३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको आरोप लगाएका छन् ।
तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै बस्नेतले २०४६ सालदेखि अहिलेसम्मको अवधिलाई विकास र समृद्धिका लागि काम गर्न पाएको ३५ वर्षका रूपमा व्याख्या गर्नु गलत हुने बताए ।
उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकले निरन्तर आन्दोलन, राजनीतिक अस्थिरता, माओवादी सशस्त्र द्वन्द्व र राजाको प्रत्यक्ष शासनजस्ता चुनौती सामना गर्नुपरेको भन्दै विकासका लागि पर्याप्त समय र वातावरण नै नपाएको समेत बताए ।
‘३५ वर्षमा केही भएन भनेर एउटा भाष्य बनाएर भ्रम सिर्जना गरिँदै छ । २०४६ सालदेखि आजसम्मको समयलाई ३५ वर्ष मान्ने हो भने के हामीले ती सबै वर्ष विकास र समृद्धिमा लाग्न पायौँ त ?’ उनले प्रश्न गरे ।
बस्नेतका अनुसार २०४६ सालको आन्दोलनपछि २०४७ मा आमनिर्वाचन र २०४८ मा स्थानीय निर्वाचन भए पनि त्यसलगत्तै कर्मचारी आन्दोलनलगायत विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलन सुरु भएका थिए ।
उनले एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारको कार्यकाललाई विकास र समृद्धिको आधार तयार पार्ने महत्त्वपूर्ण समयका रूपमा व्याख्या गरे । उक्त सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता, असहाय भत्ता तथा सिँचाइ, सडक र शिक्षासम्बन्धी कार्यक्रम ल्याएर जनताको जीवनस्तर सुधार्ने प्रयास गरेको उनले बताए ।
त्यसपछि २०५२ देखि २०६२ सम्म चलेको माओवादी सशस्त्र द्वन्द्वले नेपालको विकास प्रक्रियामा ठूलो अवरोध पु¥याएको उनले बताए । द्वन्द्वका क्रममा पूर्वाधार संरचना ध्वस्त हुनुका साथै हत्या, हिंसा, अपहरण र लुटपाटका घटनाले मुलुकको विकास प्रभावित भएको उनले बताए ।
त्यसै अवधिमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि करिब तीन वर्ष शाही शासनको सामना गर्नुपरेको उनले उल्लेख गरे । लामो राजनीतिक संघर्षपछि २०६४ मा संविधानसभा निर्वाचन भए पनि त्यसबाट संविधान बन्न नसकेपछि २०७० मा दोस्रो संविधानसभाको निर्वाचन गर्नुपरेको उनले बताए ।
बस्नेतले नेपालको संविधान निर्माणका क्रममा अन्तर्राष्ट्रिय दबाबको सामना गर्दै नेपाली जनताको चाहनाअनुसार संविधान निर्माण गर्न एमालेले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे । त्यसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व निर्णायक रहेको उनले बताए ।
उनले ओली नेतृत्वको सरकारले भारतीय नाकाबन्दीको सामना गरेको प्रसंग उल्लेख गर्दै राष्ट्रियताको सवालमा ओलीले दृढ अडान लिएको बताए ।
‘मेरा जनताले ग्यास पाएका छैनन्, पेट्रोल पाएका छैनन्, खाना पाएका छैनन् । नाकाबन्दी नखोली म भारतको निमन्त्रणालाई स्वीकार गर्दिनँ भन्ने हिम्मत गर्ने नेता केपी शर्मा ओली बन्नुभयो,’ उनले भने ।
बस्नेतले ओली नेतृत्वकै समयमा चीनसँग व्यापार तथा पारवहन सन्धि भएको र नेपालको व्यापारिक पहुँच भारतीय बन्दरगाहमा मात्र सीमित नरही चीनतर्फ पनि विस्तार भएको दाबी गरे । यसले नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित मुलुक बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल भएको उनले बताए ।
त्यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी गर्नु ओलीको नेतृत्वमा भएको ऐतिहासिक काम भएको उनले उल्लेख गरे । उक्त नक्सालाई राष्ट्रिय सहमतिका साथ संविधान संशोधनमार्फत संवैधानिक मान्यता दिलाउन ओलीले भूमिका खेलेको उनले बताए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्