पूर्वी नेपालको कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विविधताले भरिपूर्ण छ । कोशी प्रदेश पर्यटनका दृष्टिले नेपालको मात्रै नभएर विश्वकै महत्वपूर्ण गन्तव्यका रुपमा छ । तराईदेखि विश्वको सर्वोच्च शिखरसम्म फैलिएको भौगोलिक विविधता, विश्वप्रसिद्ध हिमशिखर, चियाबगान, जैविक विविधता, वन, वन्यजन्तु, धार्मिक, ऐतिहासिक स्थल र मौलिक संस्कृति कोशी प्रदेशमा पर्यटक आकर्षित गर्ने क्षेत्र हुन् ।
पर्यटनको अथाहा संभावना भएको कोशी प्रदेशको विकासका लागि प्रदेश सरकारबाट पर्यटनकै लागि आवश्यक भन्दापनि मतदातामा आधारीत वजेट विनियोजन भएको छ । संघीयतापछि प्रदेश सरकारले गरेको लगानीले पर्यटन विकासमा सहि प्रतिफल दिन सकेको छैन । त्यसैले अब विविधि क्षेत्रमा ध्यानमा राखेर मात्र काम गर्नुपर्ने देखिन्छ ।
साइनिङ बोर्ड र होर्डिङ बोर्ड जडान
पर्यटन विकासका लागि सडक, होटल, पदमार्ग, सूचना केन्द्र र अन्य पूर्वाधार जति आवश्यक छन्, त्यति नै महत्वपूर्ण हुन्छ—पर्यटकले गन्तव्य पहिचान गर्न र त्यहाँसम्म सहज रूपमा पुग्न सक्ने सूचना प्रणाली । तर हाम्रो पर्यटन विकासको बहसमा साइनिङ बोर्ड र होर्डिङ बोर्डलाई अझै पनि सामान्य प्रचार सामग्रीका रूपमा मात्र हेर्ने प्रवृत्ति छ । पर्यटनको संभावना भएको प्रदेश कोशी प्रदेश सरकारले त यसलाई अति सामान्य रुपमा लिएको छ । वास्तवमा यी बोर्ड पर्यटन पूर्वाधारसँगै गन्तव्यको पहिचान र ब्राण्ड निर्माणका महत्वपूर्ण आधार हुन् ।
कुनै पर्यटक नयाँ ठाउँमा पुग्दा उसको पहिलो प्रश्न हुन्छ—अब कहाँ जाने, कुन बाटो जाने, कति टाढा छ, त्यहाँ के हेर्न पाइन्छ? यी प्रश्नको सरल र स्पष्ट उत्तर दिन सक्ने माध्यम नै व्यवस्थित साइनिङ प्रणाली अन्तर्राष्ट्रिय नाका, एयरपोर्ट, राजमार्ग र पदमार्गमा आवश्यक पर्छ । सडकमा गन्तव्यको नाम लेखेर एउटा बोर्ड राख्नु मात्र साइनिङ व्यवस्थापन होइन। पर्यटकलाई प्रवेशद्वारदेखि गन्तव्यसम्म निरन्तर मार्गदर्शन गर्ने वैज्ञानिक र एकीकृत सूचना प्रणाली आवश्यक हुन्छ।
साइनिङ बोर्डले पर्यटकलाई बाटो देखाउँछ, दूरी बताउँछ र गन्तव्यको पहिचान गराउँछ। यसले पर्यटकको समय बचाउँछ, बाटो बिराउने सम्भावना घटाउँछ र यात्रा सहज बनाउँछ। अझ महत्वपूर्ण कुरा, एउटै डिजाइन, रङ, लोगो, अक्षरशैली र प्रतीक प्रयोग गरेर निर्माण गरिएका बोर्डले गन्तव्यको छुट्टै दृश्य पहिचान निर्माण गर्न सक्छ । अझै धेरै भाषामा निर्माण गरे अझ प्रभावकारीता हुन्छ ।
पर्यटन गन्तव्यको ब्राण्डिङ गर्दा लोगो र नारासँगै ‘साइनिङ ब्राण्ड’ पनि विकास गर्न आवश्यक छ। पर्यटकले सडकमा देखेको बोर्ड, प्रवेशद्वार, सूचना केन्द्र, पदमार्ग र पर्यटकीय स्थलमा प्रयोग भएको संकेत प्रणालीबाटै गन्तव्यको गुणस्तर र व्यवस्थापनको अनुभूति गर्न सक्छ ।
ठूला आकारका होर्डिङ बोर्डलाई हामी प्रायः विज्ञापनको माध्यमका रूपमा मात्र बुझ्छौँ । तर पर्यटनका लागि यसको भूमिका अझ व्यापक हुन सक्छ । राजमार्ग, विमानस्थल, मुख्य बजार, जिल्ला प्रवेशद्वार तथा प्रमुख चोकमा राखिएका आकर्षक होर्डिङ बोर्डले गन्तव्यको दृश्यात्मक परिचय निर्माण गर्छन् । एउटा राम्रो होर्डिङ बोर्डमा धेरै कुरा लेखिरहनुपर्दैन, गन्तव्यको उत्कृष्ट तस्वीर, छोटो सन्देश, ब्राण्ड लोगो र डिजिटल सूचना प्राप्त गर्ने क्यूआर कोड नै पर्याप्त हुन सक्छ । पर्यटकको ध्यान केही सेकेन्डमा तान्न सक्ने दृश्य र सन्देश नै प्रभावकारी होर्डिङको विशेषता हो ।
