Skip to content

कमब्याक होस् त गरिमाको जस्तो !

nmb bank inside

कमब्याक होस् त गरिमाको जस्तो !

भेषराज कार्की, नेपाल न्यूज बैंक

काठमाडौं । राजेश हमाल, सरोज खनाल, रमेश उप्रेती, दिलीप रायमाझी, गौरी मल्ल, निरुता सिंह र विपना थापासम्म नेपाली फिल्म क्षेत्रबाट टाढिएर पुनः फर्किएका केही प्रतिनिधि नाम हुन् । कोही विदेश पलायन भएर कालान्तरमा नेपाली फिल्म क्षेत्रमा फर्किए त कोही विवाहपछि अभिनयबाट टाढिए । कोही भने नेपालमै रहेर पनि फिल्म अभिनयबाट टाढिएका थिए । तर, समयक्रममा उनीहरू फेरि फिल्म क्षेत्रमा फर्किए ।

यद्यपि, उनीहरूमध्ये धेरैको पुनरागमनले समाचारको हेडलाइन त बनायो, तर पुरानो क्रेज भने फर्काउन सकेन । न त उनीहरूले अभिनय गरेका फिल्मले नै निर्माताको झोली भर्न सके । तर, ११ वर्षपछि ‘बाटुलो जून’ मार्फत कमब्याक गरेकी गरिमा पन्त भने यसमा अपवाद बनेकी छन् । फिल्मको व्यापारिक आँकडा १० करोड रुपैयाँको हाराहारीमा पुगिरहँदा गरिमाको पुनरागमन पनि सुपरहिट भएको छ । फिल्मले निर्माताको लगानी मात्र सुरक्षित गरेको छैन, गरिमाको पुरानो क्रेजसमेत फर्काएको छ । फिल्ममा उनको भूमिका र अभिनयलाई दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

गरिमाका अनुसार भुवन केसीले फिल्मको कथा र आफ्नो भूमिकाबारे सुनाएपछि उनी अभिनयमा फर्कने निर्णयमा पुगेकी हुन् । ‘भुवन दाइले कथा र मेरो भूमिका सुनाउनुभयो । उहाँको मुखबाट कथा सुन्दा नै एकदमै राम्रो लाग्यो । अझ पछि स्क्रिप्ट पाएपछि त योभन्दा पर्खने ठाउँ छैन भन्ने लागेर फिल्ममा फर्कने निर्णय गरेँ,’ उनले भनिन्, ‘अहिले गीत र फिल्म रिलिज भएपछि जस्तो प्रतिक्रिया पाएकी छु, त्यसबाट एकदमै खुसी छु । समय मिलाएर अभिनयलाई निरन्तरता दिन्छु ।’

उनले ‘बाटुलो जून’अघि पनि अभिनयका लागि थुप्रै प्रस्ताव आएको भए पनि चित्तबुझ्दो भूमिका नपाएका कारण काम नगरेको जानकारी दिइन् । शिव रेग्मीका थुप्रै फिल्ममा अभिनय गरेकी गरिमाले कृष्ण धरावासीको कथामा बनेको फिल्म ‘झोला’बाट भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल भएकी थिइन् । यही फिल्मबाट उनले श्रीलंकाको कोलम्बोमा आयोजित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी थिइन् । त्यस्तै, यही फिल्ममा उत्कृष्ट अभिनय गरेबापत उनले राष्ट्रिय चलचित्र पुरस्कारसमेत प्राप्त गरेकी थिइन् ।

लामो समयपछि पर्दामा फर्किएकी गरिमाप्रति दर्शकको माया र आकर्षण अझै उत्तिकै देखिएको छ । ‘बाटुलो जून’ प्रदर्शन भइरहँदा सामाजिक सञ्जालमा उनको प्रशंसाका शब्दहरू भरिएका छन् ।

अझ रोचक कुरा त, समयसँगै उनको सुन्दरता झन् निखारिएको र अभिनयमा पनि थप परिपक्वता आएको भन्दै दर्शकले खुलेर प्रशंसा गरिरहेका छन् । उनको आकर्षक व्यक्तित्व र परिपक्व अभिनय देखेर दर्शकले भनिरहेका छन्, ‘कमब्याक होस् त गरिमा पन्तको जस्तो !’

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्