इलाम । जल तथा मौसम विज्ञान विभागले भारी तथा अति भारी वर्षाको सम्भावना औँल्याएसँगै जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाका प्रमुख सडकमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनाअनुसार २०८३ असोज ८ गते बेलुकादेखि असोज ११ गते बिहानसम्म प्रत्येक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाका सडकमा सवारी आवागमन बन्द गरिनेछ।
गत वर्षको अविरल वर्षापछि जिल्लाका मेची राजमार्गलगायत अन्य भित्री सडक तथा बाटाघाटा पूर्णरूपमा सुरक्षित नभई जोखिमपूर्ण र जीर्ण अवस्थामा रहेको र हाल पुनः भारी वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
निर्णयअनुसार मेची राजमार्ग, मेची करिडोरलगायत जिल्लाका सबै सडकमा रातिको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।
प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ। अत्यावश्यक काम परेमा नजिकको प्रहरी प्रशासनसँग समन्वय गरी मात्र यात्रा गर्न र पुनः अत्यावश्यक सेवाका सवारी साधनले नजिकको सुरक्षा निकायसँग समन्वय गरेर सञ्चालन गर्न अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले मौसम प्रतिकूल रहेको अवस्थामा सडक तथा पुलको अवस्था थप जोखिमपूर्ण हुन सक्ने भएकाले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्