काठमाडौं । सहकारीलाई केवल आर्थिक कारोबार र बचत ऋणको माध्यमका रूपमा मात्र नभई शान्ति, सहकार्य र सामाजिक एकताको आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपालमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन आयोजना हुने भएको छ ।
विश्व सहकारी अभियानलाई शान्ति र समृद्धिसँग जोड्ने लक्ष्यसहित राष्ट्रिय सहकारी महासंघ लिमिटेडले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्न लागेको हो ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलका अनुसार सन् २०२६ लाई अन्तर्राष्ट्रिय सहकारी अभियानले शान्ति स्थापनामा सहकारीको भूमिकालाई जोड दिने वर्षका रूपमा अघि सारेको छ ।
संयुक्त राष्ट्रसंघले समेत सन् २०२६ लाई अन्तर्राष्ट्रिय शान्ति वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा सहकारी क्षेत्रमार्फत विश्वव्यापी शान्तिको सन्देश प्रवाह गर्न सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा अध्यक्ष पोखरेलले विश्व सहकारी अभियानका नेतृत्वकर्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी अभियन्ता, सरकारी निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएर सहकारीको योगदान र सम्भावनाबारे छलफल गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।
उनले भने, ‘सन् २०२६ लाई अन्तर्राष्ट्रिय सहकारी अभियानले शान्ति स्थापनामा सहकारीको महत्त्वपूर्ण भूमिकालाई जोड दिने वर्षका रूपमा अघि सारेको छ । यही सन्दर्भमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी अभियन्ता, सरकारी निकाय र निजी क्षेत्रलाई एकै ठाउँमा ल्याएर शान्ति स्थापना, सहकारीको योगदान र आर्थिक समृद्धिका विषयमा छलफल गरिनेछ ।’
सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए), आईसीए एसिया प्यासिफिकका नेतृत्वकर्तासहित विभिन्न मुलुकका सहकारी प्रतिनिधिहरूको सहभागिता रहने उनले बताए । केही देशले सहभागिताको पुष्टि गरिसकेको र अन्य मुलुकबाट पनि प्रतिनिधिहरू आउने क्रम जारी रहेको उनले जानकारी दिए ।
नेपालभित्र पनि सम्मेलनलाई व्यापक सहभागितामूलक बनाउन महासंघले तयारी गरिरहेको छ । महासंघका ३१८ सदस्य संघलाई निमन्त्रणा पठाइसकिएको छ भने देशभरका करिब ३२ हजार सहकारी संघसंस्था र तिनमा आबद्ध नेपाली जनता एक करोड नौ लाखलाई सम्मेलनमा सहभागी हुन आह्वान गरिएको पोखरेलले बताए । सम्मेलनमा ६ सयभन्दा बढी सहकारी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ ।
उनले भने, ‘हामीले विश्व सहकारी सङ्गठनभित्र जोडिएका देशहरूलाई आमन्त्रण गरेका छौँ र त्यहाँबाट केही मुलुकहरूको कन्फर्मेसन भएको छ । तर सङ्गठनात्मक हिसाबले अन्तर्राष्ट्रिय सहकारी महासङ्घको उपस्थिति हुन्छ, अन्तर्राष्ट्रिय सहकारी महासङ्घ एसिया प्यासिफिकको चाहिँ लिडरहरूको उपस्थिति हुन्छ । र अहिले केही देशहरूको प्रतिनिधिमूलक रूपले उहाँहरूले कन्फर्मेसन पनि पठाउनुभएको छ । नेपालभित्र पनि हाम्रा सङ्गठित, हामीसँग आबद्ध हुनुभएको राष्ट्रिय सहकारी महासङ्घका सेयर सदस्यहरू ३१८ वटा सङ्घहरूलाई हामीले पत्राचार गरेका छौँ र सिङ्गो सहकारी अभियानलाई नै करिब ३२ हजार सहकारी सङ्घसंस्थालाई र त्यसमा आबद्ध १ करोड ९ लाख नेपाली जनताहरूलाई नै आह्वान गरेको स्थिति छ । करिब ६ सयभन्दा बढी सहकारी अभियानका प्रतिनिधिहरूबीचमा यो कार्यक्रम सम्पन्न गर्ने तयारी गरिरहेका छौँ ।’
लुम्बिनी परिसरभित्र रहेको बृहत् सभाहलमा आयोजना हुने सम्मेलनमा लुम्बिनी प्रदेश सरकार सहआयोजकका रूपमा रहनेछ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा शान्ति निर्माण र सहकारी, आर्थिक समृद्धि, दिगो सहकारी विकास, अन्तर्राष्ट्रिय सम्बन्ध तथा दिगो विकासका विषयमा विज्ञहरूबीच छलफल हुनेछ ।