आज पर्यटक सूचना खोज्न पुस्तक वा कार्यालयको ढोका ढकढक्याउनुभन्दा मोबाइल प्रयोग गर्छ । त्यसैले साइनिङ र होर्डिङ बोर्डलाई डिजिटल प्रविधिसँग जोड्न सकिन्छ । क्यूआर स्क्यान गरेपछि पर्यटकले गन्तव्यको इतिहास, दूरी, नक्सा, होटल, होमस्टे, रेस्टुरेन्ट, पदमार्ग, मौसम, सम्पर्क नम्बर तथा अन्य आवश्यक सूचना प्राप्त गर्न सक्ने व्यवस्था गर्न मन्त्रालयले कोशी प्रदेशभरकै गर्ने हो भने पनि २ करोड बढी खर्च नै हुँदैन ।
बोर्ड राखेपछि त्यसको मर्मतसम्भार पनि उत्तिकै महत्वपूर्ण छ । फाटेका, रंग उडिसकेका, गलत दूरी देखाउने वा झाडीले छोपिएका बोर्डले सकारात्मक सन्देश होइन, गन्तव्यको कमजोर व्यवस्थापनको सन्देश दिने भएकाले सुधार गरिरहनुपर्छ । कुनै गन्तव्यको ब्राण्ड वेबसाइट वा सामाजिक सञ्जालमा मात्र देखिएर पुग्दैन । पर्यटक गन्तव्यतर्फ जाँदा सडक, चोक, प्रवेशद्वार, होटल, सूचना केन्द्र र पर्यटकीय स्थलसम्म एउटै ब्राण्ड पहिचान देखिनुपर्छ ।
यसका लागि स्थानीय तह, प्रदेश सरकार, पर्यटन बोर्ड, सडक निकाय, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच समन्वय आवश्यक छ । एउटै गन्तव्यमा फरक–फरक निकायले आ–आफ्नै डिजाइनका बोर्ड राख्नेभन्दा साझा मापदण्ड बनाएर एकीकृत प्रणाली विकास गर्नु उचित हुन्छ ।
अन्ततः पर्यटनमा साइनिङ बोर्डको उद्देश्य केवल ‘बाटो देखाउनु’ होइन । यसको उद्देश्य पर्यटकलाई ‘गन्तव्य चिनाउनु, यात्रा सहज बनाउनु, अर्को गन्तव्यतर्फ लैजानु र समग्र गन्तव्यको ब्राण्ड स्थापित गर्नु’ हो ।
पर्यटन कोरिडोरको घोषणा र लगानी
कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधताले सम्पन्न प्रदेश हो । तराईको समथर भूभागदेखि हिमाली क्षेत्रसम्म फैलिएको यस प्रदेशमा वन्यजन्तु, धार्मिकस्थल, चियाबारी, झरना, ताल, पदमार्ग, हिमशृङ्खला, जातीय संस्कृति र ऐतिहासिक सम्पदाको ठूलो सम्भावना छ । एउटै प्रदेशभित्र यति धेरै प्रकारका पर्यटन उत्पादन उपलब्ध हुनु कोशीका लागि ठूलो अवसर हो । तर यी गन्तव्यको सम्भावनालाई प्रदेशको समग्र पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्न भने अझै प्रभावकारी योजना र पूर्वाधारको आवश्यकता छ । तराई पहाड हिमालका पर्यटकीय गन्तव्य जोडेर, वा तराईबाट तराईसम्म, चुरेबाट चुरेसम्म, पहाडबाट पहाड र हिमालबाट हिमालसम्म पूर्व पश्चिम पर्यटन कोरिडोरको अवधारणा विकास गर्न सकिन्छ । र त्यहि अनुरुप सडक पुर्वाधार र पदमार्गका पूर्वाधार बनाएर वा अहिलेको संरचनामा कोरिडोरको विकास गर्न सकिन्छ ।
पर्यटन कोरिडोर भन्नाले एउटा सडक वा एउटा पर्यटकीय गन्तव्यको मात्र विकास होइन । बाटोमा पर्ने विभिन्न पर्यटकीय गन्तव्यलाई सडक, यातायात, होटल, होमस्टे, सूचना प्रणाली, पदमार्ग, स्थानीय उत्पादन, सांस्कृतिक कार्यक्रम, प्रचार–प्रसार र बजारसँग एकीकृत रूपमा जोडेर एउटा समग्र पर्यटन यात्रापथका रूपमा विकास गर्नु हो । यसले एउटा गन्तव्यमा आउने पर्यटकलाई अर्को गन्तव्यसम्म पुर्याउने र एउटै यात्रामा धेरै पर्यटन उत्पादन उपभोग गर्ने वातावरण बनाउँछ । जसले गन्तव्य धेरै, बसाइ छोटो बनाउँछ र धेरै पर्यटन भित्र्याउन सकिन्छ ।
