पारिश्रमिक विवाद चर्किएपछि भर्जिन अस्ट्रेलियाका कर्मचारी हडतालमा, चार प्रमुख विमानस्थलमा उडान प्रभावित हुने चेतावनी
अस्ट्रेलिया । पारिश्रमिक र काम गर्ने सर्तसम्बन्धी विवाद चर्किएपछि अस्ट्रेलियाको हवाई सेवा कम्पनी भर्जिन अस्ट्रेलियाका कर्मचारीहरू हडतालमा उत्रिएका छन् । बिहीबार सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडका प्रमुख विमानस्थलमा कर्मचारीले चरणबद्ध रूपमा काम रोकेपछि यात्रुहरूलाई सम्भावित ढिलाइ र उडान रद्द हुन सक्ने चेतावनी दिइएको छ ।
अस्ट्रेलियाली सेवा मजदुर सङ्घको प्रतिनिधित्वमा रहेका विमानस्थलका कर्मचारीले बिहान र साँझको व्यस्त समयमा केही घण्टाका लागि काम रोकेका हुन् । उनीहरू मुख्यतः यात्रुको दर्ता, सामान व्यवस्थापन तथा विमानमा चढाउने काममा संलग्न कर्मचारी हुन् ।
सङ्घका अनुसार कर्मचारीले उचित पारिश्रमिक, कामको समयसम्बन्धी स्पष्ट व्यवस्था र अतिरिक्त कामको उचित भुक्तानीको माग गरिरहेका छन्। विशेषगरी सामान्य पारिश्रमिकमै नौ घण्टासम्म काम गर्न बाध्य पार्ने व्यवस्थाको विरोध उनीहरूले गरेका छन् ।
सङ्घका सहायक राष्ट्रिय सचिव स्कट कोवेनले कर्मचारीहरू काम छाडेर हडताल गर्न नचाहेको भए पनि कम्पनीसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि यस्तो कदम चाल्नुपरेको बताएका छन्।
उनका अनुसार लामो समयसम्म अतिरिक्त पारिश्रमिकबिना काम गर्नुपर्ने व्यवस्थाले परिवार र अन्य जिम्मेवारी सम्हालिरहेका कर्मचारीलाई थप कठिनाइ सिर्जना गर्नेछ।
यता, भर्जिन अस्ट्रेलियाले भने हडतालका कारण आफ्नो नियमित उडान सञ्चालन तथा यात्रु सेवामा असर नपर्ने अपेक्षा गरेको जनाएको छ । कम्पनीले सम्भावित अवरोध व्यवस्थापन गर्न वैकल्पिक व्यवस्था मिलाइसकेको बताएको छ ।
कम्पनीले कर्मचारीलाई तीन वर्षमा कुल १७ देखि २८.९ प्रतिशतसम्म पारिश्रमिक वृद्धि हुने प्रस्ताव गरेको जनाएको छ । साथै, पूर्णकालीन रोजगारीका अवसर बढाउने, कामको वर्गीकरण सुधार गर्ने र कर्मचारीलाई वर्षमा थप १३ देखि १५ दिनसम्म बिदा उपलब्ध गराउने प्रस्ताव पनि अघि सारेको छ । तर, कर्मचारी सङ्घले कम्पनीको प्रस्ताव पर्याप्त नभएको भन्दै असहमति जनाउँदै आएको छ ।
यसअघि पनि नोभेम्बर महिनामा विभिन्न चरणमा कर्मचारीले विरोधका कार्यक्रम गरेका थिए । पछिल्लो हडतालसँगै कम्पनी र कर्मचारी सङ्घबीचको विवाद थप चर्किएको छ ।
भर्जिन अस्ट्रेलियाबाट यात्रा गर्ने यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो उडानको अवस्था जाँच गर्न र सम्भावित ढिलाइलाई ध्यानमा राख्न सुझाव दिइएको छ ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्