Skip to content

दशैंमा भोकै परेका अलपत्र मजदुरलाई नगरपालिकाले दियो मासुसहित खाद्यन्न

nmb bank inside

शंकर श्रेष्ठ 

धादिङ । दशैंको मुखमा काम गरेको ज्याला नपाएर घर फर्किन नसकी कार्यस्थलमै अलपत्र परेका १२ जना निर्माण मजदुरलाई धादिङको नीलकण्ठ नगरपालिकाले दशैंका लागि मासुसहित खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । 

चाडबाडको समयमा खाद्य संकट झेलिरहेका मजदुरहरूलाई नगरपालिकाले दाल, चामल, तरकारी र मासुसहितको राहत सामग्री हस्तान्तरण गरेको हो ।

नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोला पक्की पुल निर्माणमा खटिएका ती मजदुरहरूले विगत ५–६ महिनादेखि ज्याला पाएका थिएनन् । हातमा सुको नहुँदा घर जाने गाडीभाडा समेत जुटाउन नसकेपछि उनीहरू कार्यस्थलमै रोकिन बाध्य भएका थिए । 

३६ जनाको टोलीमध्ये २४ जनाले साथीभाइसँग ऋण काढेर र घरबाट पैसा मगाएर दशैं मनाउन घर फर्किए पनि आर्थिक अभावका कारण सल्यानका सात, बाँकेका दुई, सुर्खेतका दुई र गोरखाका एक गरी १२ जना मजदुर धादिङमै अलपत्र छन् ।

नगरपालिकाले दशैंकै अवसर पारेर खाद्यान्न सामाग्री दिएपछि मजदुरहरूले ठूलो राहत महसुस गरेका छन् । आफ्नै नगरभित्र श्रम गरिरहेका मजदुरहरू चाडबाडका बेला भोकै बस्नुपर्ने अवस्था आएको थाहा पाएपछि खाद्यान्न सहयोग गरिएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताए ।

“परिवारसँग बसेर दशैं मनाउन नपाए पनि मजदुरहरूले काम गरेकै ठाउँमा मीठो-मसिनो खाएर चाडबाड मनाउन सकून् भनेर खाद्यान्न सामाग्री वितरण गरेका हौं,” नगर प्रमुख ढुंगानाले भने ।

नगरपालिकाको सहयोगले दशैंको समयमा छाक टार्ने चिन्ता हटे पनि मजदुरहरूले ६ महिनादेखि रोकिएको आफ्नो ज्याला भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेका छन् । सल्यानका अम्मर कार्कीले भन्छन्-“हाम्रो ज्याला दिलाइदिएर हामीलाई घर पठाइदिनुहोस् ।”

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्