झापाको केचनाबाट प्रवेश गरेको पर्यटकलाई बिर्तामोड हुँदै इलाम, पाँचथर र ताप्लेजुङसम्मको यात्रामा जोड्न सकिन्छ । तराईको वातावरण इलामको चियाबारी हेर्ने, सूर्योदय अनुभव गर्ने, स्थानीय खानाको स्वाद लिने, होमस्टेमा बस्ने, पदयात्रा गर्ने र स्थानीय उत्पादन खरिद गर्ने र पाँचथरको सस्कृतिसँगै ताप्लेजुङको साहासिक पदयात्रामा जोडि एउटै प्याकेजमा उपलब्ध गराउन जरुरी छ । यसले पर्यटकको बसाइ लम्ब्याउँछ । बसाइ लम्बिँदा होटलमा खर्च बढ्छ, यातायात व्यवसाय चल्छ, स्थानीय उत्पादनको बिक्री बढ्छ र ग्रामीण क्षेत्रसम्म पर्यटनको आम्दानी पुग्छ र अर्थतन्त्र चलायमान हुन्छ ।
पर्यटन कोरिडोरको चर्चा गर्दा प्रायः सडक निर्माणलाई पहिलो प्राथमिकता दिइन्छ । तर राम्रो सडक मात्र बनाएर पर्यटन कोरिडोर सफल हुँदैन । कोरिडोरमा सडकसँगै सूचना केन्द्र, डिजिटल नक्सा, साइनेज, सार्वजनिक शौचालय, खानेपानी, पार्किङ, फोहोर व्यवस्थापन, विश्रामस्थल, इन्टरनेट, उद्धार तथा सुरक्षा सेवा, दक्ष गाइड, होटल र होमस्टे नेटवर्क आवश्यक छ । त्यसैगरी स्थानीय कृषि तथा हस्तकलाका उत्पादनलाई पर्यटनसँग जोड्नुपर्छ । हामीले हेर्दा पर्यटन कोरिडोर वास्तवमा सडक, सेवा, उत्पादन र बजारको एकीकृत संरचना हो ।
तराईदेखि हिमाल जोड्ने कोरिडोर
केचना कंचनजंघा कोरिडोर : प्रदेशमा सबैभन्दा सम्भावनायुक्त कोरिडोर झापाको केचनाबाट ताप्लेजुङको कंचनजंघा जोड्ने कोरिडोर अति संभावनायुक्त कोरिडोर हो । भारतको पश्चिमबंगल राज्य र पर्यटकीय क्षेत्र दार्जिलिङ जोडिएको नेपाल भारत नाका पनि छन् । झापामा काँकरभिट्टा र इलामको पशुपतिनगर नाका भएर अहिलेपनि सयौँ भारतीय पर्यटक यो कोरिडोरमा धार्मिक र पर्यटकीय यात्रा गरिरहेका छन् ।
नेपालको होचो भु–भाग केचनाकवलबाट कुनैबेलाको सर्वोच्च शिखर कंचनजंघासम्मको यात्रामा पर्यटकहरुलाई घुमाउने योजना बनाउन सकिन्छ । जसमा झापमा प्रशिद्ध तिर्थस्थल अर्जुनधारा, विराटपोखर, किच्चकबधलगायत इलामको पाथिभरा, कन्याम, अन्तु, सन्दकपुर, माईपोखरी हुँदै पाँचथरको पौवाभञ्ज्याङ्ग, सिलौटी लब्रेकुटी, फिदिम बजार, हिलिहाङ्गदरबार, जोरपोखरी, याङवरक, ताप्लेजुङ्गको पाथिभरासम्म सहजै पर्यटक घुमाउन सक्छौँ ।
केचनाबाट ताप्लेजुङसम्मको पाथिभरासम्मको यात्रा बढीमा चार दिनको मात्रै हुन्छ । जसले ताप्लेजुङको कंचनजंघा पदयात्रालाई पनि प्रोत्साहान दिन सक्छ । र साहासिक पदयात्राका लागि अन्तराष्ट्रिय पर्यटक अझै बढ्न सक्छन् ।
यो कोरिडोरको मुख्य विशेषता चिया, सूर्योदय, जैविक विविधता, सीमा पर्यटन, ग्रामीण जीवन र पदयात्रा हुनेछ । भारतीय पर्यटकका लागि पनि यो सहज र आकर्षक प्याकेज बन्छ ।
कोशी टप्पु धनकुटा कोरिडोर : कोशी टप्पु–बराहक्षेत्र–धरान–भेडेटार–धनकुटा कोरिडोरले तराईको वन्यजन्तु पर्यटनलाई धार्मिक र पहाडी पर्यटनसँग जोड्न सक्छ । हामीले कोशी टप्पुलाई वन, वन्यजन्तु र चराहरु मार्फत पर्यटनमा अझ प्रचार गर्न सक्छौँ । कोशी टप्पुबाट सुरु भएको यात्रा बराहक्षेत्र, धरान र भेडेटार हुँदै धनकुटासम्म पुगेर फर्किन सकिन्छ । यसमा वन्यजन्तु, धार्मिकस्थल, प्रकृति, स्थानीय संस्कृति र हिल स्टेशनको अनुभव एकै यात्रामा समेट्न सकिन्छ ।
