सुदूरपश्चिमका सन्दर्भमा प्रधानमन्त्री वालेनको भारत भ्रमण
नरी वडु
प्रधानमन्त्री वालेन्द्र शाहबाट भएको छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमण सुदूरपश्चिमका सन्दर्भमा समेत महत्वपूर्ण ठहरिएको पाइएको छ । अपेक्षित रुपमा सुदूरका सवालहरु सम्ंवोधन नभएपनि यहाँका केही महत्वपूर्ण परियोजनामा भने भ्रमणले सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । भ्रमणमा देशकै बहुप्रतिक्षित पञ्चेश्वर परियोजना र यहाँको जनजीविकासँग जोडिएका सवालमा समेत भएका केहि सहमतिले नागरिकमा आशाको सञ्चार गरेको छ ।
बहुप्रतिक्षित पञ्चेश्वर परियोजना
करिब छ दशकअघिदेखि चर्चामा आउँदै सेलाउँदै गरेको पञ्चेश्वर परियोजनासम्बन्धी मुद्दा तीन दशकयतादेखि नेपाल–भारतको उच्चस्तरीय बैठकका समयमा छलफल हुदै आएपनि अपेक्षित उपलब्धि प्राप्त हुन सकेको थिएन । यो परियोजनाको सुरुवात हुने भन्ने सुनेका स्थानीयहरु बुढा भइसके तर अझैसम्म पनि परियोजनाको काम व्यवहारिक रुपमा अझै अघि बढ्न सकेको छैन् । पञ्चेश्वर परियोजना बनेपछि टनकपुर ब्यारेजमा आउने कुल पानी ७२६ क्यूसेक (क्यूबिक फूट प्रतिसेकेन्ड) हुने र त्यसको आधा अर्थात् ३५८ क्यूसेक नेपालले पाउनुपर्ने हुन्छ । टनकपुरमा अहिले नै भारतले ३२६ क्यूसेक क्षमताको नहर बनाएर २४८ क्यूसेक पानी लगिरहेको छ । नेपाललाई भने मात्र ३८ दशमलब ३५ क्यूसेक पानी उपलब्ध गराइएको छ । महाकाली साझा र पानी आधाआधा भनिए पनि अहिलेको वितरणले त्यसको प्रत्याभूति गरेको छैन् । पञ्चेश्वर बनिसकेपछि चाहिँ नेपालले आफ्नो भागको कुल ३५८ क्यूसेक पानी पाउने ग्यारेन्टी हुनुपर्ने विषय पनि पेचिलो रुपमा उठ्ने गरेको छ ।
नेपालतर्फ टनकपुर ब्यारेजबाट आउने पानीको सिञ्चित क्षेत्र मात्र ९४ हजार हेक्टर हुने र त्यसका लागि १२८ क्यूसेक पानी नै पर्याप्त हुन्छ । अब बाँकी १३० क्यूसेक पानी भारतलाई नै दिने र त्यसका लागि उसले क्षतिपूर्ति दिनुपर्ने अडान नेपाली पक्षबाट राखिदै आएको छ । त्यसमा भारतीय पक्ष सकारात्मक देखिदैन् ।
यस पटक पनि प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणका क्रममा नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ । आइतवार भारत गएका प्रधानमन्त्री सोमवार स्वदेश फर्किनुअघि जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दस्तावेजमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने विषयमा नेपाल र भारतबीच फेरि सहमति भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुवै देशले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर शीघ्र टुङ्ग्याएर कार्यान्वयन प्रक्रिया अघि बढाउने सहमति गरेका हुन् । डीपीआरलाई अन्तिम रूप दिएलगत्तै आयोजना कार्यान्वयनको काम सुरु गर्ने विषयमा समेत दुवै पक्ष सहमत भएका छन् ।
नेपाल र भारतबीच २०५२ सालमा महाकाली सन्धि भएपछि पञ्चेश्वर आयोजनालाई संयुक्त परियोजनाका रूपमा अघि बढाउने सहमति भएको थियो । महाकाली नदीको पञ्चेश्वरमा बाँध निर्माण गरी ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, रुपालीगाडमा अर्को बाँध निर्माण गरेर थप २४० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।
तर, आयोजना निर्माणका लागि सहमति भएको तीन दशक बितिसक्दा पनि कार्यान्वयनको चरणमा पुग्न नसक्नु दुखद छ । आयोजनाको डीपीआरमै नेपाल र भारतबीच सहमति जुट्न नसक्दा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो । प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणले फेरी पञ्चेश्वर परियोजनाको काम अगाडी बढ्ने आशा भने पलाएको छ ।
सुदूर पहाडको एकमात्र मोटरेवल पुल उद्घाटन
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र समकक्षी नरेन्द्र मोदीले दार्चुलास्थित महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका छन् ।
