काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट दुर्गा ज्ञवालीले नेपालको कर प्रणाली जटिल बन्दै गएको भन्दै करसम्बन्धी कानुन निर्माण र कार्यान्वयनबीच तालमेल आवश्यक रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले कर्पोरेट ट्याक्स रिपोर्टिङसम्बन्धी विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले कर आफैँमा जटिल विषय भएकाले यसको अध्ययन र अभ्यास निरन्तर आवश्यक पर्ने बताए ।
उनले भने, ‘ कर आफैँमा निकै जटिल विषय हो । यसको अध्ययन र अभ्यास निरन्तर आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा करसम्बन्धी नयाँ–नयाँ सिद्धान्त र अभ्यास विकास भइरहेका हुन्छन् । त्यसैले नेपालले पनि अन्तर्राष्ट्रिय अभ्यासलाई आफ्नो परिवेशअनुसार आत्मसात् गर्दै कर कानुनलाई समयसापेक्ष परिमार्जन गर्नुपर्छ । कर कानुन निर्माण गर्दा त्यसको उद्देश्य र कार्यान्वयनबीच तालमेल हुन आवश्यक छ । कानुनको अस्पष्टता र कार्यान्वयनमा देखिने अन्योलले करदाता तथा निजी क्षेत्रलाई समस्या पार्न सक्छ ।’
उनले आफूले करसम्बन्धी विषयमा पाँचदेखि सात वर्ष अध्ययन गरेको र १८ वर्षदेखि व्यावसायिक अभ्यासमा रहे पनि अझै दैनिक रूपमा नयाँ कुरा सिकिरहेको उल्लेख गरे । अन्तर्राष्ट्रिय स्तरमा करसम्बन्धी नयाँ सिद्धान्त र अभ्यास विकास भइरहने भएकाले नेपालले पनि अन्तर्राष्ट्रिय अनुभवलाई आफ्नो आर्थिक तथा कानुनी परिवेशअनुसार आत्मसात् गर्नुपर्ने उनको भनाइ छ ।
ज्ञवालीले आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी), संयुक्त राष्ट्रसंघ र अमेरिकी कर प्रणालीका नमुनाबाट विकसित सिद्धान्त तथा अभ्यासलाई नेपालले आफ्नो आवश्यकताअनुसार कानुनमा समेट्दै आएको बताए ।
उनले भने, ‘कर भनेको सरकारले कानुनबमोजिम अनिवार्य रूपमा संकलन गर्ने भुक्तानी हो, जसको बदलामा करदाताले निश्चित प्रतिफल पाउने सुनिश्चितता हुँदैन ।’





Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्