सर्लाहीमा जुवा खेल्ने २६ जना पक्राउ, करिब १० लाख रकम बरामद
विश्वनाथ ठाकुर, नेपाल न्यूज बैंक
सर्लाही । सर्लाहीमा जुवा तथा तास खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ । दिपावलीको राती सदरमुकाम मलंगवा–८ बाट ९ जना र ब्रहम्पुरी गाउँपालिकाबाट १७ जनालाई करिब १० लाख रकमसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट नौ लाख ४९ हजार ९८५ रुपैयाँ नेपाली नगद, ३१ हजार ५० रुपैयाँ भारतीय रुपैयाँसहित तास, मोबाइल फोन तथा जुवा खेल्न प्रयोग गरिने अन्य सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका र ब्रह्मपुरी गाउँपालिकाका विभिन्न स्थानमा गोप्य सूचनाका आधारमा गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन् ।
मलंगवा नगरपालिका–८ स्थित भागनारायण चौधरीको घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा ९ जनालाई नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । पक्राउ पर्नेमा मलंगवा नगरपालिका, गोडैता नगरपालिका तथा भारतीय क्षेत्र सोनवर्षाका बासिन्दासमेत रहेका छन् ।
उक्त स्थानबाट प्रहरीले विभिन्न दरका नेपाली नोट ६ लाख ३० हजार १६० रुपैयाँ, भारतीय नोट ३० हजार २५० रुपैयाँ, तासका तीन बुक र २५ थान मोबाइल फोन बरामद गरेको छ ।
त्यसैगरी, ब्रह्मपुरी गाउँपालिका–२ स्थित धनेस साहको कुखुरा फार्म र स्थानीय सन्तोष साहको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छुट्टाछुट्टै छापामारी गरी १७ जनालाई नियन्त्रणमा लिएको छ ।
कुखुरा फार्मबाट नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट एक लाख १५ हजार ८९५ रुपैयाँ नेपाली, ६०० रुपैयाँ भारतीय नगद, एक लाख ३० हजार रुपैयाँ उल्लेख भएको माछापुच्छे« बैंकको चेक तथा तासका तीन बुक बरामद भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।
त्यस्तै, सन्तोष साहको घरबाट पक्राउ परेका व्यक्तिहरूको साथबाट दुई लाख ३ हजार ९३० रुपैयाँ नेपाली, २०० रुपैयाँ भारतीय नगद, छ थान डाइस, तास खेल्न प्रयोग हुने विभिन्न सामग्री तथा तासका बुक बरामद गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्