सिड्नीका दुई युवाको हत्यामा पूर्वप्रहरी अधिकारी दोषी ठहर
सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्सका पूर्वप्रहरी अधिकारी बिउ लामार–कोन्डन दुई युवाको हत्यामा दोषी ठहर भएका छन् । सिड्नीस्थित सर्वोच्च अदालतमा चलेको करिब १० हप्ताको सुनुवाइपछि १२ सदस्यीय न्यायिक समितिले बुधबार उनलाई दुई जनाको हत्या तथा घरमा अनधिकृत प्रवेश गरी चोरी गरेको अभियोगमा दोषी ठहर गरेको हो ।
दोषी ठहर हुने ३१ वर्षीय लामार–कोन्डनले सन् २०२४ फेब्रुअरी १९ मा सिड्नीको प्याडिङ्टनस्थित जेसी बेयर्डको घरमा पुगेर उनलाई गोली हानेका थिए । त्यसपछि त्यहाँ रहेका उनका साथी लुक डेभिसलाई पनि गोली प्रहार गरी हत्या गरेको अभियोजन पक्षले अदालतमा प्रमाण पेस गरेको थियो ।
अदालतमा प्रस्तुत विवरणअनुसार लामार–कोन्डन घटनाको दिन खाना पु¥याउने व्यक्तिको भेषमा बेयर्डको घर पुगेका थिए । उनले आफ्नो प्रहरी सेवामा प्रयोग हुने पेस्तोलबाट गोली चलाएको अभियोजन पक्षको दाबी थियो ।
२६ वर्षीय टेलिभिजन प्रस्तोता बेयर्ड र २९ वर्षीय विमान परिचारक डेभिसको शव घटनाको आठ दिनपछि सिड्नीबाट दक्षिण–पश्चिममा पर्ने बुङ्गोनिया क्षेत्रबाट सर्फबोर्ड राख्ने झोलाभित्र भेटिएको थियो ।
अभियोजन पक्षले लामार–कोन्डनले बेयर्डसँगको सम्बन्ध टुटेपछि उनीप्रति अत्यधिक आसक्ति र ईष्र्या राखेको तथा त्यसैको परिणामस्वरूप योजनाबद्ध रूपमा हत्या गरेको जिकिर गरेको थियो । बेयर्डको हत्या गरेपछि घटनाका साक्षी बन्न सक्ने डेभिसको पनि हत्या गरिएको अभियोजन पक्षको भनाइ थियो ।
तर लामार–कोन्डनले अदालतमा आफूले आत्मरक्षाका क्रममा गोली चलाएको दाबी गरेका थिए । उनले दुवै घटनामा छुट्टाछुट्टै झडप भएको र त्यस क्रममा गोली चलेको बयान दिएका थिए । यद्यपि, न्यायिक समितिले उनको प्रतिरक्षा अस्वीकार गर्दै दुवै हत्यामा दोषी ठहर गरेको हो ।
न्यायिक समितिले करिब दुई घण्टा विचारविमर्श गरेपछि सर्वसम्मत रूपमा दोषी ठहर गरेको थियो । उनलाई बेयर्डको घरमा अनधिकृत प्रवेश गरी सामान चोरी गरेको अर्को अभियोगमा समेत दोषी ठहर गरिएको छ ।
अदालतमा फैसला सुनाइँदा मृतकका परिवारका सदस्य तथा आफन्तहरू भावुक बनेका थिए । दुवै मृतककी आमाले अदालतबाट बाहिरिँदा एकअर्काको हात समातेका थिए ।
लामार–कोन्डनलाई सजाय निर्धारणका लागि सन् २०२७ मार्च ११ मा पुनः अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको छ ।
यो घटनाले अस्ट्रेलियामा प्रहरी अधिकारीको जिम्मेवारी, घरेलु तथा सम्बन्धजन्य हिंसा र सार्वजनिक सुरक्षाका विषयमा गम्भीर बहस सिर्जना गरेको छ ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्