Skip to content

सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा

nmb bank inside

सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने र सरकारले गरेका काममा देखिएका कमजोरी तथा कमीकमजोरी औँल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलको भएको बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नागरिकका सरोकारका विषयमा सरकारलाई सहयोग गर्ने तर सरकारले आफ्नो जिम्मेवारी पूरा नगरेका विषयमा प्रश्न उठाउने पार्टीको नीति रहेको बताए । 

उनले सुकुम्बासी समस्याको समाधानमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । संसद्बाट पारित भएर राष्ट्रिय सभामा अड्किएको कानुनलाई समयमै अघि बढाइएको भए अहिले कानुनी आधारमा सुकुम्बासी समस्या समाधान गर्ने प्रक्रिया धेरै अगाडि बढिसक्ने उनको दाबी छ । 

थापाले अहिले सुकुम्बासी समस्या कुन अवस्थामा पुगेको छ भन्ने विषयमा समेत स्पष्टता नरहेको बताए । वीरगञ्जका बासिन्दाहरूले आफूहरूसँग भेटेर समस्या सुनाएको उल्लेख गर्दै उनले राज्यले संविधान, नियम र अदालतका आदेशसमेत पालना नगरी व्यवहार गर्दा वास्तविक सुकुम्बासीसँगै घरबार भएका नागरिकसमेत सुकुम्बासी बन्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले यस्ता विषयमा नेपाली कांग्रेस मौन बस्न नसक्ने उल्लेख गरे ।

त्यस्तै, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले नेपालको विषयवस्तु प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरे पनि त्यसपछि सरकारले गरेका पहल र उपलब्धिबारे प्रश्न उठाए । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप)मा प्रधानमन्त्रीले हिमालसम्बन्धी पहलसहित विभिन्न प्रस्ताव अघि सारे पनि त्यसको कार्यान्वयन र उपलब्धिबारे सरकारले स्पष्ट पार्नुपर्ने उनले बताए । 

उनले हिमालसम्बन्धी पहल भारत र चीनसँगको छलफलमा अघि बढेको छ कि छैन तथा त्यसका लागि आवश्यक संरचना निर्माण भएको छ कि छैन भन्ने प्रश्न गरे । जलवायु न्यायका सन्दर्भमा नेपालले के उपलब्धि हासिल ग¥यो भन्ने विषयमा पनि सरकारले जवाफ दिनुपर्ने उनले बताए ।

थापाले स्वास्थ्य बिमा कार्यक्रमसमेत अस्तव्यस्त बनेको आरोप लगाए । लामो प्रयासपछि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा हजारौँ नागरिकले बिमा छाडिरहेको उल्लेख गर्दै उनले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

अध्यादेशको विषयमा बोल्दै सभापति थापाले अप्ठ्यारो परिस्थितिमा अध्यादेश ल्याउनु अस्वाभाविक नभए पनि त्यसलाई नियमित अभ्यासजस्तो बनाउन नहुने बताए । विगतमा कांग्रेस नेतृत्वको सरकारले पनि अध्यादेश ल्याएको स्मरण गराउँदै उनले वर्तमान सरकारलाई अध्यादेशलाई सामान्य राजनीतिक औजारका रूपमा प्रयोग नगर्न सचेत गराएको बताए ।

उनले सरकारले अध्यादेश ल्याएर राष्ट्रपतिसमक्ष पठाउने तर त्यसको प्रक्रिया र उद्देश्य स्पष्ट नहुने अवस्था देखिएको टिप्पणी गरे । पछिल्लो पटक पठाइएको अध्यादेशबारे सञ्चारमाध्यमले पूर्ण विषयवस्तु नबुझी समाचार प्रकाशन गरेको भन्दै उनले त्यसको आधा विषय मात्रै बाहिर आएको दाबी गरे ।

उनले सरकारका सकारात्मक कामको प्रशंसा गर्नुका साथै कमजोरीका विषयमा प्रश्न उठाउनु पनि प्रमुख प्रतिपक्षी दलको दायित्व भएको स्पष्ट गरे । उनले नागरिकका सरोकारका विषयमा कांग्रेस निरन्तर खबरदारीमा रहने बताए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्