Skip to content
nabil bank inside

बैंकिङ क्षेत्र त्रसित र भयभित छ: सिबिफिन

nmb bank inside

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बन्न पुगेको जनाएको छ । सिबिफिनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्र त्रसित र भयभित बन्न पुगेको जनाएको हो ।

सिबिफिनले धितो र कर्जा प्रवाहका विषयमा प्रचलित नियम तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासबारे गहिरो अध्ययन एवं जानकारीबिनै बैंकरमाथि धरपकड भएको आरोपसमेत लगाएको छ । ‘धितो र कर्जा प्रवाहका विषयमा सतही जानकारीका आधारमा कुनै पेसाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन्’, परिसङ्घले विज्ञप्तिमार्फत भनिएको छ, ‘समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पुर्याइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बनिदिन आग्रह गर्दछौँ ।’

यस्तै, बैंक तथा वित्तीय संस्थाका गतिविधि नियामक नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानीमा रहने हुँदा बैंकभित्र कुनै पनि बदमासी भए तत्काल राष्ट्र बैंकले कारबाही गर्ने गरेको सिबिफिनको दाबी छ । ‘कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानूनअनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ’, विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक-व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने-उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ ।’

बैंकिङ क्षेत्रमा कर्जा प्रदान गर्नु, कर्जाको अवस्था हेरी सम्भावित जोखिम व्यवस्थापन गर्नु र खराब कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैंकिङ प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई बेवास्ता गर्दै अनाहकमा कारबाहीको भागिदार बनाइनु न्यायसङ्गत नहुने सिबिफिनको तर्क छ । यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र नभई बिनाधितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमासमेत असर पर्ने सिबिफिनले जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्