मुन्धुम कोरिडोर : कोशी प्रदेशको पर्यटन विकासमा प्रकृति र हिमाल जति महत्वपूर्ण छन्, यहाँको मौलिक संस्कृति र सभ्यता पनि उत्तिकै महत्वपूर्ण छ । धरान–भेडेटार–धनकुटा–हिले–भोजपुर–ट्याम्के–साल्पा हुँदै खोटाङ र हलेसीसम्म फैलिएको क्षेत्रलाई मुन्धुम तथा किरात संस्कृति पर्यटन कोरिडोरका रूपमा विकास गर्न सकिन्छ । यसमा पदयात्रा गर्ने मुन्धुम पदमार्ग पनि यो कोरिडोरमा समावेस गर्दा राम्रो हुन्छ । यस क्षेत्रमा पदयात्रासँगै किरात इतिहास, संस्कृति, भाषा, परम्परा, धार्मिकस्थल, सामुदायिक जीवन र स्थानीय खानालाई पर्यटन उत्पादन बनाउन सकिन्छ । यसले पर्यटनलाई केवल दृश्यावलोकनबाट बाहिर निकालेर अनुभवमा आधारित पर्यटनमा रूपान्तरण गर्न सहयोग पुर्याउँछ ।
अरुण–मकालु र लालीगुराँस कोरिडोर : संखुवासभाको अरुण उपत्यका, मकालु–बरुण क्षेत्र, तेह्रथुमको टिएमजे र धनकुटाको लालीगुराँस क्षेत्रलाई पनि एउटै पर्यटन सञ्जालमा जोड्न सकिन्छ । यस क्षेत्रमा हिमाली दृश्य, जैविक विविधता, पदयात्रा, लालीगुराँस वन, ग्रामीण जीवन र साहसिक पर्यटनको ठूलो सम्भावना छ । अहिले छुट्टाछुट्टै चिनिएका यी गन्तव्यलाई एउटै ब्रान्ड र यात्रापथमा जोड्न सके कोशीको पूर्वी तथा मध्यपहाडी पर्यटनले नयाँ बजार पाउन सक्छ ।
सगरमाथा कोरिडोर : कोशी प्रदेशको सोलुखुम्बुमा अवस्थित सगरमाथा केवल नेपालको पहिचान मात्र होइन, विश्व पर्यटनको आकर्षण हो । सगरमाथालाई केन्द्रमा राखेर पर्यटन कोरिडोर विकास गर्न सके यसले सोलुखुम्बुसँगै कोशी प्रदेशको समग्र पर्यटन अर्थतन्त्रलाई नयाँ उचाइ दिन सक्छ । यसको अवधारणा सगरमाथा आधारशिविरसम्म पुग्ने पदयात्रामा मात्र सीमित नभई तराईदेखि पहाड र हिमालसम्मका गन्तव्यलाई एउटै पर्यटन यात्रापथमा जोड्ने हुनुपर्छ ।
भारतसँग सीमा जोडिएको विराटनगर रानी, झापाको काँकरभिट्टा र इलामको पशुपतिनगर नाकालाई प्रस्थान बिन्दु बनाएर धरान–धनकुटा–ओखलढुंगा हुँदै सल्लेरी–फाप्लुबाट लुक्ला, नाम्चे, तेङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरक्सेप हुँदै कालापत्थर र सगरमाथा आधारशिविरसम्मको यात्रालाई यस्तो कोरिडोरका रूपमा विकास गर्न सकिन्छ । यस यात्रामा भूगोल मात्र परिवर्तन हुँदैन, अनुभव पनि क्रमशः बदलिन्छ ।
तराईको समथर भूभागबाट पहाडी बस्ती, किरात संस्कृति र ग्रामीण जीवन हुँदै शेर्पा संस्कृति, बौद्ध गुम्बा, हिमाली वन, हिमनदी र अन्ततः सगरमाथाको भव्य दृश्यसम्म पुगिन्छ । यसले पर्यटकको बसाइ लम्ब्याउने, स्थानीय होटल, होमस्टे, यातायात, कृषि तथा हस्तकलालाई बजार दिने र रोजगारी सिर्जना गर्ने सम्भावना राख्छ ।
त्यसैले सगरमाथा कोरिडोरलाई सडक वा पदमार्ग मात्र होइन, प्रकृति, संस्कृति, साहसिकता र स्थानीय अर्थतन्त्र जोड्ने पर्यटन सञ्जालका रूपमा विकास गर्नु कोशीको दीर्घकालीन पर्यटन रणनीति बन्नुपर्छ । पर्यटन कोरिडोरले स्थानीय अर्थतन्त्रनै बदल्न सक्छ ।
पर्यटकीय गन्तव्य घोषणा
विश्वको सर्वोच्च शिखर सगरमाथादेखि कञ्चनजङ्घा र मकालुसम्मका हिमशृङ्खला, सगरमाथा र मकालु–बरुणजस्ता राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र, कोशीटप्पुको सिमसार, इलामका चियाबारी, सन्दकपुर, रेडपाण्डा, ताप्लेजुङको पाथीभरा, पाँचथरको हिलिहाङ,सिलौटी, सुनसरीको बराहक्षेत्र, हलेसी, भेडेटार, टिएमजे, मुन्धुम, चियाबारी, रेडपाण्डा, फाल्गुनन्द पदमार्गसम्म यहाँ पर्यटनका विविध उत्पादन छन् । प्रकृति, संस्कृति, धर्म, साहसिक गतिविधि र ग्रामीण जीवनको यति ठूलो विविधता एउटै प्रदेशमा हुनु कोशीको ठूलो शक्ति हो । हामीले अहिलेसम्म सम्भावनाको कुरा गर्यौ अब सम्भावनालाई परिणाममा बदल्ने क्षमता विकासमा कोशी प्रदेश सरकार लाग्नुपर्छ । प्रदेशवासी जगाउनुपर्छ ।
