Skip to content

१४२औँ फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ सम्पन्न (फोटो/भिडियो)

nmb bank inside

१४२औँ फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ सम्पन्न (फोटो/भिडियो)

तस्बिरः दिलकुमार लिम्बू,नेपाल न्यूज बैंक

ताप्लेजुङ । किरात धर्मदर्शनका गुरु, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्ती ताप्लेजुङमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइएको छ ।

१४१ वर्ष पूरा गरी १४२औँ वर्षमा प्रवेश गरेको अवसरमा कात्तिक २५ गते ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

फुङ्लिङस्थित विहिबारमा रहेको माङहिममा पूजापाठ गरी विश्व शान्ति तथा सद्भाव र्‍याली निकालिएको थियो । र्‍याली तोक्मेडामा पुगेर महागुरु फाल्गुनन्दको प्रतिमामा माल्यार्पण गरिएको थियो । त्यसपछि शुभकामना आदानप्रदान तथा च्याब्रुङ नाच प्रदर्शन गरिएको किरात याक्थुङ चुम्लुङका सचिव सरोज कङ्लिवाले बताए ।

कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाम, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझालगायतले महागुरु फाल्गुनन्दले देखाएको मार्गले समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । उनीहरूले महागुरुको योगदानको चर्चा गर्दै जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

महागुरु फाल्गुनन्दले समाज सुधारका लागि १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा तत्कालीन लिम्बुवानका गन्यमान्य सुब्बा, सुवाङ्गी, कारबारी तथा बुद्धिजीवीहरूलाई भेला गराई सत्यधर्म मुचुल्का निर्माण गरेका थिए ।

समाज सुधार अभियानमा आजीवन समर्पित महागुरुलाई तत्कालीन राज्यले जीवनकालमा राजद्रोही, देशद्रोही तथा पूर्व लिम्बुवानको राजा बन्न खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र विभिन्न दुःख तथा पीडा दिने गरेको थियो । तर, उनको निधन भएको ६१ वर्षपछि २०६६ मंसिर १६ गते नेपाल सरकारले उनलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गरेको थियो ।

महागुरुको सम्मानमा हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती, चैत २२ गते स्मृति दिवस र वैशाख २४ गते समाज सुधार दिवस मनाउने गरिन्छ ।

फाल्गुनन्दले २००५ चैत २२ गते सोमबार अपराह्न ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमुनि हाङयकमा देहत्याग गरेका थिए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्