Skip to content

बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने

nmb bank inside

नयाँ दिल्ली । भारतीय उद्योग परिसंघ (सीआईआई) ले नेपालका बाढी प्रभावित क्षेत्रमा उद्योग व्यवसाय पुनःसञ्चालन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि पुनर्जीवित गर्न सहकार्य गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँगको साझेदारीमा परिसंघले प्रभावित लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को पुनःस्थापना र स्थानीय आपूर्ति शृंखला सुधारलाई प्राथमिकतामा राखेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा शनिबार सीआईआई र एफएनसीसीआईबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य तथा मानवीय सहायता उपलब्ध गराउने र त्यसपछि प्रभावित परिवारको आम्दानीका स्रोत तथा उद्योग व्यवसाय पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव छ ।

सीआईआई र एफएनसीसीआईले तयार पारेको १३ पृष्ठको कार्ययोजनाअनुसार कार्यक्रमको पहिलो चरण सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव छ । दोस्रो चरणमा भने बाढीबाट क्षति पुगेका व्यवसाय पुनःसञ्चालन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि विस्तारमा जोड दिइनेछ ।

लघु, साना तथा मझौला उद्यमको पुनःस्थापनामा जोड

कार्ययोजनाले बाढीबाट प्रभावित लघु, साना तथा मझौला उद्यमलाई स्थानीय अर्थतन्त्र पुनःस्थापनाको प्रमुख आधार मानेको छ । यसका लागि प्रभावित उद्योग व्यवसाय र स्थानीय मूल्य शृंखलामा परेको क्षतिको द्रुत मूल्यांकन गरिनेछ । एफएनसीसीआईले बाढी प्रभावित क्षेत्रमा गरेको सर्वेक्षण तथा अध्ययनलाई समेत आधार बनाएर व्यवसायको क्षति पहिचान गर्ने प्रस्ताव छ ।

क्षतिको मूल्यांकनपछि प्रभावित उद्यमलाई पुनःसञ्चालन गर्न प्राविधिक परामर्श, वित्तीय स्रोतसम्बन्धी जानकारी र बजार पहुँच विस्तारमा सहयोग गरिनेछ । कृषि, पशुपालन, साना व्यापार तथा सेवामूलक व्यवसाय पुनःसञ्चालन गर्न आवश्यक औजार, उपकरण, उत्पादन सामग्री र प्रारम्भिक सहयोग उपलब्ध गराउने योजना पनि छ ।

नेपाली र भारतीय उद्योगी व्यवसायीबीच व्यवसायदेखि व्यवसायसम्मको सहकार्य (बीटुबी) कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । काठमाडौंस्थित एफएनसीसीआईको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी प्रभावित क्षेत्रका व्यवसायीलाई भारतीय उद्योगीहरूसँग जोडिनेछ । यसबाट नयाँ व्यापारिक साझेदारी, बजार विस्तार र आपूर्ति शृंखला पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय बजारको माग र पुनर्निर्माणको आवश्यकताअनुसार सीप विकास तथा व्यावसायिक तालिम सञ्चालन गरी प्रभावित परिवारलाई स्थानीय रोजगारदाता र एफएनसीसीआईका सदस्य व्यवसायसँग जोड्ने योजना पनि छ । महिला नेतृत्वका परिवार र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ ।

स्वास्थ्य र सरसफाइमा पहिलो चरणको सहयोग

आर्थिक पुनःस्थापनाका कार्यक्रम अघि बढाउनुअघि पहिलो चरणमा स्वास्थ्य तथा मानवीय सहायता उपलब्ध गराइनेछ । यसअन्तर्गत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण र सरसफाइ सामग्री उपलब्ध गराउने प्रस्ताव छ ।

त्यस्तै, दुईवटा आधारभूत जीवनरक्षक सुविधा (बीएलएस) सहितका एम्बुलेन्स नेपालका दुई अस्पताललाई हस्तान्तरण गरिनेछ । एउटा एम्बुलेन्सले वार्षिक करिब ४०० बिरामीलाई अस्पताल पु¥याउन र ६ हजार नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सक्ने अनुमान गरिएको छ । दुई एम्बुलेन्सबाट वार्षिक ८०० बिरामीलाई सेवा र १२ हजार नागरिकसम्म स्वास्थ्य पहुँच विस्तार गर्ने लक्ष्य छ ।

रसुवा, नुवाकोट र धादिङ प्राथमिकतामा

कार्यक्रमको प्रारम्भिक कार्यक्षेत्रमा बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्र समेटिएका छन् । आवश्यकताका आधारमा गोरखा, बागलुङ, मुस्ताङ र मनाङमा समेत कार्यक्रम विस्तार गर्न सकिने कार्ययोजनामा उल्लेख छ ।

कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकारको स्वीकृति र सम्बन्धित निकायसँग समन्वय आवश्यक पर्नेछ । सीआईआईले भारत सरकार तथा सम्बन्धित निकायसँग समन्वय, स्रोत परिचालन र कार्यान्वयन साझेदारको पहिचान गर्नेछ भने एफएनसीसीआईले नेपाल सरकार, स्थानीय तह र व्यवसायी समुदायसँग समन्वय गर्नेछ ।

समझदारीपत्रमा सीआईआई अन्तर्राष्ट्रिय परिषद्का सहअध्यक्ष तथा सन इन्टरनेसनल लिमिटेडका अध्यक्ष विक्रमजित सिंह साहनी र एफएनसीसीआईका उपाध्यक्ष कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

समझदारी एक वर्षका लागि लागू हुनेछ । यद्यपि, यसले तत्काल कुनै पनि पक्षलाई निश्चित आर्थिक दायित्व सिर्जना गरेको छैन । कार्यक्रमका लागि आवश्यक वित्तीय स्रोत र गतिविधिबारे छुट्टै लिखित सहमति गर्नुपर्ने व्यवस्था छ । दोस्रो चरणका आर्थिक पुनःस्थापना कार्यक्रम पनि पहिलो चरणको समीक्षा र छुट्टै स्वीकृतिपछि मात्र अन्तिम रूप दिइने कुरापनि समझदारी पत्रमा उल्लेख छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्