प्रदेश सरकारले विभिन्न समयमा नयाँ पर्यटकीय गन्तव्य घोषणा गर्दै आएको छ । स्थानीय तहहरू पनि आ–आफ्ना क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासमा छन् । तर गन्तव्य घोषणा हुँदैमा पर्यटक आउँदैनन् । गन्तव्यमा आवश्यक पूर्वाधार, सेवा, सूचना, सुरक्षा, प्रचार र पर्यटन उत्पादन विकास नभएसम्म घोषणा कागजमै सीमित हुने गरेका छन् ।
प्रदेशका धेरै गन्तव्यमा सडक पुगेको छ, तर व्यवस्थित पर्यटन सेवा पुगेको छैन । कतिपय ठाउँमा प्राकृतिक सम्पदा आकर्षक छन्, तर त्यसको महत्व बुझाउने सूचना केन्द्र छैन । कतै पर्यटक पुग्छन्, तर गुणस्तरीय खानेपानी, शौचालय, पार्किङ र बसाइको सुविधा पर्याप्त छैन । कतिपय गन्तव्यमा पर्यटक पुगे पनि स्थानीय उत्पादन र पर्यटनबीचको सम्बन्ध कमजोर छ । परिणामतः पर्यटकको संख्या र स्थानीय अर्थतन्त्रमा पुग्ने वास्तविक लाभबीच ठूलो अन्तर देखिन्छ ।
अब ‘कति वटा गन्तव्य घोषणा गरियो?’ भन्ने प्रश्नभन्दा ‘घोषित गन्तव्य कति व्यवस्थित र प्रतिस्पर्धी बने?’ भन्ने कुरा अब महत्वपूर्ण हुन्छ । हामीले गन्तव्य छनोटमा स्पष्ट मापदण्ड बनाउनुपर्छ । कोशी प्रदेशमा पर्यटकीय गन्तव्य घोषणा गर्दा राजनीतिक पहुँच, स्थानीय दबाब वा बजेट विनियोजनलाई मात्र आधार बनाउनु हुँदैन ।
प्राकृतिक तथा सांस्कृतिक मौलिकता, पर्यटक आकर्षण, पहुँच, पूर्वाधार विकासको सम्भावना, स्थानीय समुदायको सहभागिता, आर्थिक प्रभाव र वातावरणीय संवेदनशीलतालाई आधार बनाएर गन्तव्य छनोट गर्नुपर्छ । तर प्राथमिकता तोक्नुको अर्थ सबै ठाउँमा समान बजेट छर्नु होइन । सीमित गन्तव्यमा पर्याप्त लगानी गरेर उत्कृष्ट बनाउनु अहिलेको आवश्यकता हो ।
पर्यटकीय गन्तव्य विकासका नाममा प्रवेशद्वार, स्तम्भ, पार्क र भौतिक संरचना बनाउने प्रवृत्ति धेरै देखिन्छ । यस्ता संरचना आवश्यक हुन सक्छन्, तर यिनैलाई पर्यटन विकासको उपलब्धि मान्नु गलत हुन्छ । पर्यटकलाई गन्तव्य घोषणा गर्दा अहिले पर्यटक पुग्दै आएका र चलायमान भएका गन्तव्यलाई प्राथमिकता दिए हुन्छ । कच्चि सडक भएपनि सुरक्षित यातायात, स्वच्छ खानेपानी, शौचालय, पार्किङ, सूचना केन्द्र, डिजिटल नक्सा, साइनेज, इन्टरनेट र प्राथमिक उपचारको आधारमा गन्तव्य घोषणा गर्न उचिन हुन्छ । र छानिएका गन्तव्यलाई उत्कृष्ट बनाउनुपर्छ । गन्तव्यको मौलिकता जोगाउँदै पूर्वाधार सुधार्ने, सेवा गुणस्तर बढाउने, स्थानीय समुदायलाई जोड्ने, वातावरण संरक्षण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी ब्रान्डिङ गर्ने हो भने कोशी प्रदेश पर्यटनको बलियो केन्द्र बन्न सक्छ । अब निति गन्तव्य घोषणासँगै व्यवस्थापन गरौँ, पर्यटक बसाऔँ, स्थानीय अर्थतन्त्र बढाऔँ’ भन्ने हुनुपर्छ ।
सरोकारवालासँग समन्वय
प्रदेश सरकार तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयले संघीय सरकार, स्थानीय तह, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र र अन्य सरोकारवालासँग सहकार्यका प्रयास गरिरहेको देखिन्छ । पर्यटन वर्ष, पर्यटन प्रवद्र्धन तथा विभिन्न कार्यक्रमका लागि समझदारी र सहकार्य पनि भएका छन् ।