सम्मेलनका क्रममा सहकारी अभियन्ताहरूबीच अनुभव तथा सीप आदानप्रदान, सहकारी संस्थाहरूको अन्तरभ्रमण र लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलहरूको अवलोकन कार्यक्रमसमेत राखिने अध्यक्ष पोखरेलले जानकारी दिए । देशका ७७ वटै जिल्लाबाट सहकारी प्रतिनिधिको सहभागिता गराउने प्रयास भइरहेको उनको भनाइ छ ।
उनले भने, ‘तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा शान्ति निर्माण र सहकारी, आर्थिक समृद्धि, दिगो सहकारी विकास, अन्तर्राष्ट्रिय सम्बन्ध तथा दिगो विकासका विषयमा विज्ञहरूबीच छलफल हुनेछ । यसका साथै सहकारी अभियन्ताहरूबीच अनुभव र सीप आदानप्रदान, सहकारी संस्थाहरूको अन्तरभ्रमण तथा लुम्बिनीका पर्यटकीय स्थलहरूको अवलोकन कार्यक्रम पनि राखेका छौँ । देशका ७७ वटै जिल्लाबाट सहकारी प्रतिनिधिको सहभागिता गराउने हाम्रो प्रयास छ ।’
सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिका लागि तीन दिनको शुल्क ६ हजार रुपैयाँ निर्धारण गरिएको छ । विदेशी सहभागीमध्ये सार्क राष्ट्रका प्रतिनिधिका लागि १०० अमेरिकी डलर र अन्य देशका प्रतिनिधिका लागि २५० अमेरिकी डलर शुल्क तोकिएको छ । सहभागीका लागि बिहानको खाजा र दिउँसोको खानाको व्यवस्था पनि गरिनेछ ।
शान्ति र समृद्धिको आधार बन्न सक्छ सहकारी
अध्यक्ष पोखरेलका अनुसार सहकारीको मूल भावना नै शान्ति, सहकार्य, सहयात्रा र सहयोग हो ।
उनले भने, ‘सहकारीले आर्थिक गतिविधि सञ्चालन गर्नुका साथै समाजमा आपसी विश्वास, एकता र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’
उनले नेपालकै द्वन्द्वकालीन अवस्थालाई उदाहरण दिँदै राज्यको उपस्थिति कमजोर भएका र निजी क्षेत्र पुग्न हिच्किचाएका स्थानमा समेत सहकारीले स्थानीय नागरिकका आवश्यकता पूरा गर्न भूमिका खेलेको स्मरण गरे ।
रुवान्डामा भएको नरसंहारपछि आर्थिक तथा वित्तीय व्यवस्थापन र सामाजिक पुनर्निर्माणमा सहकारीको उपयोग गरिएको उदाहरण प्रस्तुत गर्दै उनले सहकारीले संकटबाट गुज्रिएका समुदायलाई पुनः संगठित गर्न सहयोग पु¥याउन सक्ने बताए ।
विश्वका विभिन्न मुलुकमा कृषि, औद्योगिक तथा वित्तीय क्षेत्रमा सहकारीले आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै उनले नेपालमा पनि सहकारीलाई आर्थिक विकाससँगै सामाजिक सद्भाव र शान्ति स्थापनाको माध्यम बनाउनुपर्ने धारणा राखे ।
सहकारी क्षेत्रका समस्या समाधानमा साझा पहल आवश्यक
नेपालको सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका वित्तीय अपचलन तथा अन्य समस्याले सहकारी अभियानभित्र विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता बढाएको पोखरेलको भनाइ छ ।
उनले सहकारी क्षेत्रका समस्या कुनै एउटा संस्था वा व्यक्तिको मात्र नभई समग्र अभियानसँग जोडिएका साझा समस्या भएको बताए । यस्ता समस्या समाधान गर्न राज्य, सहकारी अभियान र सहकारीकर्मीबीच सहकार्य आवश्यक रहेको उनको जोड छ ।
‘एक्लै सहकारी अभियानले पनि समस्या समाधान गर्न सक्दैन र राज्य एक्लैले पनि समाधान गर्न कठिन हुन्छ,’ उनले भने, ‘त्यसैले राज्य, सहकारी अभियान र सहकारीकर्मी मिलेर साझा समस्याका रूपमा लिएर समाधान गर्नुपर्छ ।’
अध्यक्ष पोखरेलले सम्मेलनमा सहभागी हुन सम्पूर्ण सहकारीकर्मीलाई आग्रह गर्दै महासंघले अनलाइन दर्ता खुला गरिसकेको जानकारी दिए । सहकारी क्षेत्रका समस्या समाधान, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र शान्ति तथा समृद्धिको साझा अभियान अघि बढाउन सम्मेलन महत्त्वपूर्ण अवसर बन्ने उनको विश्वास छ ।
लुम्बिनीमा आयोजना हुन लागेको यो सम्मेलनलाई नेपालले आफ्नो सहकारी अभियानको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अवसरका रूपमा समेत उपयोग गर्न खोजेको देखिन्छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्