Skip to content

बहुल पहिचान भएका आदिवासी अपाङ्गता महिलाहरु चरम विभेदमा छन् : प्रतिमा गुरुङ

nmb bank inside

बहुल पहिचान भएका आदिवासी अपाङ्गता महिलाहरु चरम विभेदमा छन् : प्रतिमा गुरुङ

बहुल पहिचान भएका समुदायको समस्या ओझेलमा पारियो : प्रतिमा गुरुङ

पार्वती भण्डारी, नेपाल न्यूज बैंक

काठमाडौं । ‘प्रतिरोधमा जरा गाड्दै, ऐक्यबद्धतामा उकासिँदै, आन्दोलन सुदृढ गर्दै’ भन्ने मूल नारासहित तेस्रो एसिया–प्रशान्त आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको क्षेत्रीय सम्मेलन काठमाडौंमा आयोजना गरिएको छ ।

काठमाडौंको पुल्चोकस्थित होटल स्क्वायरमा सेप्टेम्बर २४ देखि २६ सम्म तीन दिनसम्म सञ्चालन हुने ‘थर्ड एसिया–प्यासिफिक इन्डिजिनस वुमेन एन्ड गल्र्स विथ डिसाबिलिटिज कन्भिनिङ–२०२६’ मा आदिवासी तथा अपाङ्गता भएका महिला र किशोरीका अधिकार, समावेशिता र उनीहरूले भोगिरहेका समस्याका विषयमा छलफल भएको हो । 

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालकी अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक प्रतिमा गुरुङका अनुसार सम्मेलनको मुख्य उद्देश्य आदिवासी जनजाति महिला, अपाङ्गता भएका व्यक्ति तथा महिलाको सवाललाई एकीकृत रूपमा उठाउँदै उनीहरूको अधिकार र सहभागितालाई सुनिश्चित गर्न पहल गर्नु हो ।

उनले बहुल पहिचान भएका आदिवासी अपाङ्गता भएका महिला तथा व्यक्तिहरू राज्यले उपलब्ध गराउने आधारभूत सेवा तथा स्रोतबाट बढी वञ्चित हुने गरेको बताएकी छन् ।

उनले महिला, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिलाई राज्यले छुट्टाछुट्टै समूहका रूपमा हेर्दा बहुल पहिचान भएका समुदायको समस्या ओझेलमा पर्ने गरेको बताइन् ।

उनले भनिन्, ‘आदिवासीभित्रमा पनि आदिवासी अपाङ्गता भएका व्यक्तिहरू र महिलाहरू छन् । अपाङ्गताभित्रमा पनि आदिवासी छन् । बहुल पहिचान भएका जति समुदायहरू हुन्छन्, ती समुदायहरूले राज्यले दिने सेवा स्रोत समग्र महिलाको लागि जाँदो रहेछ । अथवा समग्र आदिवासीको लागि जाँदो रहेछ । साथै समग्र अपाङ्गता भएका व्यक्तिको लागि जाँदो रहेछ । इन्टरसेक्सनमा हुने मल्टिपल वा बहुल विभेद अथवा बहुल पहिचान भएका समुदायका थोरै जाने रहेछ । सूचनाको हक, सेवाको हक राज्यले दिनुपर्ने सेवा, सूचना र शिक्षा, स्वास्थ्य, रोजगारका विषयहरूलाई हेर्ने हो भने बढी बहुल पहिचान भएका व्यक्तिहरू यस्ता आधारभूत अधिकारहरूबाट वञ्चित भएका छन् ।’ 

उनले सूचना, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत अधिकारमा बहुल पहिचान भएका व्यक्तिहरू बढी वञ्चित हुने गरेको विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको उल्लेख गरिन् । 

उनले महिला, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्ति कुनै पनि समरूप समूह नभएको उल्लेख गर्दै यी समुदायभित्र पनि फरक–फरक पहिचान र अवस्था रहेको बताइन् । उनका अनुसार आदिवासी समुदायभित्र अपाङ्गता भएका व्यक्ति र महिला छन् भने अपाङ्गता भएका व्यक्तिहरूभित्र पनि आदिवासी जनजाति रहेका छन् ।

गुरुङले विश्वभर करिब १६ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको अपाङ्गताको अवस्थामा रहेको तथ्य प्रस्तुत गर्दै यसको ठूलो हिस्सा विकासोन्मुख देशहरूमा रहेको बताइन् । अपाङ्गता भएका व्यक्तिहरूको अवस्था गरिबी, जोखिम र जलवायु परिवर्तनका प्रभावसँग समेत अन्तरसम्बन्धित रहेको उनले बताइन् । 

आदिवासी समुदाय आफैँ सामाजिक तथा आर्थिक रूपमा सीमान्तकृत अवस्थामा रहेको बताउँदै उनले गरिबी र जोखिमको अवस्थाले अपाङ्गता भएका आदिवासी समुदायको समस्या थप जटिल बनाउने उल्लेख गरिन् ।

गुरुङका अनुसार विश्वभर करिब ५ करोड ४० लाख आदिवासी अपाङ्गता भएका व्यक्ति रहेको र त्यसमध्ये करिब २ करोड ८० लाख महिला रहेको तथ्यांक प्रस्तुत गरिएको छ । एसिया प्रशान्त क्षेत्रमा मात्रै ठूलो संख्यामा आदिवासी अपाङ्गता भएका व्यक्ति रहेको उल्लेख उनले उनीहरूको अवस्था गरिबी, जलवायु परिवर्तन र अन्य जोखिमसँग जोडिएको बताइन् । 

उनले बहुल पहिचान भएका समुदायलाई राज्यका नीति, योजना तथा कार्यक्रमको मूलधारमा समेट्नुपर्नेमा जोड दिइन् । महिला, आदिवासी जनजाति र अपाङ्गताको विषयलाई अलग–अलग रूपमा मात्रै सम्बोधन गर्दा एकभन्दा बढी पहिचान बोकेका व्यक्तिले भोग्ने विभेद र समस्याको समाधान हुन नसक्ने उनले बताइन् । 

गुरुङले आदिवासी अपाङ्गता भएका महिला तथा व्यक्तिका अधिकार र उनीहरूले भोग्दै आएका समस्याका विषयमा आफूहरूले सन् २०११ देखि निरन्तर रूपमा आवाज उठाउँदै आएको बताइन् । उनले अन्तर्राष्ट्रियस्तरमा समेत बहुल पहिचान भएका समुदायका सवाललाई नीति निर्माणको केन्द्रमा ल्याउन पर्ने बताइन् । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्