तर प्रश्न यति मात्र होइन कि बैठक कति भए, समझदारीपत्र कति बने वा कार्यक्रम कति आयोजना भए। वास्तविक प्रश्न हो—त्यसको प्रत्यक्ष परिणाम पर्यटकले र स्थानीय अर्थतन्त्रले कति महसुस गर्न पाए ? कोशी प्रदेशको पर्यटन हेर्ने मन्त्रालयतहमा सरोकारवाला निकायसँगको समन्वय कम छ । भएपनि विराटनगर केन्द्रित रहेका पर्यटन व्यवसायीहरुसँग मात्रै छलफल हुने गरेको पाइन्छ । प्रदेश सरकार गठन भएपछि पर्यटनको वृहत बिकासका लागि खासैँ योजना र छलफल जिल्ला तहमा भएका छैनन् । कोशी पर्यटन वर्ष २०८२ ले पनि पर्यटन क्षेत्रमा उर्जा नथप्नुको मुख्य कारण मन्त्रालयले स्थानीय तह र त्यहाँ रहेका पर्यटन अभियानकर्मी तथा व्यवसायीसँग समन्वय नहुनु हो ।
पर्यटन आफैंमा बहुसरोकारको क्षेत्र हो । सडक एउटा निकायले बनाउँछ, पर्यटकीय स्थल अर्को निकायले व्यवस्थापन गर्छ, होटल निजी क्षेत्रले सञ्चालन गर्छ, सुरक्षा राज्यका निकायले दिन्छन् र गन्तव्यको संरक्षण स्थानीय समुदायले गर्छ । यी सबै पक्षबीच तालमेल गर्न कोशी प्रदेश पर्यटन मन्त्रालयले चासो दिएको छैन । प्रदेश सरकारले निर्माण गरेका कालोपत्रे सडक मर्मतका लागि चासो नगर्नु र बढी पर्यटक आवातजावत गर्ने राष्ट्रिय राजमार्ग मर्मतका लागि पर्यटन मन्त्रालयले कहि कतैपनि चासो नगर्नु प्रत्यक्ष उदाहरण हो ।
त्यसैले अब कोशी प्रदेशले प्रदेशस्तरीय पर्यटन समन्वयको स्थायी संयन्त्र निर्माण गर्न आवश्यक छ । मन्त्रालय, नेपाल पर्यटन बोर्ड, स्थानीय तह, पर्यटन व्यवसायी, होटल तथा होमस्टे सञ्चालक, ट्राभल तथा ट्रेकिङ व्यवसायी, यातायात क्षेत्र, सुरक्षा निकाय, संरक्षण क्षेत्र र स्थानीय समुदायको प्रतिनिधित्व हुने यस्तो संयन्त्रले प्रदेशको पर्यटन विकासलाई साझा योजनामा अघि बढाउन सक्छ ।
अहिलेको अर्को समस्या ‘गन्तव्य घोषणा’ मा बढी र ‘गन्तव्य व्यवस्थापन’मा कम ध्यान जाने प्रवृत्ति छ । कुनै स्थानलाई पर्यटकीय गन्तव्य घोषणा गरेर मात्र पर्यटक आउँदैनन् । त्यहाँ पुग्ने सडक, पदमार्ग, खानेपानी, सार्वजनिक शौचालय, पार्किङ, सूचना केन्द्र, संकेत बोर्ड, इन्टरनेट, सुरक्षा, उद्धार तथा फोहोर व्यवस्थापनको व्यवस्था हुनुपर्छ । एउटै गन्तव्यमा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नै ढंगले पूर्वाधार निर्माण गर्नेभन्दा साझा गुरुयोजना बनाएर जिम्मेवारी विभाजन गर्नुपर्छ ।
त्यस्तै, स्थानीय तहलाई केवल बजेट कार्यान्वयन गर्ने निकायका रूपमा हेर्नु हुँदैन । कुन गन्तव्यमा के सम्भावना छ, कहाँ पूर्वाधारको अभाव छ र स्थानीय समुदायले के चाहन्छ भन्ने कुरा स्थानीय तहले सबैभन्दा नजिकबाट बुझेको हुन्छ । त्यसैले प्रदेशको पर्यटन बजेट तथा कार्यक्रम निर्माण गर्दा स्थानीय तहसँग अनिवार्य समन्वय र स्थलगत आवश्यकता पहिचान हुनुपर्छ ।
नाकामा पर्यटनमैत्री प्रविधि र व्यवस्थापन
कोशी प्रदेशका विराटनगरको रानी, झापाको काँकरभिट्टा र इलामको पशुपतिनगर नाका प्रदेशको पर्यटन विकासका महत्वपूर्ण प्रवेशद्वार हुन् । भारतसहित तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकका लागि यी नाकाको विशेष महत्व छ । तर पर्यटनको सम्भावना बोकेका यी प्रवेशद्वारलाई पर्यटकमैत्री बनाउन नसक्दा नेपाल प्रवेश गर्ने पर्यटकले सुरुमै असहजता भोग्नुपर्ने अवस्था छ ।
