काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिएका छन् । फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संगठनलाई सक्रिय, कामकाजी र परिणाममुखी बनाउनुपर्ने बताएका हुन् ।
ओलीले नेशनल भोलिन्टियर फोर्सको एक वर्षको अवधिमा राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षा तथा विपद्का बेला उद्धार र राहतका काममा भूमिका देखिएको बताए । प्रतिकूल परिस्थितिमा स्थापना भएको संगठनले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने उनको भनाइ थियो ।
उनले नेशनल भोलिन्टियर फोर्सलाई केवल संगठन विस्तारमा सीमित नराखी राष्ट्रको हित, राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षामा सक्रिय हुन आग्रह गरे ।
‘नेपाली युवाहरू देशभक्त छन् । नेपाली युवाहरू लोकतन्त्रप्रति प्रेम गर्छन्, लोकतान्त्रिक अभ्यास गर्छन् । अलोकतान्त्रिक, अराष्ट्रिय र देशलाई क्षति पुर्याउने आगजनी, लुटपाट, तोडफोडजस्ता काम नेपाली युवाहरूले गर्दैनन्,’ ओलीले भने ।
उनले नेपाली युवाहरूको शक्ति पुनःसंगठित गर्दै राष्ट्रिय हितको पक्षमा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए । युवाहरूलाई देश निर्माण, विकास, उद्यमशीलता र सामाजिक सेवामा सक्रिय बनाउन फोर्स स्थापना गरिएको उनको भनाइ थियो ।
ओलीले नेशनल भोलिन्टियर फोर्स शान्तिपूर्ण संगठन भएको उल्लेख गर्दै यसले भिडन्त खोज्ने नभई समाजमा देखिएका बेथिति रोक्न र गलत कामविरुद्ध आवाज उठाउनुपर्ने बताए ।
‘यो अत्यन्तै शान्तिपूर्ण फोर्स हो । यो लड्ने भिड्ने होइन, राम्रो गर भनेर आग्रह गर्ने फोर्स हो,’ उनले भने, ‘हामी निहुँ खोज्न जाँदैनौँ, हामी कहिल्यै पनि भिडन्त खोज्दैनौँ ।’
तर, अन्याय र आक्रमणको अवस्था आए प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै उनले संगठनलाई कमजोर नबनाउन र आफ्नो शक्ति विस्तार गर्न युवाहरूलाई आग्रह गरे ।
पार्टी अध्यक्षको गिरफ्तारीका क्रममा एमालेका नेता तथा कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र धरपकडको प्रसङ्ग उठाउँदै ओलीले राज्यका निकायहरू कानुन र संविधानअनुसार चल्नुपर्ने बताए ।
उनले प्रहरी तथा प्रशासनलाई सरकारको आदेशभन्दा पनि कानुनअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । राजनीतिक आस्थाका आधारमा कसैलाई पक्राउ गर्ने, दुःख दिने वा विभेद गर्ने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो ।
ओलीले भदौ २०८२ को २३ र २४ गतेका घटनालाई एउटै आन्दोलनका रूपमा व्याख्या गर्न नहुने जिकिर गरे । उनका अनुसार भदौ २३ गते युवाहरूले आफ्ना माग राखेर आन्दोलन गरेका थिए भने त्यसपछि घुसपैठ भएर लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए ।
उनले ती घटनामा संलग्न व्यक्ति र समूहको पहिचान गर्नुपर्ने तथा घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । आगजनी र तोडफोडमा प्रयोग भएका भनिएका रासायनिक पदार्थ तथा पेट्रोल बमबारे समेत अनुसन्धान हुनुपर्ने उनको भनाइ थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्