यो पुल दार्चुला महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने गरी बनाइएको छ । स्थानीय स्तरमा यो पुललाई सजाएर राखिएको छ । यस मोटरेबल पुलले दुवै देशलाई जोड्ने छ । त्यससँगै दुवै मुलुकले पुलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय स्थापना गरी सञ्चालनको तयारी समेत गरेका छन् । यसअघि कैलाली र कञ्चनपुरबाहेक सुदूर पहाडका जिल्लाहरुमा भारतसंग सिधा सम्पर्कका लागि कुनै मोटरेवल पुल थिएनन् ।
दार्चुला र यस आसपास पहाडी भेगलाई भारतसँग सिधा जोड्न यो संरचना महत्त्वपूर्ण हुनेछ । यो संरचनाले नेपाल र भारतको पर्यटन, अर्थतन्त्र तथा नागरिक स्तरको सम्बन्ध अझ बलियो बनाउने विश्वास दुवै देशले लिएका छन् । यसअघि झोलुङ्गे पुलमा यात्रा गर्दै आएका यहाँका स्थानीयले अब भने आफ्नो सवारीसाधन सहित नेपाल–भारत यात्रा गर्न सक्नेछन् ।
यो पुल निर्माणका सबै लागत भारत सरकारले बेहोरेको छ । तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ३ असोज २०८० मा पुल शिलान्यास गरेका थिए । यो पुल भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले ३२ करोड ९८ लाख भारुमा बनाएको हो ।
तर यता बैतडीको जुलाघाट (झुलाघाट)मा रहेको अढाइ सय वर्ष पुरानो पुलको मुद्दाले भने नेपालका प्रधानमन्त्रीको यस पटकको भ्रमणमा पनि प्रवेश पाएन् । यसअघिका प्रायः भ्रमणमा नेपाल–भारत सिमानाका जुलाघाटमा मोटरेवल पुलको विषय उठ्ने गरेको थियो । यस पटक भने उक्त विषयले प्रवेश पाएको छैन् । विगत दुई दशकदेखि नेपाल–भारत सिमानाका जुलाघाटमा मोटरेवल पुलका लागि विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएपनि उक्त विषयले अझै सार्थकता पाउन सकेको छैन् । जुलाघाटमा मोटरेवल पुल निर्माणका लागि नेपाल तथा भारत दुबैतर्फका स्थानीयले ३८ दिन लामो अनशनसमेत बसेका थिए । तर उक्त मुद्दा अझै ओझेलमा छ ।
दोधरा चाँदनीमा एकीकृत जाँच चौकी सिलन्यास
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट बनबासामा नयाँ एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको शिलान्यास गरेका छन् ।
बनबासामा बन्ने नयाँ एकीकृत जाँच चौकी (आइसिपी –क्ष्ऋए) ले नेपाललाई—विशेषगरी सुदूरपश्चिम प्रदेश र समग्र पश्चिम नेपालको व्यापार, यातायात, सीमा व्यवस्थापन र स्थानीय अर्थतन्त्रमा बहुआयामिक फाइदा पुर्याउने विश्वास गरिएको छ । व्यापार सहजीकरण र भन्सार प्रक्रियामा छरितोपन तथा सुरक्षासम्बन्धी सेवाहरू एकै स्थानमा एकीकृत हुँदा मालबाहक सवारीसाधनको प्रक्रिया छोटो र सरल बन्ने छ । औपचारिक व्यापारिक प्रवेशद्वार, कृषिजन्य उत्पादन, जडीबुटी तथा स्थानीय वस्तुहरूको औपचारिक र व्यवस्थित निकासी–पैठारीका लागि भरपर्दो पूर्वाधार तयार हुन्छ ।
सुदूरपश्चिमको आर्थिक गतिविधिमा वृद्धि, स्थानीय बजार र उद्यमशीलता ् कञ्चनपुर, बैतडी, डडेल्धुरा, दार्चुलालगायत सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रको आपूर्ति शृङ्खला बलियो बन्दा स्थानीय व्यापार, गोदाम, ढुवानी र सेवा क्षेत्रमा गतिशीलता आउने विश्वस यसले गरेको छ ।
सारमा प्रधानमन्त्रीको यस पटकको भारत भ्रमण सुदूरपश्चिमका लागि सामान्य रहेको मान्न सकिन्छ । सम्भावना थुप्रै रहँदारहँदै पनि त्यसअनुरुपका उपलब्धि प्राप्त भए भनेर मान्न सकिने अवस्था छैन । तर असन्तुष्ट भइहाल्नुपर्ने अवस्था पनि छैन । बनवासको आइसिपिको अवधारणा पूर्णतः कार्यान्पयनेमा आउने हो भने निश्चय पनि यसबाट समगै प्रदेशलाई केही लाभ पुग्ने आशा गर्नाु अनुचित हुने छैन । त्यस्तै वर्षौैदेखि हलो अडकिएजस्तो अवस्थामा रहेको पञ्चेश्वर परियोजनालाई पनि सम्बोधनको प्रयास हुनु निश्चय पनि महत्वपूर्ण छ । तर विगतमा यो परियोजना किन अगाडी बढन सकेन भन्ने चित्तबुझ्दो जवाफ नपाइएको अवस्थामा यो परियोजना जुलाघाटको पूलजस्तै हल्लिइरहने झुलामा परिणत नहोला भन्ने कुराको प्रत्नयाभूति कसरी गर्ने ? कम्तिमा नेपाली नीतिनिर्माताले यस प्रश्नको चित्तबुझदो उत्तर दिएर सुदूरपश्चिम प्रदशवासीलाई आश्वस्त गर्नु जरुरी छ ।
(सुदूरपश्चिमका अग्रज पत्रकार लेखक वडु समसामयिक विषयका विश्लेषणात्मक टिप्पणीकर्ताका रुपमा चर्चित छन् ।)
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्