पर्यटकका लागि देशको पहिलो परिचय नै सीमा नाकाबाट सुरु हुन्छ । त्यसैले नाकामा उपलब्ध सेवा, सुविधा, सरसफाइ, सुरक्षा र कर्मचारीको व्यवहारले नेपालको पर्यटनप्रतिको धारणा निर्माण गर्छ । नाकाबाट पर्यटकले भोग्ने जटिल समस्या हो सुरक्षा चेकजाँच । चेकजाँच गर्दा हुने पर्यटकको सबै झोलाहरु देखाउनुपर्ने भएकाले यो पर्यटकका लागि झन्झटिलो भएको छ । यसलाई प्रविधिको प्रयोग गरि चेकजाँच गरिए पर्यटक मैत्री व्यवहार ठहरिन्छ ।
विराटनगरको रानी नाका व्यापारिक तथा औद्योगिक आवागमनको केन्द्र भएपनि पर्यटनलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्नुपर्ने देखिन्छ । भारतको जोगबनीबाट आउने पर्यटकलाई कोशी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारी दिने सूचना केन्द्र, व्यवस्थित यातायात र सहजीकरण सेवाको आवश्यकता छ । त्यस्तै, काँकरभिट्टा पूर्वी नेपाल प्रवेश गर्ने महत्वपूर्ण स्थलमार्ग हो । पश्चिम बंगाल, सिक्किमलगायत क्षेत्रबाट आउने पर्यटकका लागि यो प्रमुख प्रवेशद्वार भएपनि पर्यटकले सहज रूपमा सूचना प्राप्त गर्ने, मुद्रा सटही गर्ने, यातायात खोज्ने र गन्तव्य पहिचान गर्ने व्यवस्था पर्याप्त छैन । तेस्रो मुलुकका पर्यटकका लागि अध्यागमन तथा भन्सार, सुरक्षा जाँच प्रक्रिया अझ छरितो र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता छ ।
पशुपतिनगर नाकाको सम्भावना अझ विशेष छ । दार्जिलिङ, मिरिक, सिलिगुडी र आसपासका क्षेत्रबाट आउने पर्यटकलाई कन्याम, फिक्कल, अन्तुडाँडा, सन्दकपुर र माईपोखरी ताप्लेजुङको पाथिभरा जोड्ने सकिन्छ । तर नाकामा व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय, खानेपानी, प्रतीक्षालय, सूचना केन्द्र, प्राविधिमैत्री सुरक्षा जाँच र सरसफाइको पर्याप्त व्यवस्था हुन सकेको छैन । सीमा क्षेत्रमा पर्यटकका सवारीसाधनको आवागमन तथा अध्यागमनसम्बन्धी सहजीकरण पनि प्रभावकारी हुन आवश्यक छ । नाकाबाट पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक र यातायात सेवाको गुणस्तर सुधार नगरी पर्यटनबाट अपेक्षित लाभ लिन कठिन हुन्छ ।
यी समस्या समाधानका लागि तीनवटै नाकालाई व्यापारिक तथा प्रशासनिक प्रवेशद्वारका रूपमा मात्र नभई पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्नुपर्छ । प्रत्येक नाकामा बहुभाषिक पर्यटक सहायता केन्द्र स्थापना गरी होटल, होमस्टे, यातायात, पर्यटकीय गन्तव्य, दूरी, शुल्क र सम्पर्क विवरण उपलब्ध गराउनुपर्छ । पार्किङ, शौचालय, खानेपानी, प्रतीक्षालय र फोहोर व्यवस्थापनलाई आधारभूत प्राथमिकतामा राख्नुपर्छ । अध्यागमन, भन्सार र सुरक्षा निकायका कर्मचारीलाई पर्यटकमैत्री व्यवहारसम्बन्धी तालिम दिनुका साथै अनावश्यक झन्झट र ठगी नियन्त्रण गर्नुपर्छ ।
यससँगै नाकालाई प्रदेशका पर्यटकीय गन्तव्यसँग जोड्ने एकीकृत पर्यटन प्याकेज आवश्यक छ । काँकरभिट्टाबाट इलाम, पाँचथर र ताप्लेजुङसम्म, पशुपतिनगरबाट इलामका प्रमुख गन्तव्यसम्म तथा विराटनगरबाट कोशी टप्पु, बराहक्षेत्र र भेडेटारसम्म पर्यटक आवागमन सहज बनाउने कार्यक्रम सञ्चालन गर्न सकिन्छ । नेपाल र भारतका सीमा प्रशासनबीच समन्वय बढाएर पर्यटक तथा सवारीसाधन आवागमनसम्बन्धी समस्या समाधान गर्नुपर्छ ।
काुननी व्यवस्था र कार्यान्वयन
