थानमा बैंक तथा वित्तीय संस्थाको सुरक्षा र बजार अनुगमन तथा १० जना विशिष्ट व्यक्तिको सुरक्षासमेत व्यवस्था गरेको जनाएको छ। यसबाहेक ४९४ वटा अन्य विभिन्न ड्युटीसमेत सञ्चालन गरिनेछ।

जुवातासदेखि अनलाइन सट्टेबाजीसम्म निगरानी

चाडपर्वका समयमा हुन सक्ने जुवातास, डाइस, लङ्गुर बुर्जा, कौडा तथा अनलाइन सट्टेबाजी नियन्त्रणलाई पनि सुरक्षा योजनामा प्राथमिकता दिइएको छ। सहरबजारदेखि विकट ग्रामीण बस्तीसम्म प्रहरी परिचालन गरेर सम्भावित आपराधिक गतिविधिमाथि निगरानी बढाइएको प्रदेश प्रहरीले जनाएको छ।

सुरक्षा योजना उल्लङ्घन गरी अशान्ति फैलाउने गतिविधि भएमा परिस्थितिअनुसार सन्तुलित बल प्रयोग गर्ने नीति लिइएको छ। त्यसका लागि सुरक्षा योजनामा १ हजार ५३० थान घातक हतियार र २ हजार २७० थानभन्दा बढी गैरघातक साधन (लाठी) परिचालन गर्ने उल्लेख छ।

दशैँको अघिल्लो दिन वीरेन्द्रनगरका सडक र बसपार्कमा सार्वजनिक यातायातको चहलपहल घट्दै गएको छ । अर्कोतर्फ, चाडपर्वका समयमा हुन सक्ने दुर्घटना र आपराधिक गतिविधि रोक्न प्रहरीले प्रदेशभर सुरक्षा निगरानी बढाएको छ। यात्रुको सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र शान्ति सुव्यवस्था कायम राख्न चाडपर्व सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रदेश प्रहरीले जनाएको छ।  

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्