Skip to content

नेपाली चिजलाई विश्व बजारमा पुर्याउन सरकारको साथ चाहिएको छ : तुलु तामाङ

nmb bank inside

इलाम । रसुवाको विकट गाउँमा जन्मिएका तुलु तामाङ ट्रेकिङ व्यवसायमार्फत पर्यटन क्षेत्रमा भविष्य बनाउन चाहन्थे । अभावका कारण उचित शिक्षादिक्षा नपाएका उनी गरिबीका कारण तीन दशकअघि ०५२ सालतिर रोजगारी खोज्दै काठमाडौं आए । रोजगारीका क्रममा उनले ट्रेकिङमा भरियाको जिम्मेवारी पाए ।

त्यसबेला उनको संगत शेर्पाहरुसँग भयो । मौसमी पेसा भएकाले आम्दानी सिमित थियो । वैकल्पिक रोजगारी खोजिरहेका उनलाई चिनजानमा आएका एक शेर्पाले इलाममा खुल्न लागेको चिज कारखानामा काम गर्ने प्रस्ताव गरे ।

इलाम पशुपतिनगरको तीनखुट्टेमा संचालनमा ल्याइएको ‘यति चिज कारखाना’मा काम गर्नेगरी उनले काठमाडौं छाडे । त्यसपछि उनका दिनहरु तीनखुट्टेको चिसोमा वित्न थाल्यो । चिज बनाउने सीप सिके । गुणस्तरीय चीज उत्पादन गर्न निपूर्ण भए । यति चिज कारखानामा उनले एक दशक विताए । तर चिजको बजार एकनास रहेन् । ०६४ सालतिर उक्त कारखाना बन्द भयो । त्यसपछि तुलुका दिनहरु तनावपूर्ण रहे । रोजगारीका खोजीमा उनले अनेक विकल्पहरु खोजे ।

‘त्यसपछि मैंले सोच बदलें । आफैं केही गर्नुपर्छ भन्ने आँट लिए । ०६६ सालमा ४० लिटर दुध संकलन गरेर चिज उत्पादन सुरु गरेको हुँ । अहिले दैनिक ४६ सय लिटर दुध संकलन गरिरहेको छु । आफूमा भएको सीप प्रयोग गरेर आत्मनिर्भर बन्छु भनेर हिम्मत गरेको हुँ,’ उनले विगत सुनाउँदै भने,‘त्यसपछि ‘लक्की डेरी’नाम राखेर चिज उत्पादन सुरु गरेको हुँ । म अहिले कामदार र मालिक आफैं हुँ । करिब १० जनाजतिलाई रोजगारी पनि दिएको छु । आफ्नै छोरालाई व्यवसायमा सक्रिय गराएका छु ।’

रसुवाको विकट गाउँमा सामान्य खेतीकिसानी गर्ने बुबाआमाको दुःख देखेर आत्मनिर्भर बन्न भनेर १४ बर्षको उमेरमै घर छाडेका उनी यतिबेला करोडौंको चिज कारखानका मालिक भएका छन् । १० जना युवालाई जागिर दिएका छन र सयौं किसानको भरोसा बनेका छन् ।

‘घरको आम्दानी नहुँदा पढ्न सकिएन । भरिया बन्नकै लागि घर छाडें । तर जिन्दगीले फरक मोड लियो । तीन दशकको अवधीमा थुप्रै हन्डर–ठक्कर खाँदै आत्मनिर्भर मात्र भएको छैन दर्जनौं युवालाई सीप पनि सिकाएको छु, रोजगारी दिएको छु । मेहेनत र हिम्मतका साथ काम गर्दा विदेश जानु पर्दैन भन्ने उदाहरण दिएको छु,’ उनले भने ।

कुनै समय एकसरो कपडा फेर्न र दुई छाक जोर्न नसकेका तुलु यतिबेला नेपालको चिजलाई विश्व बजारसम्म फैलाउन खोजिरहेका छन् । नेपाली चिजलाई विश्व बजारसम्म पुर्याउन सरकारसमक्ष हारगुहार गरिरहेका छन् । ‘हाम्रो उत्पादन विश्वबजारमा पुर्याउनु पर्नेछ । चीन र भारतमा धेरै भन्दा धेरै माग छ । यसका लागि दुई देशबीच सम्झौता हुनुपर्ने रहेछ । त्यो सम्झौता सरकारले गर्नुपर्छ, त्यसका लागि सरकारले पहल गर्नुपर्छ,’ उनले भने,‘विदेशमा उत्पादन भएको चिज नेपाली बजारमा आइरहेको छ । हाम्रो उत्पादन विदेश पठाउन सकिएको छैन । निर्यातका लागि सरकारले पहल गरोस भन्ने लाग्छ । त्यसका लागि चाँडै सिंहदरबारमा दबाब दिंदैछौं ।’

तुलुले यतिबेला चिज उत्पादन मात्र गरिरहेका छैनन् । विश्व बजारमा नेपाली उत्पादन कसरी पुर्याउने र स्थानीय उत्पादनलाई स्वदेशमै बढी भन्दा बढी कसरी खपत गर्ने भन्ने सोचपनि बनाएका छन् । ‘विगतका सरकारहरुले हाम्रो आवाज, हाम्रो समस्या र संभावनाहरु बारे सोधीखोजी गरेन । माग सुनुवाइ गरेन । यतिबेला नयाँ सरकार बनेको छ, हामी धेरै आशावादी छौं,’ उनले भने ।

यति डेरीमा काम गर्दागर्दै स्थानीय युवतीसँग घरजम गरेका उनले ससुराली गाउँका युवालाई आत्मनिर्भर बन्न प्रेरित पनि गरिरहेका छन् । ससुराली गाउँमा बसेर करिब १० हजार लगानीबाट दुध प्रशोधन सुरु गरेका उनले गुणस्तरीय ‘लक्की डेरी’को ब्राण्डमा नेपालका स्टार होटलदेखि पारखीहरुसमक्ष चिज खपत गरिरहेका छन् ।

‘हाम्रो चिज कारखानाले गुणस्तरीय उत्पादनमा कुनै सम्झौता गर्दैन । गुणस्तरीय उत्पादन नेपाली बजार मात्र होइन हामी विश्व बजारमा फैलिन चाहन्छौं । यसका लागि सरकारले गम्भीर रुपमा सहयोग गर्नुपर्छ । सरकारको साथ सहयोग भयो भने नेपाली चिज विश्व बजारमा फैल्याउने छौं,’ उनले हिम्मत देखाए ।

लक्की डेरीबाट उत्पादन भएको चीज देशका काठमाडौ, पोखरा, विराटनगरसम्म पुगेको छ । स्टार होटलहरुको रोजाइमा परेको छ । तर तेस्रो मुलुक निर्यात गर्न सरकारले नै पहल गरेको छैन । नीतिगत र व्यवहारिक समस्याहरु देखिएका छन् ।

त्यतिमात्र होइन तुलुको डेरीले उत्पादन गरेको आफ्नै कोल्ड स्टोरमा पनि सजाएका छन् । माग अनुसार नेपाली बजारमा पुर्याइरहेका छन् । ‘कुनै समय कोल्डस्टोर र बजारको अभाव हुँदापनि किसानलाई भुक्तानीमा ढिलाइ गरेनौं । उचित मूल्य प्रदान गरेर किसानलाई सन्तुष्टि दिएका छौं तर उद्योगीहरुका व्यवहारिक एवम नीतिगत समस्याहरु राज्यले सुन्न सकेको छैन,’ उनको दुखेसो छ । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्