प्रदेशको पर्यटन विकासलाई केवल परम्परागत प्रवद्र्धनमा सीमित नराखी समृद्धिको बलियो आधार बनाउन दूरदर्शी, स्पष्ट र व्यावहारिक कानुनी संरचना निर्माण गर्नु आजको मुख्य आवश्यकता हो । प्रदेश सरकारले पर्यटन विकास ऐन, २०७६ ल्याएर प्रारम्भिक प्रयास गरे तापनि विश्वव्यापी प्रतिस्पर्धा, प्रविधिको प्रयोग र बदलिँदो पर्यटकीय प्राथमिकतालाई सम्बोधन गर्न थप परिमार्जित कानुनहरूको खाँचो देखिन्छ । कोशी प्रदेशमा निम्न कानुनहरु निर्माण गरि कार्यान्वयन भए पर्यटन विकासले गति लिन संभावना छ ।
अधिकारसम्पन्न पर्यटन बोर्ड ऐनः पर्यटन प्रवद्र्धन, बजार विस्तार र ब्रान्डिङलाई सरकारी क्षेत्रबाट मात्रै हुन्छ भन्ने भनाइबाट माथि उठाएर द्रुत गतिमा लैजान स्वायत्त कोशी प्रदेश पर्यटन बोर्ड स्थापना गर्ने कानुनी व्यवस्था आवश्यक छ ।
सेवा, गुणस्तर तथा एकीकृत दर्ता नियमावलीः होटल, होमस्टे, टुर/ट्रेकिङ एजेन्सी र गाइडहरूको अनुमति, नवीकरण र सेवाको गुणस्तर मापदण्डलाई एकै ठाउँबाट नियमन गर्ने ‘एकल विन्दु सेवा’ कानुन बनाइनुपर्छ ।
पर्यटन लगानी तथा कर सहुलियत ऐनः पर्यटकीय पूर्वाधार (होटल, रिसोर्ट, मनोरञ्जन पार्क) मा निजी तथा बाह्य लगानी आकर्षित गर्न कर छुट, जग्गा प्राप्ति सहजीकरण र लगानी सुरक्षाको स्पष्ट कानुनी ग्यारेन्टी हुनुपर्छ ।
सार्वजनिक–निजी साझेदारी कार्यविधिः केबलकार, साहसिक पर्यटकीय संरचना, र यातायात पूर्वाधार निर्माणमा प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यलाई सरल र पारदर्शी बनाउने एएए मोडेलको ऐन चाहिन्छ ।
साहसिक पर्यटन सुरक्षा तथा जोखिम व्यवस्थापन ऐनः प्याराग्लाइडिङ, र्याफ्टिङ, माउन्टेनियरिङ र जिपलाइनजस्ता जोखिमपूर्ण खेलहरूमा सुरक्षा मापदण्ड, अनिवार्य बिमा र उद्धार संयन्त्रसम्बन्धी कडा कानुनी प्रावधान हुनुपर्छ ।
जैविक विविधता तथा ईको–टुरिजम नियमावलीः रेड पाण्डा, दुर्लभ वनस्पति तथा हिमाली/पहाडी वातावरणको विनाश नगरी वातावरणमैत्री पर्यटन सञ्चालन गर्न स्पष्ट वातावरणीय सीमा र मापदण्ड तोक्नुपर्छ ।
सामुदायिक होमस्टे र स्थानीय उत्पादन प्रवद्र्धन ऐनः पर्यटनको आर्थिक लाभ सिधै गाउँगाउँसम्म पुर्याउन स्थानीय संस्कृति, हस्तकला, चिया र रैथाने खानपानलाई पर्यटनसँग जोड्ने सहुलियतपूर्ण नीति चाहिन्छ ।
विशेष पदमार्ग तथा सम्पदा संरक्षण ऐनः मुन्धुम ट्रेल, रेडपाण्डा पदमार्ग, चियाबारी पदमार्ग, लब्रेकुटी र अन्य ऐतिहासिक/धार्मिक स्थलहरूको प्राकृतिक रूप नबिगार्ने गरी पदमार्ग अतिक्रमण रोक्ने र संरक्षण गर्ने ऐन आवश्यक छ ।
अन्तर–सीमा पर्यटकीय सहजीकरण नीतिः भारत (पश्चिम बंगाल, सिक्किम, बिहार) र बङ्गलादेशसँगको भौगोलिक निकटतालाई सदुपयोग गर्दै सीमावर्ती सवारी साधन आवागमन, भिसा सहजीकरण र तेस्रो देशका पर्यटक प्रवेशलाई सरल बनाउने कानुन तथा नीतिगत समन्वय हुनुपर्छ ।
कोशी प्रदेशसँग हिमाल, पहाड, तराई, जैविक विविधता र समृद्ध सांस्कृतिक सम्पदाको अनुपम सङ्गम छ । यी पाँच कानुनी स्तम्भहरू निर्माण र कार्यान्वयन गर्न सकेमा मात्र रमणिय कोशीको परिकल्पना साकार भई प्रदेशको अर्थतन्त्रमा पर्यटनले निर्णायक योगदान पुर्याउन सक्नेछ । (केचना कंचनजंघा पर्यटन विकास समितिका निर्वतमान सदस्य रहेका लेखक २३ वर्षदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्