Skip to content

कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण महत

nmb bank inside

कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नेपाली कांग्रेसको आत्मा शेरबहादुर देउवाले नेतृत्व गरेको पार्टीमा रहेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसको देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टी विभाजन आफूहरूले नगरेको, बरु अर्को पक्षले गरेको आरोप लगाए ।

उनले पार्टीको नियमित अधिवेशन वैशाखमा गर्ने सहमति केन्द्रीय समितिबाटै भएको भन्दै त्यसअनुसार अधिवेशन भएको भए नयाँ नेतृत्व निर्वाचित भएर आउन सक्ने बताए ।

उनले भने, ‘तपाईंहरूलाई कतिपयले भन्छन् रूख र झण्डा त उता छ । रूखको पछाडि नै जानुपर्‍यो, झण्डाको पछाडि जानुपर्‍यो भन्ने कुरा आउँछ । मूलभूत रूपमा कुरा पार्टीलाई विभाजन हामीले गरेको होइन । पार्टीलाई विभाजन उहाँहरूले गरेको हो।’

महतले अर्को पक्षले कुनै सर्त र आधारमा पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदै त्यसको प्रभाव निर्वाचन आयोगदेखि न्यायिक निकायसम्म पुगेको बताए । सर्वोच्च अदालतले यसअघि भएका निर्णयमा कमी–कमजोरी र त्रुटि रहेको स्वीकार गरिसकेको उल्लेख गर्दै उनले न्यायको पक्षमा निर्णय आउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अझै पनि यो देशमा न्याय मरेको छैन भने सर्वोच्च अदालतको रिभ्युमार्फत हामीले नै आधिकारिकता पाउँछौँ। जे भए तापनि मूल कुरो के हो भने नेपाली कांग्रेसको आत्मा हामीमा छ । शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा छ। नेपाली कांग्रेसको जुन विचार छ, सिद्धान्त छ, आदर्श छ, त्यो विचार र सिद्धान्तलाई हामीले बोकेका छौँ।’

उनले देउवा नेतृत्वको कांग्रेसले पार्टीको विचार, सिद्धान्त, आदर्श र विधि–प्रक्रियालाई आत्मसात् गरेको दाबी गरे । अर्को पक्षले प्रजातान्त्रिक समाजवादी विचारसमेत छाडेको आरोप लगाउँदै उनले अहिले ‘सामाजिक प्रजातन्त्र’को कुरा गर्न थालेको बताए ।

महतले भने, ‘उहाँहरूले त यतिसम्म गरिसक्नुभयो, विधि–प्रक्रियालाई नेपालमा प्रवेश गरायो, प्रजातान्त्रिक समाजवादी विचारलाई पनि उहाँहरूले छाडिसक्नुभयो। उहाँहरूले अहिले सामाजिक प्रजातन्त्र भन्न थाल्नुभएको छ। राप्रपाको पनि सामाजिक प्रजातन्त्र, गगनजीहरूको नेतृत्वको कांग्रेसको पनि सामाजिक प्रजातन्त्र। भनेपछि, उहाँहरूले विचार छोडिसक्नुभयो।’

उनले कांग्रेसमा सामूहिक छलफल र सबै कार्यकर्ताको भावनालाई समेटेर निर्णय गर्ने परम्परा रहेको तर अहिले अर्को पक्ष व्यक्तिवादी बाटोमा अघि बढेको आरोप लगाए ।

उनले भने, ‘सबै नेताहरूबीचमा छलफल भएर देशैभरिको कार्यकर्ताको भावनालाई मध्यनजर राखेर निर्णय गर्ने पद्धति जुन नेपाली कांग्रेस पार्टीमा थियो, एकल, आफूखुसी शेरबहादुर दाइले कहिल्यै पनि निर्णय गर्नुहुँदैनथ्यो। सबैको कुरा सुनेर सबैलाई एकोमोडेट गरेर एउटा निष्कर्षमा पुग्नुहुन्थ्यो।’

महतले अहिलेको नेतृत्वमा नेपाली कांग्रेसको संस्कार, विचार, सिद्धान्त र विधि नरहेको जिकिर गर्दै पार्टी व्यक्तिवादमा परिणत भएको टिप्पणी गरे ।

उनले भने, ‘नेपाली कांग्रेसको संस्कार पनि त्यहाँ छैन, विचार र सिद्धान्त पनि त्यहाँ छैन, र विधि पनि त्यहाँ छैन। त्यो व्यक्तिवादमा परिणत भइसकेको छ। विचार त्यहाँ छैन, नेपाली कांग्रेसको आत्मा त्यहाँ छैन।’

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्